+
+
Shares

बडिमालिका धार्मिक यात्रा सुरु, रेकर्ड ब्रेक दर्शनार्थी आउने अपेक्षा

बाजुराका प्रजिअ मेघनाथ पाध्याले बडिमालिका दर्शन गर्न आउने दर्शनार्थीले यो वर्ष रेकर्ड ब्रेक हुने विश्वास व्यक्त गर्दछन् ।

जनक विष्ट जनक विष्ट
२०८२ साउन २० गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन शुक्ल चतुर्दशीका दिनबाट धनगढीस्थित बडिमालिकामा धार्मिक यात्रा सुरु भएको छ।
  • सरकारी पूजा टोली सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलको नेतृत्वमा मंगलबारबाट बडिमालिकातर्फ प्रस्थान गरेको छ।
  • धार्मिक यात्रामा सुरक्षा र स्वास्थ्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

२० साउन, धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा धार्मिक यात्रा सुरु भएको छ । साउन शुक्ल चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलाका लागि मंगलबारदेखि धार्मिक यात्रा सुरु भएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रा पूरा गरेर बडिमालिका मन्दिर पुग्नु पर्ने मान्यताअनुसार मंगलबारदेखि बडिमालिका धार्मिक यात्रा सुरु भएको बताए ।

बडिमालिका धार्मिक यात्राका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलको नेतृत्वमा सरकारी पूजा टोलीको बिदइ गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सलामीसहित पूजा टोलीलाई बिदाइ गरिएको छ । सरकारी पूजा टोलीमा पञ्चकन्या, जमरा र कलश बोकेका महिला टोली र विद्यार्थी सहभागी छन् ।

धार्मिक यात्राका लागि बडिमालिका नगरपालिकाले वडा नम्बर ४ का अध्यक्ष अर्जुन नाथको नेतृत्वमा टोली नै पठाएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले स्थानीय झाँकी, बाजागाजा र पूजा सामग्रीसहित पूजा टोली बडिमालिकातर्फ प्रस्थान गरेको बताए ।

बडिमालिका दर्शनका लागि आउने यात्रुलाई मध्यनजर गर्दै बसोबासको प्रबन्धका लागि समेत नगरपालिकाले सहजीकरण गरिरहेको छ भने एम्बुलेन्सको व्यवस्थासहित स्वास्थ्य शिविरको व्यवस्था पनि गरिएको छ ।

मंगलबार सदरमुकाम मार्तडीबाट प्रस्थान गरेको सरकारी पूजा टोली र दर्शनार्थी पहिलो दिन सोता पाटन गएर बस्ने चलन छ ।

दोस्रो दिन त्रिवेणी धाममा बस्ने र तेस्रो दिनको बिहानै त्यहाँ नुहाइधुवाइ गरेर बडिमालिका दर्शनका लागि पुग्नुपर्ने हुन्छ । बडिमालिकाको दर्शन गरेपछि जनै पूर्णिमाको दिन नाटेश्वरीमा विशेष पूजा लाग्ने गर्दछ ।

बडिमालिकाको दर्शनका लागि सुदूरपश्चिमसहित छिमेकी कर्णाली प्रदेश र देशका विभिन्न ठाउँबाट दर्शनार्थी बडिमालिका आउने गरेका छन् । साउनमा बडिमालिकामा लाग्ने धार्मिक मेलाका लागि बाजुरा र कालीकोट जिल्लाबाट सरकारी पूजा टोली पठाउने प्रचलन रहेको थियो ।

तर यो वर्ष भने अन्य जिल्लाले समेत सरकारी पूजा टोली बडिमालिका पठाएका छन् । कार्यपालिका बैठकबाट निर्णय गर्दै धनगढी उपमहानगरपालिकाले समेत बडिमालिकामा सरकारी पूजा टोली पठाएको छ । उपप्रमुख कन्दकला रानाको नेतृत्वमा सरकारी पूजा टोली बडिमालिका गएको छ ।

उपप्रमुख रानाले धार्मिक पर्यटन प्रवर्द्धन र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको महिमा बढाउन बडिमालिकामा औपचारिक पूजा टोली पठाउने अभ्यासको थालनी गरिएको बताइन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपाली सेनाले बडिमालिका मन्दिर निर्माण सम्पन्न गरेपछि र प्रचारप्रचारका कारण यो वर्ष बडिमालिका दर्शन गर्न आउनेहरूको घुइँचो लागेको बताए ।

उनले वैशाखदेखि नै दर्शनार्थी आउने क्रम जारी रहेको बताउँदै २३ साउनको धार्मिक मेलामा ठूलो संख्यामा मानिस हुने अनुमान गरिएको बताए । संख्याको हिसाबले यो वर्ष रेकर्ड ब्रेक हुने उनी बताउँछन् । दर्शनार्थीहरूको सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरेर तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ पाध्याले बताए ।

बडिमालिकामा हुने मेलाको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटको समन्वयमा आवश्यक रणनीति बनाइएको उनले बताए । यात्रुलाई हुनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै दुई ठाउँमा नि:शुल्क स्वास्थ्य शिविर पनि चलाइएको उनले बताए । बडिमालिकाको इतिहास र महत्त्व

बडिमालिका आदिमकालमा स्थापना भएको मन्दिर हो । स्कन्दपुराणको मानसखण्डमा सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थालेको उल्लेख छ ।

भ्रमणका क्रममा ठाउँ-ठाउँमा सत्यदेवीका अंग पतन भएर खस्न थालेका थिए । सत्यदेवीका अंग जहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भएको जनविश्वास रहेको छ । बाजुराको मल्लागिरी पर्वत (बडी मालिका) मा उनको बायाँ कुम पतन भएको किम्वदन्ती छ । त्यसपछि मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको थियो ।

बडिमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापा बडिमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेको बताउँछन् । शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुंगा बोकाएर बडिमालिकामा मन्दिर निर्माण गराएका थिए ।

शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि २०३६/३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको बताइन्छ ।

आदिमकालदेखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन छँटाहरू, सुगन्धित बगैँचा, विशाल पाटन (फाँट) हरू र जैविक विविधताको खजानाका रूपमा रहेको छ । बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।

बडिमालिकालाई नेपाली सेनाको इष्टदेवीको रुपमा समेत लिइन्छ । अमरसिंह थापाकै समयदेखि बडिमालिकासँग नेपाली सेनाको साइनो थियो ।

पुजारी नेत्रराज पाध्यायका अनुसार २०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा रहेको थियो । तर उक्त दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले २०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथीमा पूजाआजा गर्ने परम्पराको थालनी गरिएको थियो ।

त्यो बेला राजा, खप्तड स्वामी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडिमालिका पुग्ने गर्थे । तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ ।

पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दिपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री आउने गरेका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?