+
+
Shares

अरनिको राजमार्ग दिनैपिच्छे अवरुद्ध

रसुवागढी नाका बन्द भएकाले अरनिको राजमार्गमा चाप छ । तर पटक-पटक जाने पहिरोले व्यापारी, पर्यटक र स्थानीयबासी आजित छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन २२ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा पहिरोसहित सडक भासिँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
  • सडक अवरुद्ध हुँदा चीनतर्फ जाने ३२ वटा कन्टेनर रोकिएका छन् र व्यापारी–व्यवसायी समस्यामा परेका छन्।
  • भोटेकोशी गाउँपालिकाले पहिरो व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएर तत्काल बजेट विनियोजनको माग गरेको छ।

२२ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा पहिरोसहित सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका वडा नम्बर-२ मा पर्ने इकोमा पटक–पटक सडक खुल्ने र बन्द हुने भइरहेको छ ।

हाल पहिरोले सडकमा क्षति पुग्दा यातायात पूर्णरुपमा अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

‘आइतबार बिहानैदेखि बन्द भएको सडक सोमबार दिउँसोबाट सञ्चालनमा आएको थियो तर मंगलबार बिहानैदेखि फेरि पूर्णरूपमा बन्द छ,’ प्रहरी प्रमुख कार्कीले भने, ‘राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।’

सोमबार पहिरो पन्छाएर ३२ वटा खाली कन्टेनर चीनतर्फ पठाइएको थियो । तर मंगलबार बिहानको पहिरो फेरि सडक बन्द भएपछि कन्टेनरहरू उतै रोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।

पटक–पटक सडक बन्द हुँदा यातायात क्षेत्रसँगै व्यापारी–व्यवसायी समेत समस्यामा परेको उनको भनाइ छ । ‘सोमबार ४० फुटे कन्टेनर चीन तर्फ पठाएको र मंगलबारदेखि आउनुपर्ने कन्टेनर आइसक्ने बेलामा सडक अवरुद्ध हुँदा समस्या आयो,’ बस्नेतले भने ।

अहिले सडक डिभिजन कार्यालय चरिकोट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत नाका सम्बद्ध व्यावसायीहरू सडक खुलाउन प्रयासरत छन् । ‘हामीले अहिले अरनिको राजमार्गमा स्काभेटर, टिपर, डोजर लगायतका सामग्री नाका केन्द्रित गरेका छौं, बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा आफ्नै स्रोत साधन प्रयोग गरेर सडक खोल्ने काम गर्दै आएका छौं,’ सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले भने, ‘वर्षाभरी समस्या हुन्छ, त्यसपछि दिगो रूपमा काम हुन्छ ।’

भोटेकोशी नदीको बाढीले रसुवागढी क्षेत्रको सडकमा क्षति पुगेपछि  व्यावसायीहरूले तातोपानीबाट आयात थालेका थिए । तर तातोपानी क्षेत्रको सडकको दुरावस्थाका कारण व्यावसायीहरू हैरान छन् । पैदल यात्री गर्न समेत अप्ठ्यारो रहेको स्थानीय बताउँछन् ।

२०७२ को भूकम्पपछि अरनिको राजमार्गमा पर्ने बाह्रबिसे कोदारी सडकखण्ड पटक–पटक भत्किने र पहिरो झर्ने गरेपछि व्यापारी र स्थानीयबासी आजित छन् ।

वर्षाको समयमा ढुंगासहितको पहिरो खस्ने गरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ ।

पहिरो व्यवस्थापन गर्न गाउँपालिकाको माग

यसैबीच भोटेकोशी गाउँपालिकाले अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्डको इको पहिरो व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा लगायतको टोलीले मन्त्रालयमै पुगेर ज्ञापनपत्र समेत बुझाएको छ ।

वर्षायाम सुरु भएसँगै पटक-पटक पहिरोका कारण अवरुद्ध हुने अरनिको राजमार्ग छिमेकी मित्रराष्ट्र चीनसँग जोड्ने नजिकको सडक मार्ग भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्न गाउँपालिकाले माग गरेको छ ।

रसुवागढी नाका बन्द भएकाले अरनिको राजमार्गमा चाप छ । चीन जाने व्यवसायी, मानसरोवर जाने तिर्थयात्री र मितेरी पुल पारी अड्किएका सामग्रीहरु यसै राजमार्ग भई काठमाडौंतर्फ आउ–जाउ गरिरहेका छन् ।

बाटो बन्द हुने समस्या पुरानो भए पनि पहिरो व्यवस्थापनको माग सम्बोधन हुन नसक्दा यातायात सञ्चालन नियमित र सुरक्षित हुन सकेको छैन । पहिरोले गर्दा प्रत्येक दिन हजारौं पर्यटक, सयौं मालबाहक कन्टेनर, यात्रबाहक बस/जिप लगायत आवतजावतमा कठिनाइ हुनुका साथै राज्यलाई करोडौं रुपैयाँको राजश्व असुलीमा समेत असर परेको भन्दै पालिकाले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

पालिकाले पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्ती समेत जोखिममा परेको जनाएको छ । कुनै पनि बेला ठूलो विपद् निम्तिन सक्ने खतरा बढेको पालिकाको भनाइ छ ।

तर सडक निर्माण तथा मर्मतमा ढिलाइ हुँदा समग्र गाउँपालिका, जिल्ला र देशकै विकासमा समेत प्रत्यक्ष असर परेको हुँदा कोदारी खण्डको इको पहिरोको तत्काल रोकथाम र पुनर्निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?