News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण रोक्ने अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
- उनले पहिलो संस्करणमा देखिएको आर्थिक अनियमितताबारे अख्तियारमा उजुरी परेको र छानबिन समिति गठन भइसकेको जानकारी दिएका छन्।
- मन्त्री चौधरीले एनपीएल दोस्रो संस्करण भव्य र सभ्य रुपमा सम्पन्न हुने आदेश र निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
१६ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लिएर फैलिएको अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार मन्त्रालयमा एक वर्षको कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतियोगिता खेलकुद ऐन, आर्थिक गतिविधि ऐन र खरिद ऐनको पूर्ण पालना गरेर सञ्चालन हुनुपर्नेमा जोड दिँदै पहिलो सिजनबारे उत्पन्न विवादको छानविन हुने र दोस्रो संस्करण पनि नरोकिने स्पष्ट पारेका छन् ।
मन्त्री चौधरीले भनेका छन्, ‘प्रतियोगिता नै रोक्ने खोजिएको अर्थमा गरिएको प्रचार गलत हो। यस्तो प्रचार गर्नेहरु स्वयं एनपीएलविरोधी हुन्’ मन्त्रालयले क्रिकेट संघ र अन्य खेल संघहरूलाई कानुन अनुसार मात्र गतिविधि सञ्चालन गर्न बारम्बार स्मरण गराउँदै उनले थपे, ‘हामीले पटक–पटक कानुन अनुसार गर्नु भनेर चिठी पठाएका छौं।’
मन्त्री चौधरीले एनपीएलको पहिलो संस्करणमा देखिएको आर्थिक अनियमितताबारे अख्तियारमा उजुरी परेको र त्यसको आधारमा छानबिन समिति गठन भइसकेको जानकारी दिए। ‘क्रिकेट संघले छानबिन समितिका पत्रहरूको जवाफ नदिएको र आवश्यक कागजातहरू नपठाएको हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन’ उनले भनेका छन् ।
‘अब छानबिनको जिम्मा अख्तियारलाई दिने कि मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाउने भन्नेबारे छलफल भइरहेको छ। कानुन अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु’ उनले अगाडि भने ।
मन्त्रीले कुनै पनि हालतमा एनपीएल दोस्रो संस्करण भव्य र सभ्य रुपमा सम्पन्न हुने बताए। ‘कुनै पनि सर्तमा, कुनै पनि हालतमा एनपीएल दोस्रो संस्करण भव्य र सभ्य गर्नलाई पनि आदेश र निर्देशन दिन्छु, छानबिनका कुराहरू भइराख्छ, भइराखेको छ र हुन्छ भन्ने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु’ उनले भने ।
प्रतिक्रिया 4