
१८ साउन, काठमाडौं । गत बिहीबार महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडस्थित होटल साम्बालाबाट पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ) समूहका व्यक्तिहरू यसअघि पनि पटक–पटक विभिन्न अपराधमा जोडिएको पाइएको छ ।
यो समूहका नाइके भनिएका तथा यसअघि गुण्डागर्दीमा संलग्न बताइएका गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राकका ५४ वर्षीय चक्रेसहित धेरैजसो व्यक्तिहरू यसअघि पनि विभिन्न अपराधमा जोडिएको पाइएको छ ।
आपराधिक अभिलेखअनुसार मुद्दा चलाइएका १९ जनामध्ये १२ जनाविरुद्ध यसअघि विभिन्न मितिमा विभिन्न ठाउँबाट मुद्दा चलेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
‘पक्राउ परेका ४७ जनामध्ये स्क्रिनिङ गरेर १९ जनाविरुद्ध मात्रै म्याद लिएर अनुसन्धान सुरु गरेका छौं । तीमध्ये पनि १२ जना भने यसअघि पनि विभिन्न मुद्दामा जोडिएको भेटिएको छ,’ एसएसपी अधिकारीले अनलाइनखबरसँग भने ।
नाइके भनिएका चक्रे यसअघि लागुऔषध, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेका व्यक्ति हुन् । काठमाडौंको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गरेकाले उनी चक्रे नामले कुख्यात थिए ।
विभिन्न अपराधमा पक्राउ परेर हिरासतदेखि कारागारसम्मको यात्रा तय गरेका चक्रे मात्रै नभएर अहिले मुद्दा चलाइएका अन्य व्यक्ति पनि विभिन्न कसुरमा पक्राउ परेको पाइएको छ ।
अहिले मुद्दा चलाइएका बाँकेको बैजनाथ नगरपालिका–२ का ४७ वर्षीय गणेशबहादुर बोगटीमाथि यसअघि पनि मुद्दा चलेको थियो । उनीविरुद्ध काठमाडौंबाटै अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।
बोगटी चक्रेका बडीगार्ड तथा राइट ह्यान्डको रूपमा चिनिन्छन् । बोगटी तिनै व्यक्ति हुन् जसले यसअघि चक्रेलाई नेपालगञ्जमा हतियारसहित एस्कर्टिङ गराएका थिए । हतियारसहित चक्रेलाई सुरक्षा दिएको भिडिओसमेत सार्वजनिक भएको थियो ।
त्यसपछि बोगटी २८ चैत २०७९ मा नेपालगञ्जबाट पक्राउ परेका थिए । नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई एस्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

बोगटीलाई पक्राउ गर्दा बाँकेको एसपपी सन्तोष सिंह राठौर थिए । अनुसन्धानका क्रममा चक्रेलाई सुरक्षा दिँदै प्रदर्शन गरिएको हतियार पोइन्ट टु–टु राइफल रहेको खुलेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेबाट लाइन्सेस लिएर बोगटीले उक्त हतियार राखेको पाइएको थियो । लाइसेन्स नै लिएर हतियार राखे पनि यसरी सार्वजनिक गर्न भने मिल्दैन ।
चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवासंघको महाधिवेशनमा भाग लिन त्यतिबेला नेपालगञ्ज पुगेका थिए । उनै बोगटी अहिले पनि चक्रेको बडिगार्ड भएर पुगेको प्रहरीको भनाइ छ ।
मुद्दा चलाइएका अर्का व्यक्ति निराजन पौडलको विगत पनि त्यत्तिकै विवादास्पद छ । उनी धेरै पहिलादेखि नै चक्रे समूहमा आबद्ध रहेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंको बसुन्धाराका ४० वर्षीय पौडेलविरुद्ध हाहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जुवाको कसुरमा मुद्दा चलेको पाइएको छ । उनी चक्रेको नजिकका व्यक्ति हुन् ।

चक्रेको नजिकको भाइ भनेर चिनिने काठमाडौं कोटेश्वरका ३३ वर्षीय रोशन सुवेदीविरुद्ध पनि यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–१२ का ३४ वर्षीय राहुल खड्काविरुद्ध पनि यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको पाइएको छ । खड्का तिनै व्यक्ति हुन्, प्रहरीले उनको बागमती बीएसी ३२२१ नम्बरको गाडीबाट २ थान खुकुरी र फलामको फोल्डिङ स्टिक २ थान बरामद गरेको थियो ।
गैंडाकोट नगरपालिका–१४ का २९ वर्षीय डिल्लीराज कँडेल पनि यसअघि मुद्दा चलेका व्यक्ति हुन् । उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा चलेको पाइएको छ । चोरी र अभद्र व्यवहारको कसुरमा कँडेलविरुद्ध मुद्दा चलेको थियो ।
अहिले हिरासतमा रहेका बुढानीलकण्ठ नगरपालिका–५ का ५८ वर्षीय जितबहादुर लामाविरुद्ध पनि यसअघि फौजदारी मुद्दा चलेको थियो । उनीविरुद्ध बैंकिङ कसुर र हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा चलेको पाइएको छ । काठमाडौंकै चन्द्रदेव कार्कीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा यसअघि मुद्दा चलेको पाइएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका ३२ वर्षीय प्रकाश गोलेविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा, ओखलढुंगाको सुनकोशी गाउँपालिका–६ का अमिर आलेमगरविरुद्ध केही सार्वजनिक अपराधको कसुरमा, ललितपुरका उत्तम महर्जनविरुद्ध लागुऔषधको कसुरमा र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ का ऋतिक लामाविरुद्ध अभद्र व्यवहारको कसुरमा यसअघि मुद्दा चलेको पाइएको छ ।
चक्रेको जन्मदिन मनाउन मलेसियादेखि काठमाडौं
चक्रेको जन्मदिन मनाउन मलेसियादेखि काठमाडौं आएको पाइएको छ । मलेसियाबाट दुई युवा चक्रेकै जन्मदिन मनाउन भनेर काठमाडौं आएको पाइएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।
ती अधिकृतका अनुसार मलेसियादेखि आउनेहरूमा स्याङ्जाको चापाकोट नगरपालिका–५ घर भएका २० वर्षीय सफल शाही (सुजल ठकुरी) र स्याङ्जाकै फेदीखोला गाउँपालिका–९ का ३३ वर्षीय राजु परियार छन् ।
उनीहरूलाई कपिल चन्द नाम गरेका व्यक्तिले चक्रेको जन्मदिन मनाउन भनेर मलेसियाबाट पठाएको खुलेको प्रहरी स्रोतले बताएको छ । उनीहरूविरुद्ध पनि प्रहरीले म्याद लिएर अनुसन्धान अघि बढाएको छ । यसअघि उनीहरू कुनै पनि मुद्दामा पक्राउ परेका भने थिएनन् ।

अर्का व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३२ वर्षीय प्रनिश कटेलविरुद्ध मुद्दा नचले पनि उनीले ठेकेदारहरूसँग रकम असुली गरेको भन्ने गुनासो आएको प्रहरीको दाबी छ ।
ललितपुरको सातदोबाटोका ३७ वर्षीय सौरभ सुनारविरुद्ध पनि म्याद लिएर अनुसन्धान गरिएको छ । उनीविरुद्ध यसअघि मुद्दा चलेको रेकर्ड नभेटिए पनि उनी चक्रेको नजिक रहेर काम गरेका व्यक्ति रहेको प्रहरीको भनाइ छ ।
अहिले मुद्दा चलाइएका चितवनको रत्ननगर नगरपालिका–१ का यामु पौडेलविरुद्ध यसअघि मुद्दा चलेको थिएन । काठमाडौं हात्तिगौडाका ३० वर्षीय सन्दीप केसी यसअघि मुद्दा चलेका व्यक्ति होइनन् । चक्रे समूहको पार्टी भएको होटलमा पुग्दा उनले भने प्रहरीसँग झगडा गरेको बताइएको छ । यसघि मुद्दा नचलेका भक्तपुरको चाँगुनारायणका ३३ वर्षीय राजेश खड्का चक्रेकको विश्वासिलो भाइ रहेको प्रहरीको भनाइ छ । उनीविरुद्ध पनि मुद्दा चलाइएको छ ।
पक्राउ पर्दा ग्रुप लिडरलाई दिँदै थिए चक्रेले पार्टी
बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बाला प्रहरी पुग्दा मिलन गुरुङ (चक्रे मिलन) समूहको पार्टी चल्दै थियो ।
पार्टी भइरहेको ठाउँमा प्रहरी पुगेपछि चक्रेको समूह छक्क पर्यो । प्रहरीले उनलाई जहाँको त्यहीँ यथावत् रहन निर्देशन दियो । तर यो बेलामा चक्रे समूहका केही व्यक्तिले किन हाम्रो कार्यक्रममा हस्तक्षेप गरेको भन्दै प्रहरीलाई प्रश्न गरे । केहीले भने दाइ तपाईंले बोलाएर आएको हो । यो के गरेको भन्दै प्रश्न गरेका थिए ।
तर, चक्रेले सबैलाई चुपचाप बस्न भने । हो–हल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले गाडीमा हाल्यो । त्यसपछि शान्त बनेको चक्रे समूहका ४७ जनालाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्यायो ।
उनीहरूलाई पक्राउ गर्नुको कारणबारे अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत भन्छन्, ‘सर्वसाधारणलाई आतंकित पार्ने गरेको, सवारी आवगमनसमेत अवरुद्ध गरेर एस्कर्टिङ गरिएको र रातिको समयमा हो–हल्ला गरेपछि नियन्त्रणमा लिएका हौं ।’
देखिने गरी उनीहरूले कुनै अपराध गरेको देखिँदैन । तर प्रहरीले भने यो समूहले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आतंकित, त्रसित पारेको बताउँदै आएको छ । प्रहरीको पूर्वनीतिअनुसार नै उनीहरू पक्राउ परेको देखिन्छ ।
‘सर्वसाधारणलाई त्रास देखाएर ठग्ने, अपराधलाई बढावा दिने तथा गुन्डागर्दी गर्नेहरूको प्रोफाइलिङ तयार गर्दैछौं । टोले गुन्डा होस् वा राजनीतिक संरक्षण प्राप्त, सबैलाई कारबाहीको दायरामा ल्याउँछौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले गत माघको अन्तिम साता पत्रकार सम्मलेन गर्दै भनेका थिए ।
पुराना गुन्डाहरूको अहिलेको अवस्था अपडेट गर्ने र नयाँ गुन्डाको रूपमा देखा परेकाहरूको पनि प्रोफाइलिङ तयार पारेर कारबाही चलाउने एआईजी तामाङले घोषणा गरेका थिए । एआईजी तामाङले यो उद्घोष गरेको केही दिन अघिमात्रै २३ माघमा अपराध अनुसन्धान कार्यालय सामाजिक सञ्जालमार्फत आतंक फैलाएको भन्दै सातजनालाई पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको सरकारी वकिलको कार्यालयले मुद्दा चनल्ने निर्णय गरेपछि केही दिन हिरासत बसेर उनीहरू रिहा भएका थिए ।
यो पटक पक्राउ परेकाहरूलाई भने प्रहरीले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ । पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4