
News Summary
Generated by OK AI. Editorially reviewed.- याक्थुङ मुन्धुम जीवन्त स्वदेशीय ज्ञान प्रणाली हो जसले धर्म, इतिहास, सामाजिक नियम र नैतिकता मौखिक रूपमा हस्तान्तरण गर्छ।
- मुन्धुम दर्शनले तत्त्वमीमांसा, ज्ञानमीमांसा, मूल्यमीमांसा र राजनीतिक दर्शन समेटेर याक्थुङ समुदायको अस्तित्व र शासन सिद्धान्त प्रस्तुत गर्छ।
- मुन्धुम संरक्षण र अभ्यासले जलवायु न्याय, स्वदेशी अधिकार र सांस्कृतिक पुनरुत्थानमा महत्त्वपूर्ण भूमिका खेल्छ।
याक्थुङ (लिम्बू) संस्कृतिमा मुन्धुम केवल पुराना कथा वा मिथक होइन, यो एक जीवन्त र गतिशील: स्वदेशीय ज्ञान प्रणाली हो जसले जीवन, ब्रह्माण्ड र समाजलाई गहिरो रूपमा जोड्छ । मुन्धुममा धर्म, इतिहास, पौराणिक कथा, सामाजिक नियम र नैतिकता समेटिएका छन्, जुन पुस्ता–पुस्ता मौखिक रूपमा हस्तान्तरण हुँदै आएको छ । ‘मुन्’ र ‘थुम्’ वा ‘थुङ’ शब्दबाट ‘मुन्धुम’ नाम आएको हो, जहाँ ‘मुन्’ले निरन्तरता, गतिशीलता साथै तपस्या र प्रार्थनाको प्रक्रिया जनाउँछ भने ‘थुम्’ वा ‘थुङ’ ले शक्ति, बल, निल्नु, घोक्नु र सम्झिनु जस्ता क्रियाहरूको संकेत गर्छ । यस अर्थमा, मुन्धुम जीवनको चक्र, ध्यान–साधना र स्मृतिलाई जीवित राख्ने गहिरो आध्यात्मिक अभ्यास हो ।
मुन्धुमको अर्थ आफैंमा बहुआयामिक छ— जसको अर्थ प्रयोग, प्रसंग र सोधिएको सन्दर्भ अनुसार बदलिन्छ । यसलाई धर्मग्रन्थ, पवित्र आख्यान, पौराणिक कथा, किंवदन्तीका रूपमा पनि बुझिन्छ । साथै, ब्रह्माण्ड, आत्मा, समाज र इतिहास सम्बन्धी ज्ञानका विभिन्न स्वरूप यसमा समेटिएका छन् । यो आदिवासी मौखिक ज्ञान परम्पराको दार्शनिक अभिव्यक्ति हो, जसलाई व्यवस्थित रूपमा पहिचान, वर्गीकरण र विश्लेषण गर्न आज पनि चुनौतीपूर्ण छ ।
स्वदेशीय नेपाली मौलिक दर्शन भइकन पनि नेपाली बौद्धिक वृत्तमा अझैसम्म केन्द्रमा आउन सकेको छैन । राज्यसंरचनाले पनि यसलाई सान्दर्भिक ज्ञान प्रणालीका रूपमा स्वीकार गर्ने वातावरण बनाएको छैन । फलस्वरुप नेपाली माटोमै जन्मिएको यो मौखिक दर्शन स्वदेशमै सीमान्त अवस्थामा छ, जुन विडम्बनापूर्ण हो । विशेषतः मुन्धुमको दार्शनिक गहिराइबारे स्पष्ट बुझाइ न राज्यलाई छ, न त शैक्षिक संस्थालाई ।
आज पनि अधिकांश पाठ्यक्रममा रैथाने ज्ञानलाई एक किसिमको संकुचित विचार वा पुरातन सम्पदा अर्थात् ‘जड अन्धविश्वास’को ट्याग लगाउने प्रवृत्ति कायम छ । जसले ज्ञानको बहुलता र सन्दर्भ–आधारित वैधता स्वीकार्न सक्दैन ।
मुन्धुमले केही सिद्धान्तहरूलाई सार्वभौम मान्दछ । जस्तै- भूमि, पुर्खा, आत्मा र ब्रह्माण्डसँग सम्बन्धित सिद्धान्त । याक्थुङको जीवनशैलीमा यी तत्वहरू कुनै विकल्प नभई आधारभूत संरचना हुन् । तर यससँगै मुन्धुममा सान्दर्भिकता पनि गहिरो रूपमा पाइन्छ । समय, स्थान र पुस्ता अनुसार मुन्धुमको व्याख्या, प्रयोग र व्यावहारिकता फरक देखिन्छ । यही कारणले मुन्धुम दर्शनले सार्वभौमता र सापेक्षता दुवैलाई आत्मसात् गरेको देखिन्छ । एकातर्फ स्थायित्व, अर्कोतर्फ लचिलोपन- यिनैको सह–अस्तित्वले मुन्धुमलाई विशिष्ट बनाएको हो ।
मुन्धुम कुनै जड विचार होइन; यो एक प्रवाही ज्ञान प्रणाली हो, जसले जीवनका गहिरा प्रश्नहरूमाथि सन्दर्भ अनुरूप उत्तर खोज्छ । त्यसैले मुन्धुम दर्शनले केवल याक्थुङ समुदायका लागि मार्गदर्शन गर्दैन, यसले समग्र मानव चिन्तनका लागि एक वैकल्पिक ज्ञान संरचना प्रस्तुत गर्छ- जहाँ ज्ञान केवल तर्क होइन, अनुभव, प्रकृति, पितृ, आत्मा, ब्रह्माण्डप्रतिको संवेदनाको समिश्रण हो ।
यस जिउँदो दर्शनलाई आजको शैक्षिक, राजनीतिक र बौद्धिक संरचनाले गहिरो सम्मानका साथ ग्रहण गर्न जरूरी छ । यस्ता स्वदेशीय ज्ञानहरूलाई सीमान्तमा राख्ने प्रवृत्ति केवल ज्ञानको केन्द्रीयता गुमाउनु मात्र होइन, यो बौद्धिक उपनिवेशिकताको निरन्तरता समेत हो ।
हालसम्म मुन्धुम संकलन, छलफल सम्बन्धी काम भए पनि यसको दार्शनिक सारलाई स्पष्ट रूपले उधिन्ने प्रयास अपुरो देखिन्छ । पश्चिमेली दर्शनले व्याख्या र प्रमाणलाई महत्व दिन्छ भने मुन्धुमले प्रतिबिम्ब, सन्दर्भ, संवेदना र अनुभवलाई केन्द्रमा राख्छ । शास्त्रीय रूपमा दर्शनका विभिन्न उपशाखा छन्— मेटाफिजिक्स, ज्ञानमीमांसा, तर्कशास्त्र, मूल्यमीमांसा, धर्मदर्शन र सामाजिक–राजनीतिक दर्शन । मुन्धुममा यी सबै क्षेत्र आंशिक वा पूर्ण रूप पाइन्छ । अब मुन्धुम दर्शनका आयामहरूमाथि संक्षेपमा चर्चा गरौं ।
तत्त्वमीमांसा (एन्टोलोजी): ‘सेक्खा कु;सि मुन्धुम’
मुन्धुमको आधारभूत विश्वास तागेरा निङ्वाफुमाङ (सुप्रिम डिभाइन पावर) मा केन्द्रित छ, जो सृष्टिका आदिशक्ति हुन्- सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्यापी र अन्तर्यामी रूपमा उपस्थित भेटिन्छ । याक्थुङ तत्त्वमीमांसा अस्तित्व कुनै एकल सत्ता वा यान्त्रिक संरचना नभई अनुभव र चैतन्यको सञ्जाल हो । यसमा आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई ङामुक्साम अर्थात् पञ्चतत्वका रूपमा सृष्टिको मेरुदण्ड मानिन्छ ।
मुन्धुममा युमा र थेवा प्रमुख मातृ–पितृ शक्तिका रूपमा प्रतिष्ठित छन्, जसले जीवन चक्रको संरक्षण र मार्गदर्शन गर्छन् (मुन्धुममा युमा र थेवा श्रीमान् श्रीमती होइन दिव्य अलौकिक शक्तिको रुपमा लिइन्छ) ।
पोरोक्मी याम्फाम्मी, नाहाङ्मा, खाम्बुलिङ पिच्चम्मा जस्ता अनेक दिव्यशक्तिहरू पनि छन्, जसको भूमिकाहरू पृथ्वी, रोग, भोग, सामाजिक, राजनीतिक, जीवन, मृत्युपश्चातको यात्रा, वनस्पति र आत्मिक संसारसँग सम्बन्धित छन् । यसरी, याक्थुङ मुन्धुमको तत्त्वमीमांसा न एकेश्वरवादी छ न बहुदेववादी; यसमा समग्रता, सम्बन्धीयता र अनुभवजन्यतामा आधारित आदिवासी अस्तित्वबोध पाइन्छ । ‘सेक्खा–कु;सि मुन्धुम’ ले यही दर्शनलाई समेट्छ, जसमा अस्तित्वको प्रश्न भाषामा मात्र नभई संस्कार, शरीर, अनुष्ठान र चित्तको सम्पूर्ण अनुभूतिमा खोजिन्छ ।
जस्तै-
१. समग्र अस्तित्व (होलिस्टिक बिइङ) : मुन्धुममा जीवनको कुनै पनि पाटोलाई एक्लै बुझिंदैन । मानिस, भू-परिवेश, आत्मा, वंशज, वनस्पति, जल, आकाश र अदृश्य शक्ति- यी सबै अस्तित्वका विविध स्वरूपहरू आपसमा समवायिक छन् । एकको अस्तित्व अर्काको अस्तित्वसँग जोडिएको हुन्छ । उदाहरणका लागि, ‘पवित्र रूख’ थुम्को पहाडहरूलाई केवल निर्जीव भौतिक वस्तु नभई ‘पूर्वजहरूको आत्माको वासस्थान’ का रूपमा सम्मान गरिन्छ, यसलाई नष्ट गर्नु जातीय स्मृति र अस्तित्वमाथि चोट पुर्याउनु हो । सामूहिक र सामुदायिक अस्तित्व, कल्याण, प्रगति र मर्यादालाई जोड दिइन्छ ।
२. सम्बन्धीय अस्तित्व (रिलेश्नल बिइङ) : मानिसको अस्तित्व पुर्खासँगको स्मृति, भूमिसँगको प्रतिबद्धता, आत्मासँगको संवाद र समुदायसँगको उत्तरदायित्वबाट बन्छ । मुन्धुममा सम्बन्धविहीन अस्तित्वको कल्पना पनि गर्न सकिन्न । साम्बा वा फेदाङ्माले उपचार गर्दा देवता, पूर्वज, वनजन्तु, जलशक्ति र रोगीको आत्मासँग सम्बन्ध स्थापना गरे झैं, अस्तित्व पनि अन्तरसम्बन्धको आधारमा अनुभूत हुन्छ ।
३. अनुभूतिमूलक अस्तित्व (एक्सपेरिएन्सल बिइङ) : मुन्धुम ज्ञान अनुभवको नालाबाट बग्ने ज्ञान हो । यो लिखित नभई जिउँदो अनुभव, अनुष्ठानिक संवाद, सामूहिक स्मृति र प्रतीकात्मक कार्य मार्फत सर्ने ज्ञान हो । सपना, सङ्केत, शरीरको प्रतिक्रिया र अनुष्ठानमा देखिने लक्षणहरू– यी सबैलाई अस्तित्व बुझ्ने माध्यम मानिन्छ ।
ज्ञानमीमांसा (इपिस्टोमोलोजी) – सिक्कुम हुसिङ
याक्थुङ (लिम्बू) समुदायको मुन्धुम यस्तो इन्डिजेनियस इपिस्टेमोलोजीको उत्कृष्ट उदाहरण हो- जहाँ ज्ञान केवल तथ्य र तर्कको संकलन होइन, यो जीवनको संवेदनशील अभ्यास, अन्तरसंवाद र अस्तित्वको भौतिक–अभौतिक आयामसँग जोडिएको गहिरो चेतनात्मक प्रवाह हो । मुन्धुममा ज्ञान प्राप्तिका दुई प्रमुख माध्यमलाई मान्यता दिइन्छ : ‘नीसाम’ – प्रत्यक्ष अनुभव र इन्द्रिय मार्फत प्राप्त ज्ञान, ‘इत्साम’ – अन्तर्दृष्टि, सहज अनुभूति र आत्मिक संवादबाट उत्पन्न ज्ञान ।
यी दुई स्रोतहरू परस्पर पूरक छन् । ‘नीसाम’ले जीवनका अनुभवहरूलाई सजीव बनाउँछ भने ‘इत्साम’ले ती अनुभवहरूलाई अर्थ र दिशा दिन्छ । ज्ञानको निर्माण कुनै एकक्षणको उपलब्धि होइन; यो समय, अनुशासन, सहभागिता र पारस्परिक संवाद मार्फत परिपक्व हुँदै जान्छ ।
पारिस्थितिक संवाद र अन्तरप्रजातीय अनुभूति : मुन्धुममा ज्ञान केवल मानवीय चेतनामा सीमित छैन । चराले गुँड बनाएको देखेर र मौरिले घार बनाएको देखेर याक्थुङ पुर्खाले घर बनाउने कला सिकेका थिए भन्ने कथालाई मुन्धुमीय दर्शनले लोक्फादिङ सिङ्घिम दाङसे (प्रकृतिसँगको संवाददात्री संवेदना) को उदाहरणका रूपमा प्रस्तुत गर्छ । यसबाट बुझिन्छ- पशु, वनस्पति, आत्मा, पूर्वज र प्राकृतिक तत्त्वहरूसँगको अन्तरसंवाद पनि ज्ञानको अमूल्य स्रोत हो ।
मौखिकता र अनुष्ठान : ज्ञान प्रवाहका संवाहक मुन्धुमीय ज्ञान प्रणाली मौखिक परम्परामै आधारित छ- जहाँ लय, प्रतीक, कथा, मन्त्र र जीवनचक्रसँग सम्बन्धित अनुष्ठानहरूले ज्ञानको निरन्तर प्रसार गर्छन् । साम्बा, फेदाङ्मा, येबा, येमा जस्ता ज्ञानवाहकहरू अनुष्ठान, रीतिरिवाज र सामूहिक संवाद मार्फत ज्ञानको संरक्षण र पुस्तान्तरण गर्दछन् ।
जीवन–अनुभव र सामूहिक स्वामित्वमा आधारित ज्ञान: याक्थुङ ज्ञानमीमांसामा ज्ञान कुनै एक व्यक्तिको निजी सम्पत्ति होइन । यो सामूहिक स्वामित्वमा आधारित सामाजिक चेतना हो । अनुभव, समुदायको सहभागिता र अन्तरसम्बन्धित जीवनचक्र मार्फत ज्ञानको सुसंरचना हुन्छ । अनुमानमा होइन, अनुभवमा-आत्मिक परीक्षण र साझा सहमतिको प्रक्रियाबाट मात्र ‘साँचो ज्ञान’ प्राप्त हुन्छ । मुन्धुम एक समग्र दार्शनिक प्रणाली हो, जसले ज्ञानलाई जीवनप्रवाह, सम्बन्ध, संवेदनशीलता र पारिस्थितिक सन्तुलनसँग जोडेर हेर्छ । यहाँ ज्ञान कुनै निश्चित परिभाषामा सीमित हुँदैन, बरु बदलिंदो सन्दर्भ र अनुभवसँगै गहिरिंदै जान्छ । मुन्धुमीय ज्ञानमीमांसा एक जीवित, संवादमूलक र समष्टिगत प्रणाली हो, जसले ‘जान्नु’ र ‘हुनु’ बीचको गहिरो सम्बन्धलाई उद्घाटित गर्छ ।
मूल्यमीमांसा (एक्सियोलोजी) मेल्लुङ थिम्जिक
मुन्धुम दर्शनमा मूल्यमीमांसा, जसलाई मूल्य सिद्धान्त पनि भनिन्छ, मुख्य रूपमा सही-गलत, भलाइ-दुर्गुण, दायित्व, सद्गुण र नैतिकताको अध्ययनमा केन्द्रित छ । यस दर्शनमा थिम्जिक मुन्धुम अर्थात् नैतिकताले सबैभन्दा महत्त्वपूर्ण स्थान ओगटेको छ, जसले समाजको ऐक्यबद्धता, कल्याण र समृद्धिलाई उच्चतम मूल्यको रूपमा मान्यता दिएको छ ।
प्रारम्भिक युगमा, जहाँ विवाह संस्था र सामाजिक नियमहरू विकास भएका थिएनन्, त्यहाँ निर्णयहरूमा व्यक्तिगत सुख र आनन्दको तत्व (सुखवाद) स्पष्ट देखिन्छ । तर समयसँगै, याक्थुङ समाजमा सामूहिक कल्याणलाई प्राथमिकता दिने लोकोपकारी सुखवादको विकास भयो जसले सामाजिक नियम, दायित्व र नैतिकता स्थापित गर्यो ।
याक्थुङ मुन्धुममा नैतिक संहिताहरू (थिम्स) अनाचार, द्वेष, लोभ, छल आदि दुर्गुणहरूलाई रोक्न र सामाजिक तथा पारिस्थितिक सन्तुलन कायम राख्नका लागि बनाइएका छन् । यी नैतिक नियमहरू केवल मानिसहरूको सम्बन्धमा मात्र सीमित नभई प्रकृति, वनस्पति, जनावर र ब्रह्माण्डसँगको समग्र सम्बन्धमा आधारित छन् । अनैतिक व्यवहारले न केवल समाजको नैतिक पतन गराउँछ, सम्पूर्ण पृथ्वी र ब्रह्माण्डको व्यवस्थालाई पनि संकटमा पार्छ भन्ने ज्ञान मुन्धुममा स्पष्ट छ ।
थिम्सहरू सामूहिक प्रयास, अनुभव र आध्यात्मिक–प्राकृतिक अन्तरक्रियाबाट क्रमशः विकसित भएका छन् । यिनले सामाजिक व्यवस्था, धर्म, संस्कार र जीवनशैलीलाई निर्देशित गर्दछन् । सेवा, श्रम र वातावरणीय संरक्षणलाई मुन्धुम दर्शनले उच्च महत्व दिएको छ, जसले मानिसलाई प्रकृतिसँग सह-अस्तित्व र सम्मानका साथ जीवनयापन गर्न प्रेरित गर्दछ । यसरी, याक्थुङ मुन्धुमको मूल्य दर्शनले जीवन, समाज र ब्रह्माण्डलाई एक समग्र र समन्वित प्रणालीको रूपमा हेर्छ र सदाचार, कल्याण, सामाजिक ऐक्यबद्धता तथा प्राकृतिक सन्तुलन कायम राख्नमा नैतिकता र मूल्यहरूको अनिवार्यता प्रष्ट पारेको छ । यसले हामीलाई मात्र होइन, प्रकृति र ब्रह्माण्डका सबै जीवित र निर्जीव तत्त्वहरूसँग सम्बन्धित दायित्व र उत्तरदायित्वको चेतना जगाउँछ ।
‘साङ्जुमगेन मुन्धुमले सामाजिक मुन्धुम दर्शनको रूपमा एक जीवन्त मूल्य संरचना प्रस्तुत गर्छ, जहाँ व्यक्तिगतभन्दा पनि सामूहिक अस्तित्वलाई उच्च स्थान दिइन्छ । यस दर्शनमा पारिवारिक सम्बन्धहरू “पारुप” (पिता-वंश) र “साङ्लुप” (माता-वंश) को संरचनाले निर्देशित गर्छ, जसले याक्थुङ समुदायलाई आपसी उत्तरदायित्व र पारस्परिक सहयोगको आधारमा बाँधेको छ । साथै, भूमिसँगको सम्बन्धलाई केवल भौतिक स्रोत नभई आत्मिक र पुर्ख्यौली सम्पर्कको रूपमा हेरिन्छ । भूमिलाई ‘इक्सा खाम्बेक’ अर्थात् आमा र आकाशलाई ‘तरङदिङ ताङसाङ’ बुबाको रूपमा सम्मान गरिन्छ, जसले स्वदेशी सौहार्द र आत्मनिर्भरताको जग बसाल्छ ।
मुन्धुमको सामाजिक दर्शनमा पारम्परिक ज्ञानवाहक साम्बा, येबा/येमाहरूको भूमिकालाई पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । उनीहरूले मौखिक इतिहास, औपचारिक अनुष्ठान र स्वदेशी न्याय व्यवस्था मार्फत समुदायलाई मार्गदर्शन गर्छन् । यिनै संरचनाहरूले ‘साङ्जुमगेन मुन्धुम’ लाई एक जीवित, गतिशील र अनुभवजन्य सामाजिक दर्शनको रूपमा परिभाषित गर्छन्, जसमा जीवन केवल भूतकालको स्मृति होइन, वर्तमान र भविष्यप्रति उत्तरदायी अभ्यास हो ।
हाङथिम मुन्धुम : राजनीतिक दर्शन
याक्थुङ मुन्धुममा एक विशिष्ट राजनीतिक दर्शन समाहित छ, जसले आत्मनिर्णय, न्याय र सामाजिक समावेशिताको अवधारणा प्रस्तुत गर्छ । प्रारम्भिक कालमा राज्यविहीन शिकारी समूहबाट विकास हुँदै, मुन्धुममा सावा येत्हाङ जस्ता सहभागी निर्णय प्रणालीहरू देखा परे- जहाँ चुम्लुङ (बैठक गोष्ठी/परिषद्) को माध्यमबाट सार्वजनिक विषयमा निर्णय लिइन्थ्यो ।
धर्म र राज्यबीचको स्पष्ट विभाजन कायम राख्दै फाङहाङ (जस्तै साम्बा, फेदाङ्मा) हरूले आध्यात्मिक मार्गदर्शन र वैचारिक सल्लाह दिंदै सशक्त सामाजिक संरचना बनाउने कार्य गरे । यस दर्शनमा “फक्ताङ तङ गर सिङ पङलो: लाङबुङ तङ गर वाहङलो” जस्ता कथनहरू पनि गहिरो छन्, जसले याक्थुङ दर्शनमा एकता, सहकार्य र सल्लाह नै बलको स्रोत हो भन्ने सन्देश दिन्छ ।
मुन्धुमको न्यायदर्शनऔ- ‘तुम्याङ खासेन’ जस्ता सामूहिक स्वामित्व र अन्तरपुस्तिकीय उत्तरदायित्वको मूल्य उठान गर्छ । न्याय, केवल दण्ड होइन, समान वितरण, सहभागिता र पहिचानको सम्मान हो भन्ने चेतनाको जग छ । माङगेना, नाहाङमा, थेबा, युमाको पूजा पाठ केवल सुस्वास्थ्य र दीघार्युको मात्र छैन सत्ता शक्ति, शासन, प्रशासन, इतिहास निर्माणका लागि देश, समाजभित्र शत्रु, मित्र, नातागोता, आफन्तबीच शिर सदैव उच्च बनाउँदै चोत्लुङ लःमा अर्थात् सिद्धि प्राप्त गर्नुपर्नेमा जोड दिइन्छ ।
अन्ततः, मुन्धुममा स्वतन्त्रता, समानता र मानवीय मर्यादा जीवनका मूल मूल्यहरू हुन् । हाङथिम मुन्धुम केवल राजनीतिक दर्शन मात्र होइन, सम्पूर्ण जीवन पद्धतिको रूप हो, जहाँ मानिस, प्रकृति र समुदाय आपसी सम्बन्ध, अनुभव र सहअस्तित्वका सूत्रमा गाँसिएका छन् ।
निष्कर्ष
याक्थुङ मुन्धुम एक समग्र दार्शनिक प्रणाली र ज्ञानमीमांसात्मक ढाँचाका रूपमा उभिएको छ । यसले आदिवासी विश्वदृष्टिभित्रै रहेर अस्तित्व, नैतिकता र शासनका सिद्धान्तहरू प्रतिपादन गर्ने अधिकारलाई पुनः स्थापित गर्दछ । पवित्र ज्ञान, अनुष्ठानिक अभ्यास र पैतृक स्मृतिमा आधारित मुन्धुमले याक्थुङ जनताको बौद्धिक सार्वभौमिकतालाई पुष्टि गर्दछ।
मुन्धुम ज्ञान प्रणालीले पश्चिमी ज्ञानमीमांसात्मक प्रतिमानहरूलाई पार गर्दै, सम्बन्धीयता र आध्यात्मिक उत्तरदायित्वलाई नैतिक र राजनीतिक जीवनको आधारशिलाका रूपमा केन्द्रित गर्दछ ।
आफ्नो स्वायत्तता पुष्टि गरेर, मुन्धुमले आदिवासी अधिकार, वातावरणीय संरक्षण र सांस्कृतिक लचिलोपन सम्बन्धी समसामयिक विमर्शहरूमा महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्दछ । विश्वव्यापी जलवायु सङ्कट र पर्यावरणीय असन्तुलनका चुनौतीहरू बीच, मुन्धुमले हामीलाई प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन बिताउने, सन्तुलन कायम राख्ने र संरक्षणको महत्त्व सम्झाउने प्राचीन दर्शन दिन्छ । यसले हाम्रो भौतिक र आध्यात्मिक अस्तित्वलाई जोड्ने समग्र ज्ञान प्रणाली हो, जसले केवल समुदायको पहिचान मात्र होइन, प्रकृति र जीवन रक्षा गर्ने दिगो मार्ग पनि प्रस्तुत गर्छ ।
त्यसैगरी, उपनिवेशवादले आदिवासी भाषा र ज्ञानलाई दबाउन खोज्दा, मुन्धुम दर्शनले सांस्कृतिक पुनरुत्थान र दर्शनमा आत्मनिर्भरताका स्वरूप प्रस्तुत गर्दै, यसको विरुद्धमा सशक्त प्रतिरोध र पुनर्जागरणको चेतना जगाउँछ । मुन्धुमलाई एक जीवन्त र गतिशील ज्ञान प्रणालीका रूपमा चिन्नु याक्थुङ पहिचानलाई टिकाउनका लागि मात्र होइन; न्याय, सम्बन्धीयता र ब्रह्माण्डशास्त्र सम्बन्धी विश्वव्यापी दार्शनिक संवादहरूलाई समृद्ध बनाउनका लागि पनि आवश्यक छ ।
मुन्धुमको संरक्षण र अभ्यास आजको युगमा केवल सांस्कृतिक सवाल होइन; यो पृथ्वीको भविष्य, जलवायु न्याय र स्वदेशी आदिवासी अधिकारको सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेल्छ । भविष्यका अनुसन्धानहरूले आदिवासी आवाज र विधिहरूलाई प्राथमिकता दिनुपर्छ, ताकि यो ज्ञान द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा जीवन्त र रूपान्तरणकारी रहिरहोस् । हामीले मुन्धुमी ज्ञानलाई आत्मसात् गरेर मात्र दिगो र समावेशी विश्वको सपना पूरा गर्न सक्दछौं ।
(योङया, त्रिभुवन विश्वविद्यालय अन्तर्गत ओरल ज्ञान परम्परा (हिस्ट्री) विषयमा पीएचडी शोधार्थी हुन् ।)
प्रतिक्रिया 4