+
+
Shares

माओवादीमा प्रश्न उठाउनेमाथि नै बर्सिए प्रश्न

बैठकमा जनार्दन शर्माको पक्षमा जम्मा ४ जना खुलेका थिए । ती हुन्- सचिव राम कार्की, परशुराम तामाङ, अञ्जना बिसंखे र टंक राई ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ साउन १८ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा पार्टी एकता र नयाँ खालको क्रान्ति आवश्यक भएको बताए।
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि प्रश्न उठाउँदै आत्मालोचना र विशेष महाधिवेशनको प्रस्ताव राखेका छन्।
  • स्थायी कमिटी बैठकमा प्रचण्डको नेतृत्व पक्ष र शर्माको विपक्षमा विभाजन देखिएको छ, तर अधिकांशले प्रचण्डको नेतृत्वलाई समर्थन गरेका छन्।

१८ साउन, काठमाडौं । जारी स्थायी कमिटीको स्थगित बैठक आइतबार सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यालय पेरिसडाँडाकै एक कार्यक्रममा सहभागी भए ।

शहीदको सम्झनामा भएको उक्त कार्यक्रममा केही हतास, केही निराश र केही भावुक देखिएका प्रचण्डले पार्टी एकताको कुरा गरे, नेताहरूबीच टुटफुट आउन नहुने कुरा गरे । र, कुरा गरे फेरि क्रान्ति र नयाँ खालको विद्रोहको ।

‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादी षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेका छौं । हाम्रो वर्गसँगै जोडिन फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’

तर, त्यही पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको माहोल र उठेका कुराहरूले उनले भनेझैँ नयाँ खालको क्रान्ति र पार्टी पुनर्निर्माणको बाटो पक्डेको छ त ?

मुलुकको तेस्रो ठूलो दल माओवादी केन्द्रको यो स्थायी कमिटी बैठक एक वर्षपछि बसेको हो । सत्ताबाट भर्खरै बाहिरिएको तोडमा रहेको माओवादीले वर्षदिनअघिको बैठकमा पार्टी पुनर्संरचनाका लागि गाउँस्तरसम्म जाने र पार्टीलाई विशेष महाधिवेशनमा लैजाने निर्णय गरेको थियो ।

उपमहासचिव जनार्दन शर्माले त्यसबेलै राखेको फरक मतलाई स्वीकार गर्दै माओवादीले अब पार्टी पुनर्संरचना र नेतृत्वको रूपान्तरणमै जोड दिने निष्कर्ष पनि निकालेको थियो । तर एक वर्षअघिको स्थायी कमिटी बैठक र त्यसपछि गत पुसमा बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई नजरअन्दाज गरेको भन्दै उपमहासचिव शर्माले नेतृत्वमाथि प्रश्न उठाउन थाले ।

सुरुमा पार्टीका बैठकहरूमा प्रश्न गर्दै आएका शर्मालाई जब प्रचण्डले चित्त बुझेको छैन भने पार्टी छोडेर जाँदा पनि हुन्छ भने त्यसपछि शर्माका अभिव्यक्ति र असन्तुष्टि पार्टीका फोरमहरूभन्दा बाहिर पनि प्रकट हुन थालेका हुन् । त्यसको प्रतिफल जे देखिएको छ, उनले अहिले माओवादीको स्थायी कमिटी बैठकमा भोगिरहेका छन् ।

शर्मालाई आरोप छ, उनले सांगठनिक अराजकता मच्चाएका छन् । माओवादी केन्द्रमा वैचारिक बहस सशस्त्र संघर्षकै बेलादेखि नै भएको हो । दुई लाइन संघर्ष माओवादीले उतिबेलैदेखि चलाएको हो । शान्ति प्रक्रियामा आइसकेपछि पनि चुनाव र विद्रोह सँगसँगै गर्ने लिखित नीति नै माओवादीले अपनाएको थियो ।

२०६५ सालमा भक्तपुरको खरिपाटीमा भएको पार्टी भेलाले पार्टीभित्र पार्टी सञ्चालन गर्न पाउने निर्णय पारित गरेको थियो । त्यसबेला प्रचण्डको साथमा यिनै जनार्दन शर्मा र वर्षमान पुनहरूको बलियो साथ थियो भने मोहन वैद्यले अर्को गुटको नेतृत्व गर्थे । त्यसपछि माओवादीले शक्ति संघर्षका अनेक आयामहरू बेहोर्‍यो । टुट्ने, फुट्ने र जुट्ने प्रक्रियाहरू चलिनै रहे । नेताहरू नेतृत्वप्रति निर्मम हुन्थे, आलोचना गर्थे, बहस गर्थे र एउटा निष्कर्षमा पुगेर बैठकहरू सकिन्थे ।

बैठकको सुरुवात अध्यक्ष प्रचण्ड स्वयंले आफ्ना गल्तीहरूप्रति माफी माग्दै समग्र परिस्थितिको समीक्षा गर्थे । नेताहरूको बीचमा मन मिलेको छैन भने पनि नेताहरू भन्ने गर्थे- आपसमा कुरा मिलाऔं कमरेडहरू, समझदारी गरेर अघि बढौं ।

तर, यसपालि त्यसो भएन । पार्टी नीतिका पक्षमा, विधिका पक्षमा र नेतृत्वको रूपान्तरण हुनुपर्छ भनेर गरिरहेको लबिइङको विरुद्धमा माओवादी केन्द्रको लगभग सिंगो स्थायी कमिटी उभियो । उनले उठाएका प्रश्नहरूलाई प्रतिप्रश्नहरूले रोक्न खोजियो, आत्मआलोचनाको माग गरियो ।

अर्का उपमहासचिव शक्ति बस्नेतले अन्त कतैबाट परिचालित भएर अध्यक्षमाथि जनार्दन शर्माले प्रश्न उठाएको आरोप लगाए । ‘नेतृत्वका विरुद्ध बोल्ने, भनेको पनि नमान्ने, आत्मालोचना पनि नगर्ने उहाँ कोबाट परिचालित हुनुहुन्छ ?,’ बैठकमा बस्नेतले भने । शुक्रबार माओवादीको स्थायी कमिटी बैठक सुरु हुँदा अध्यक्ष प्रचण्डले १० वटा एजेन्डा प्रस्तुत गरेका थिए ।

तर, आइतबारको बैठक सकिँदासम्म वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङबाहेक सबैले बोलेका छन् । उनीहरूसहित अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा जवाफ दिनेछन् । तर यी एजेन्डामध्ये ९ वटा एजेन्डा ओझेल पारेर नेताहरू केवल जनार्दन शर्माको विपक्षमा उभिए ।

उनीमाथि नै अनेक आरोप लगाए । त्यसमा अपवाद थिए, सचिव राम कार्की, परशुराम तामाङ, अञ्जना बिसंखे र टंक राई । उनीहरूले प्रचण्डले नेतृत्व छोड्नुपर्ने बताएका थिए ।

लगातारको पार्टी विभाजन, ओरालो यात्रा, संसदीय मोर्चामा देखिएको अंक गणितको गिरावट, खुम्चिँदा पार्टी कमिटीहरू, निष्क्रिय विभागहरू र सत्ता अस्थिरताले माओवादी निरन्तर ओरालो लाग्दैआएको छ ।

अन्य दुई स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकी र विश्वनाथ साहले प्रचण्ड तथा जनार्दन दुवैको पक्षमा मत राखेनन् । आफ्ना छुट्टै धारणा प्रस्तुत गरे । अरू ३७ जनाले जनार्दन शर्मालाई आत्मालोना गर्न सुझाउँदै प्रचण्डको नेतृत्वको विकल्प नभएको धारणा राखेका थिए ।

प्रचण्डको विपक्षमा बोल्ने अपवादहरूको पनि कुनै अर्थ नभएको माओवादी संस्थापनको विश्लेषण छ ।

‘एक/दुई बाहेक अधिकांशले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको १० बुँदे प्रस्तावको समर्थन नै गर्नुभएको छ, कसैले पनि अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने भन्नुभएको छैन, एकाधले बोलेको कुराको अर्थ हुँदैन,’ बैठकपछि पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले भने ।

तर, माओवादीले यसअघि सधैँ भन्ने गर्थ्यो- फरक मतहरूलाई पनि सम्मान गरेर अघि बढ्छौं । यसपटक माओवादी निर्णय प्रक्रियामा मात्रै होइन, बैठकको आयोजना र प्रस्तुतिमा समेत एकलौटी र एकपक्षीय देखियो । अध्यक्ष प्रचण्डबाहेक अरूको अस्तित्व अस्वीकार्य जस्तै भयो ।

अध्यक्ष प्रचण्डले सोमबार कस्तो जवाफ दिन्छन्, त्यो त हेर्न बाँकी छ तर आइतबारसम्म आइपुग्दा उनले पनि आफूमाथि उठेका प्रश्नहरूलाई खारेज गरिदिएका छन् । ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ, त्यसले आत्मालोचना गर्ने कुरा हो,’ अध्यक्ष प्रचण्डले भने ।

आत्माआलोचना प्रचण्डले पनि गर्नुपर्ने शर्माको सर्त

अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएबापत आफूमाथि नेताहरूले गरेका प्रश्नको शर्माले जवाफ दिएका छन् । स्थायी कमिटी बैठकमा उनले आफू आत्माआलोचित हुन तयार रहे पनि त्यसका लागि सर्त भने अघि सारेका छन् । उनको सर्त छ- आत्मालोचित त अध्यक्ष प्रचण्ड पनि हुनुपर्छ ।

‘म देश र जनताका लागि आत्मालोचना मात्रै होइन, जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’ उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्ति र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेन्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,’ शर्माले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुला गर्नुपर्छ ।’

पछिल्लो समय जनार्दन शर्मा र केही नेताहरूले प्रश्न त उठाइरहेका छन् । तर पार्टीको नेतृत्व पंक्ति र दोस्रो तहका नेताहरूसमेत अध्यक्ष प्रचण्डको विकल्प देखिरहेका छैनन् । बरु बहस गर्न चाहने नेताहरू नै ओझेल परेका छन् ।

बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरु भएको सुशासनको अभियानलाई अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको दुईबुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए । ‘अध्यक्षज्यूले पार्टीको निर्णयविपरीत सरकारको खेलमा समय फाल्नुभयो,’ शर्माले भने, ‘सुशासनको अभियान २ बुँदेमा लिएर बिसाउनुभयो ।’

उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकटलगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् ।

‘स्वचालित संगठन नहुनु, विधिसम्मत परिचालन नहुनु, समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ सविधान र परिस्थितिअनुसार नगरी केन्द्रीकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ शर्माले भनेका छन्, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्धतिसहितको स्थायी संरचना, स्वचालित कमिटीहरू, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात गर्नुपर्छ ।

जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’ शर्माले अध्यक्ष प्रचण्डकै कारण २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको बताए ।

‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भने, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ?’

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । त्यसयता माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ । जनमत घट्दै जानुको जिम्मा स्वयं प्रचण्डले पनि लिनुपर्ने शर्माले बताउँदै आएका छन् ।

लगातारको पार्टी विभाजन, ओरालो यात्रा, संसदीय मोर्चामा देखिएको अंक गणितको गिरावट, खुम्चिँदा पार्टी कमिटीहरू, निष्क्रिय विभागहरू र सत्ता अस्थिरताले माओवादी निरन्तर ओरालो लाग्दैआएको छ ।

पछिल्लो समय जनार्दन शर्मा र उनी पक्षधर नेताहरूले उठाइरहेको प्रश्न र गर्न चाहेको बहस पनि यही विषयमा हो । तर पार्टीको नेतृत्व पंक्ति र दोस्रो तहका नेताहरूसमेत अध्यक्ष प्रचण्डको विकल्प देखिरहेका छैनन् । बरु बहस गर्न चाहने नेताहरू नै ओझेल परेका छन् । त्यसको पछिल्लो उदाहरण माओवादीको जारी स्थायी कमिटी बैठक हो ।

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?