
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश बझाङमा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
- कुमारी बैंकको नेतृत्वमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी अनुपातमा ४१ अर्ब ६० करोड लागतको आयोजनालाई अघि बढाइने छ।
- आयोजनाले वार्षिक १ हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने र ३१ असार २०८८ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । सुदूरपश्चिम प्रदेश बझाङमा निर्माण हुने २ सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
बझाङ साइपाल गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माण हुने उक्त आयोजनाका लागि कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो ।
माछापुच्छ«े बैंक, हाइड्रो–इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकले सहवित्तीय व्यवस्थापन गर्नेछन् ।
यस्तै कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।
४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी अनुपातमा अघि बढाइने छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) १९ साउन २०८० मा भएको थियो । ३१ वैशाख २०८१ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजना पाँच वर्षभित्र बनाइ सक्ने र ३१ असार २०८८ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य छ ।
आयोजनाबाट वार्षिक १ हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ । वर्षा याममा ८३४.४९ गिगावाट आवर र सुक्खा याममा ३९५.११ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
यो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ क्षमता रहने छ । आयोजनाकोे डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर छ ।
आयोजनाको बाँधभन्दा तल जैविक बहाब कायम राख्न वर्षभरि १.४१ घनमिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छाडिने व्यवस्था गरिएको छ ।
सुक्खा याममा पिक इनर्जीको विद्युत् दर प्रतियुनिट १०.५५ र नन पिक इनर्जीकोे दर ८.४० रुपैयाँ रहने छ । उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभी स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेसन मार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ ।
आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित ७ अर्ब ६७ करोड रुपैयाँ आर्जन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4