+
+
Shares

‘यसरी मेरो मिर्गौला चोरिएछ’

‘गाडीमा चढाएदेखि केही याद छैन, अस्ति सीधै कलंकी चोकमा रहेको पाएँ । मलाई भारतको कुन ठाँउमा लगेको भन्ने समेत थाहा छैन,’ भुजेलले भने ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ साउन २० गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीका मजदुर खिलबहादुर भुजेललाई पोखराबाट कामको प्रलोभनमा लगेर भारतमा बन्धक बनाइ मिर्गौला झिकिएको पत्ता लागेको छ।
  • भुजेललाई जेठ ३१ गते पोखरामा कालो गाडीमा चढाएर अज्ञात ठाउँमा लगेर महिनौंसम्म बन्धक बनाइएको थियो र साउन १७ गते कलंकीमा फेला परे।
  • पीडित भुजेलको परिवारले प्रहरीमा उजुरी दिएको छ र स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

२० साउन, काठमाडौं । जेठ ३१ गते अपरान्ह ४ बजे । खिलबहादुर भुजेल पोखराको पृथ्वीचोकमा उभिरहेका थिए । ज्यामी काम गर्ने भनेर पोखरा पुगेका उनी पछिल्लो केही दिनदेखि बेकामे भइरहेका थिए ।

त्यति नै बेला उनको अघिल्तिर कालो रंगको गाडी आएर रोकियो ।

गाडीबाट एक अपरिचित अनुहारले उनलाई अप्रत्यासित कामको प्रस्ताव गर्‍यो । ति व्यक्ति उनलाई सोधे– ‘भाई तिमी काम गर्छौ ?’

उनले दोमन बनाएनन्, किनभने काम त चाहिएकै थियो । बालबच्चासहित श्रीमती अर्कैसँग गएपछि खिलबहादुर एक्ला थिए । एक्लो भए पनि ज्यान त पाल्नै पर्‍यो । ज्यान पाल्नैका लागि उनी काम खोज्दै र काम गर्दै पोखरासम्म आइपुगेका थिए, सिन्धुलीबाट ।

उनी गाडीभित्र पसे, चुपचाप । गाडीभित्र एक जना मात्र थिए । खिलबहादुरले सोधेनन्, के काम हो ? कति पैसा पाइने हो ? कहाँ जानुपर्ने हो ? कहिलेबाट गर्नुपर्ने हो ?

किनभने उनलाई वश काम चाहिएको थियो । उनीसँग अतिरिक्त सीप थिएन, शैक्षिक योग्यताको प्रमाणपत्र थिएन । सामान्य ज्यालादारी गर्थे । ज्यालादारी गर्ने भएकाले उनले ‘कामको कुरामा’ खासै सोधीखोजी गरेनन् ।

गाडी तीब्र गतिमा हुँइकियो । केही समयपछि उनले अर्को कुनै व्यक्ति पनि गाडीमा पसेको जस्तो अन्दाज लगाए । किनभने यतिबेलासम्म गाडीमा के भइरहेको छ ? आफूमाथि के भयो ? उनले मेसो पाइरहेका थिएनन् ।

उनको होश खुल्दा सायद बिहान भइसकेको थियो । उनी कुनै भवन जस्तो ठाउँमा थिए । त्यहाँको परिवेश फरक थियो, मान्छेको बोलीचाली फरक थियो । उनलाई घरको पाँच तला माथि पुर्‍याइएको रहेछ र त्यहीं बन्धक भएछन् ।

किनभने त्यहाँबाट निस्कने कुनै उपाय थिएन । झ्यालढोका बन्द थियो । उनलाई त्यहाँ झ्याल, ढोका, फ्लोर पुछ्न भनियो । उनले त्यसै गरे । किनभने आफूलाई यस्तै कामको लागि यहाँ ल्याइएको हुनुपर्छ भन्ने अनुमान उनले गरे ।

बेलाबखत त्यहाँ चार पाँच जना पुरुष आउँथे । बस्थे । खाजा खान्थे । यसरी नै महिना दिन बित्यो । खिलबहादुरले भने, ‘अब त दसैँ आउँदैछ, घर जान्छु ।’

उनलाई न त त्यहाँबाट कतै जान दिए, न त कसैले केही भने । केही दिनपछि त्यहाँ उही कालो रंगको गाडी आयो । गाडीमा चढाएर कहाँ लगे भन्ने उनले पत्तो पाएनन् । गाडीमा बसेको केही समयमै उनका  आँखा लोलाउन थालिसकेका थिए, उनी अचेत भए । त्यसपछि होसमा आउँदा साउन १७ गते शनिबार दिउँसो कलंकी चोकको पेटीमा थिए ।

शरीरको एकातिर चिरिएको थियो र टेप लगाइएको थियो ।

काठमाडौंमा कहिलेकाहीँ काम दिने ठेकेदार (साथी) बस्ने ठाउँ चिनेका थिए । जसोतसो साँझ उनैकोमा पुगे । तर त्यो दिन आफूमाथि बितेको घटना बताएन् ।

साथीले घरसम्मको टिकट काटेर हातमा एक हजार पैसा दिए । आइतबार दिउँसो तीन बजेतिर सिन्धुलीस्थित घर पुगे । घरका मानिसले सोधिखोजी गर्दा मात्रै उनले मिर्गौला झिकिएको चाल पाए ।

काम खोज्दै गएका थिए, मिर्गौला गुमाएर फर्किए

लामो समयदेखि सम्पर्कविहीन भएका भुजेल घर आइपुगेपछि सबै खुसी थिए । तर परिवारको त्यो खुशी लामो समय टिकेन ।

‘घरमा एक्कासी देख्दा कम्ताखुसी भएनौं,’ भुजेलको भाउजू सीता माझीले अनलाइनखबरसँग भनिन् ।

केही बेरमा देवर खिलबहादुरले टिसर्ट उठाएर कम्मरमाथि देखाउँदै भने, ‘यहाँ धेरै दुखिराछ के भयो थाहा छैन ।’

उनको देब्रे पट्टीको पेट चिरिएको थियो । आफूलाई भएको घटना विस्तारमा सुनाए ।

केहिबेरमा गाउँमा हल्ला फैलियो, धेरैले अड्कल लगाए, ‘कसैले उनको मिर्गौला झिकेको हो कि ?’

तर उनले केही स्पष्ट भन्न सकेनन् । केवल ‘बेहोस बनाइएको थियो, त्यसपछि काठमाडौंको कलंकीमा गाडीबाट झरेपछि ब्युँझिएँ’ मात्र भने ।

त्यो रात उनी आलो घाउ दुखेर निदाउन सकेनन् । सोमबार बिहान उनलाई सिन्धुलीको डकाहा कमलाखोज सामुदायिक तथा अनुसन्धान केन्द्र लगियो ।

डा. नवीन बयरका अनुसार, ब्यान्डेज खोल्दा २० वटा टाँका देखियो ।

एक्सरे गर्दा देब्रे मिर्गौला नभएको पत्ता लाग्यो । ‘उहाँलाई के गरियो भन्ने केही कुरा थाहा छैन भन्नुहुन्छ,’ डा. बयरले अनलाइनखबरसँग भने, ‘ भिडियो एक्सरे गरेर हेर्दा देब्रेपट्टीको मिर्गौला देखिएन ।’

डा. बयरका अनुसार पेट चिरिएको घाउ आलै छ ।

‘त्यत्रो किड्नी झिकेको थाहा नै पाउनु भएनछ । त्यस्तो थाहा पाउनासाथ मैले प्रहरीलाई खबर गरेको छु,’ डा. बयरले भने ।

सिन्धुलीको दुधौली नगरपालिका–१ का भुजेल वर्षौंदेखि सडक निर्माणमा मजदुरी गर्दै आएका थिए  ।

जेठको पहिलो साता घरबाट हिँडेका थिए । केही दिन काठमाडौंमा काम गरे । त्यसपछि पोखरा पुगेका थिए । पोखरामा सडक बनाउने काम गर्दा सडकमै पाल टाँगेर सुत्थे ।

भुजेलका अनुसार तीन दिनदेखि काम विहीन थिए । कामको खोजीमा बाटोमा हिँडिरहेका थिए ।

‘राम्रो काम दिन्छु भनेपछि मैले केही सोचिन,’ भुजेलले अनलाइनखबरसँग भने ।

उनका अनुसार ३१ जेठ दिँउसो चार बजे पोखराको पृथ्वी चोकबाट उनलाई कामको प्रलोभन दिएर उनलाई गाडी चढाएर अज्ञात ठाउँमा लगिएको थियो ।

‘गाडी चढ्नासाथ केही बेरमा निदाएछु । अर्को दिन बिहान ६–७ बजेतिर होस खुल्दा म अर्कै ठाउँमा थिएँ,’ भुजेलले भने ।

उनलाई भारतको कुनै स्थानमा पुर्‍याइएको आशंका छ । ‘हिन्दीमा बोल्थे, त्यहाँको कपडा, बोलाइ सबै इन्डियनजस्तो थियो ।’

यस दौरान उनलाई पाँच तले घरको एक कोठामा राखियो । उनलाई कुनै होटल वा मानिसको घर होइन, बन्दी जस्तो बनाएर राखियो । खाना, सरसफाइका काम गराउँदै महिनौं बाहिर निस्किनसम्म दिएनन् ।

उनले काम गरेका घरमा चार–पाँच जना पुरुषहरू नियमित आउने–जाने गर्दथे । सबै अपरिचित थिए ।

‘सबै केटा मान्छे थिए, कोही महिला देखिनँ । उनीहरू चिया, खाजा खाएर जान्थे,’ भुजेल भन्छन् ।

आफूलाई बन्धक बनाएको चाल पाएपछि दसैं आउन लागेको र घर जाने प्रस्ताव राखे ।

केहीदिन पछि तिनैले कालो रंगको गाडीमा चढाए ।

‘गाडीमा चढाएदेखि केही याद छैन, अस्ति सीधै कलंकी चोकमा रहेको पाएँ । मलाई भारतको कुन ठाँउमा लगेको भन्ने समेत थाहा छैन,’ भुजेलले भने ।

उनको दाम्पत्य सम्बन्ध टुटिसकेको छ । श्रीमती दुई वर्षअघि सन्तान लिएर कतै गएकी छन् ।  अहिले उनी एक्लै छन् । उनका चार दाजुभाई छन् । उनी साइला हुन् ।

‘अहिले दाजुहरुकै सहारामा बसेको छु । कामको लोभले शरीर नै अपांग हुनपुग्यो,’ भुजेलले फोन सम्पर्कमा दु:ख सुनाए ।

सामान्य खेतीबालीमा गुजारा चलाउने परिवारमा आर्थिक भार थपिएको छ ।

भाउजू सीताका अनुसार स्वास्थ्य अवस्था कमजोर छ । आर्थिक अवस्था झनै नाजुक छ ।

औषधि खान सक्ने अवस्था छैन । ‘घर मात्रै छ, बारी  छैन,’ भाउजू सीता भन्छिन्, ‘हामी मजदुरी गरेर खाने मान्छे । सद्दे ज्यूज्यानको मान्छे यस्तो अवस्थामा आइपुग्नु भयो ।’

घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी टोली पीडितको घरमा पुगेको छ ।

परिवारले प्रहरीमा उजुरी दिइसकेको छ । प्रहरी टोली आएर बुझेर गएको सीताले बताइन् । भुजेल भन्छन्, ‘ कुन पापीले मलाई फसाएर मिर्गौला झ्क्यिो । यो अपांग शरीरले कसरी ज्यान पाल्न सकुँला र !’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?