+
+
Shares

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु   

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १४:०१
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ।
  • संयुक्त ऊर्जा लिमिटेडले १५ दिनको परीक्षण सफल भएपछि १ भदौदेखि व्यापारिक उत्पादन सुरु गर्ने समयतालिका बनाएको छ।
  • आयोजनाले ३ हजार ३८२ मिटर सुरूङ र ६३४ मिटर पेनस्टक पाइपलाइनबाट पानी ल्याएर रघुगङ्गा नदी किनारमा विद्युत् उत्पादन गरिरहेको छ।

२० साउन, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि १ भदौदेखि व्यापारिक उत्पादन सुरु गर्ने समयतालिका बनाएको छ ।

संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको सुरूदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिए ।

‘आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन,’ उनले भने,  ‘विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।’

कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरूङ र ६३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युत्गृहमा पानी खसालिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सन्राइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?