
१८ साउन, काठमाडौं । दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
यो सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । त्यसको व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई भनिएको छ ।
साथै मसोट खोला पुल नजिकको डाइभर्सन सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सन्चालनको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
प्रतिक्रिया 4