
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वका विरूद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ।
- स्थायी समिति बैठकले नेतृत्वका विरूद्ध जथाभावी अभिव्यक्ति दिने क्रम बढेपछि सचेत गराउने निर्णय गरेको छ।
- पार्टीभित्रै छलफल गर्नुपर्ने र बाहिर नेतृत्वका विरूद्ध अभिव्यक्ति दिन नहुने निष्कर्ष बैठकले निकालेको छ।
१९ साउन, काठमाडाैं । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरूद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ ।
शुक्रबार सुरु भइ सोमबार सकिएको पार्टी स्थायी समिति बैठकले नेतृत्वविरूद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत गराएको हो ।
उपहासचिव हरिबोल गजुरेलले पार्टीका नेताहरूमा संगठनात्मक अराजकता र नेतृत्वका विरूद्ध जथाभावी अभिव्यक्ति दिने क्रम बढेपछि स्थायी समिति बैठकले यो निर्णय गरेको बताए ।
‘विधि, पद्धति र पार्टी अनुशासन विपरीत गएर नेतृत्वका विरूद्ध जथाभावी बोल्ने क्रम बढ्यो,’ गजुरेलले भने, ‘नेताहरूलाई त्यसरी नबोल्न सचेत गराउने निर्णय बैठकबाट भएको छ । जनार्दनजीलाई पनि सचेत गराइएको छ ।’
उपहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीमा समस्या आएको बताउँदै आएका थिए । पार्टीका अरू नेताहरूले भने प्रचण्डमाथि प्रश्न गरेको भनेर शर्माको आलोचना गरिरहेका थिए ।
अधिकांश स्थायी कमिटी सदस्यहरूले शर्माले पार्टी विधि विपरीत बोलेको भन्दै उनले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए ।
शर्माले भने आफूले गरेको कमजोरीको मात्रै जिम्मेवारी लिने भन्दै आत्मालोचना गर्न अस्वीकार गरेका थिए । त्यसपछि बैठकले अब आइन्दा पार्टीका विषयमा पार्टीभित्रै छलफल गर्नुपर्ने र बाहिर अभिव्यक्ति दिँदै हिँड्न नहुने निष्कर्ष निकालेको हो ।
प्रतिक्रिया 4