
१८ साउन, काठमाडौं । ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
१४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।
सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाइसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ गरेका थिए ।
यता ओम्नियाका सञ्चालक राजेन्द्र भने फरार थिए । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4