 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- हिन्दी फिल्म कबिर सिंह र एनिमलका पात्रहरू युवाबीच लोकप्रिय भए पनि तिनीहरूको हिंसात्मक व्यवहार र प्रेममा स्वामित्व खोज्ने प्रवृत्तिले सामाजिक चिन्ता बढाएको छ।
- नेपालमा ए मेरो हजुर श्रृंखलाका पात्रहरूले प्रेम अस्वीकृत भएपछि आत्महत्या गर्ने कथालाई सच्चा प्रेमीको रूपमा चित्रण गर्ने चलन युवामा गलत सन्देश दिन थालेको छ।
- मिडिया साक्षरता, फिल्म बोर्डको सामाजिक प्रभाव मूल्यांकन, र फिल्म निर्माताको जिम्मेवारीले हिंसात्मक फिल्महरूको प्रभावलाई नियन्त्रण गर्नुपर्ने लेखक बानियाँले उल्लेख गर्नुभएको छ।
‘सिनेमा समाजको ऐना हो’ भन्ने भनाइ हामीले धेरैपटक सुनेकै छौं । तर कहिलेकाहीँ त्यही ऐनाले हाम्रो चेतनालाई धुमिल बनाउँछ, सोचाइमा विकृति ल्याउँछ । अहिलेका युवाहरूले मन पराइरहेका केही फिल्महरूलाई नियाल्ने हो भने, तिनमा देखाइने पात्रहरूको व्यवहार, बोलीचाली र दृष्टिकोणले उनीहरूलाई कहाँ पुर्याउन सक्छ भन्ने कुरा गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ।
अहिले हिन्दी फिल्म कबिर सिंह र एनिमलका पात्रहरू युवाबीच लोकप्रिय बनेका छन् । तर यी पात्रहरू वास्तवमा को हुन् ? कबीर सिंह एक आवेगशील डाक्टर हो, जसले प्रेम अस्वीकृत भएपछि मदिरा, नशा र क्रोधको शरण लिन्छ । उसले प्रयोग गर्ने भाषा, उसका हर्कत र प्रेमिकामाथिको नियन्त्रणलाई फिल्मले ‘साँचो प्रेम’ का रूपमा प्रस्तुत गर्छ ।
त्यस्तै, एनिमलमा रणबीर कपूर अभिनीत राणविजय एक हिंस्रक र भावनात्मक रूपमा असन्तुलित पात्र हो, जसले प्रेममा स्वीकृति होइन स्वामित्व खोज्छ।
यी पात्रहरू केवल काल्पनिक भए कुनै समस्या थिएन । तर वास्तविकता त्यस्तो छैन। अहिले सामाजिक सञ्जालमा कबीरजस्ता पात्रहरूको शैलीको अनुकरण गर्ने, डाइलग बोल्ने, पहिरन अपनाउने र क्रोधलाई ‘कुल’ ठान्ने प्रवृत्ति बढ्दो छ । यसले दुई प्रकारका खतरनाक सोच जन्माउँछ-पहिलो, क्रोध प्रेमको प्रमाण हो । दोस्रो, अस्वीकृति प्रतिशोधको कारण हो ।
यस्ता प्रवृत्तिहरू केवल भारतीय सिनेमामा सीमित छैनन् । हलिउडको जोकर जस्तो फिल्मले पनि हिंसात्मक प्रतिशोधप्रति सहानुभूति देखाएको छ । ‘फ्लाइट क्लब’ जस्तो फिल्मले त ‘सिस्टम विरुद्धको हिंसा’लाई नै पुरुषत्वको परिभाषा बनाएको देखिन्छ । यस्ता फिल्म हेर्दै हुर्किने युवाहरूले आफ्नो असन्तोष संवादमार्फत होइन, आक्रोशमार्फत व्यक्त गर्न थाले भने त्यसको परिणाम गम्भीर हुन सक्छ।
नेपालमा पनि यस्तै चिन्ताजनक प्रवृत्ति देखिन थालेका छन्। ए मेरो हजुर श्रृंखलाका नायकहरू, जसले प्रेम अस्वीकृत भएपछि आत्महत्या जस्ता कदम चालेका छन्, त्यस्ता पात्रलाई ‘सच्चा प्रेमी’ को रूपमा चित्रण गर्ने चलन छ। यसले युवा मनमा प्रेममा सहनशीलता होइन, बलिदान आवश्यक छ भन्ने सन्देश दिन्छ।
अब प्रश्न उठ्छ-के हामीले यस्ता प्रवृत्तिलाई चुपचाप हेरी रहनुपर्छ ?
उत्तर हो-होइन।
समाधानका लागि तीन प्रमुख मोर्चामा काम गर्नुपर्ने देखिन्छ । पहिलो, मिडिया साक्षरता । विद्यालयदेखि कलेजसम्मका युवालाई फिल्मको प्रभावमाथि सोच्न सिकाउनु । दोस्रो, फिल्म बोर्ड र सेन्सर निकायहरूले चलचित्रलाई उमेरअनुसार मात्र होइन, सामाजिक प्रभावका आधारमा पनि मूल्यांकन गर्नु । तेस्रो, फिल्म निर्माता स्वयंले सोच्नुपर्छ, ‘के म हिंसालाई आकर्षक बनाएर बेच्दै त छैन ?
किनभने फिल्म केवल कथा होइन, चेतनाको रूपरेखा हो ।
आज हामीलाई त्यस्ता फिल्महरू चाहिएका छन्, जसले प्रेम र करुणालाई सम्पर्कको माध्यम बनाओस्, स्वामित्व होइन।
क्रोधलाई नायकत्वको चिन्ह होइन, समस्याको संकेतका रूपमा देखाइओस्।
र नायक त्यो होस्, जसले अरूलाई होइन, आफूलाई नियन्त्रण गर्न सकोस्।
लेखक बानियाँ फिल्ममेकर हुन्
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4