+
+
Shares

माओवादी बैठकमा जनार्दनको पक्षमा खुले यी ४ नेता

फरक मत राख्नेमा सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राई छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते २१:१५

१८ साउन, काठमाडौं । जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरको पक्षमा ४ जना नेताहरू उभिएका छन् ।

अध्यक्ष प्रचण्डको कार्यशैली र भावी नेतृत्वबारे मुखररूपमा बोल्दै आएका उपमहासचिव शर्माजस्तै थप ४ नेताले मात्रै जारी स्थायी कमिटीको बैठकमा फरक मत राखे ।

शर्मासहित पाँच जनाले प्रचण्डको कार्यशैली सच्याउनुपर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा आफ्ना तर्क राखेका हुन् । यसरी फरक मत राख्नेमा सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राई छन् ।

बैठकमा बोलेका अधिकांश नेताहरूले भने अहिले अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताएका थिए । उनीहरू फरक मत राख्नेहरूप्रति नै बैठकमा खनिए ।

अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्ग प्रशस्त गर्नुपर्ने मत राख्दै आएका उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा उठेको थियो ।

शर्माले पार्टी फुटतर्फ लैजान खोजेको र नेतृत्वलाई आरोपित गरेर पार्टी छाड्न खोजेको भन्दै स्थायी कमिटी सदस्यहरुले आत्मालोचित हुनुनपर्ने माग गरेका थिए ।

तर, आइतबार धारणा राखेका शर्माले भने आफू आत्मालोचित हुन तयार रहेको तर, प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा प्रचण्डले लिनुपर्ने तर्क गरे ।

साथै उनले विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो ।’

शर्माले ‘पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन विकल्प भएको बताउँदै बहसका लागि खुला हुनुपर्ने बताए ।

शनिबार धारणा राखेका राम कार्कीले पार्टीको नेतृत्व रोटेशन प्रणालीमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

‘अध्यक्ष सम्मानित भएर बस्ने, अनि रोटेशनमा नेतृत्व विकास गर्ने,’ शनिबारको बैठकमा कार्कीले सुझाएका थिए, ‘रोटेशनमा आउने व्यक्तिलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनुपर्छ ।’

अधिकांशले अहिले प्रचण्डको विकल्प नरहेको बताइरहेका बेला एकाध सदस्यले राखेका फरक मतले माओवादीभित्र स्थान नपाउने देखिएको छ ।

यसको छनक आइतबार बैठकबाट बाहिरिनेक्रममा उपाध्यक्ष अग्नि सापकोटाले दिइसकेका छन् ।

सचिव कार्कीको प्रस्तावलाई खिसिट्युरी गर्दै उपाध्यक्ष सापकोटाले ‘त्यो कुरै हो, कुराका लागि कुरा त जे कुरा पनि गर्न सकिन्छ’ भनेर टारिदिए ।

कार्कीको प्रस्तावको औचित्य नरहेको भन्दै उपाध्यक्ष सापकोटाले ‘कम्युनिष्ट पार्टीमा रोटेशन भनेको कुराका लागि कुरा’ भन्दै असम्भव भनेका छन् ।

शनिबार धारणा राखेकी स्थायी कमिटी सदस्य अञ्जना बिसंखेले पनि अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । उनले शनिबार भनेकी थिइन्, ‘अध्यक्ष प्रचण्डले पनि विधानमा टेकेर बस्नुपर्‍यो, महाधिवेशनको निर्णयलाई पछ्याउनुपर्‍यो, विधि पछ्याइएको छैन ।’

संगठन निर्माणमा ध्यान नदिएको र नेताहरुको व्यवस्थापन हुन नसकेको भन्दै बिसंखेले पार्टी सही ढंगले नचलेको बताएकी थिइन् ।

पछिल्लो ८ वर्षदेखि पार्टी जहाँको त्यहीँ रुमल्लिएको उनको तर्क थियो । प्रचण्डले अधिकार आफू केन्द्रीत गर्न खोजेको र फरक मत राख्नेलाई स्थान नदिएको उनको आरोप छ ।

यस्तै स्थायी कमिटी सदस्य पर्शुराम तामाङ र अन्जना तामाङले पनि प्रचण्डले नेतृत्व छाड्नुपर्ने मत राखेका थिए ।

तर, स्थायी कमिटीका प्रभावशाली र बहुमत नेताहरू अध्यक्ष प्रचण्डविरुद्ध नउभिने निष्कर्षमा पुगेको देखिन्छ ।

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा आइतबारसम्म ३७ जनाले धारणा राखेका छन् । जसमध्ये दुई सदस्य मात्रै तटस्थ बसेका थिए । स्थायी कमिटी सदस्यहरू प्रह्लाद बुढाथोकी र विश्वनाथ प्रसाद साह अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा दुवैको पक्षमा बोलेनन् ।

सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोलेपछि बैठक सकिने माओवादी प्रवक्ता एवं उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?