
२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद अझै चुलिँदै गएको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित होटल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठकले अध्यक्षविरुद्ध लाग्नेहरूलाई अझै कठोर बन्न तयार रहनुपर्ने निष्कर्ष निकालेको छ ।
अध्यक्ष लिङ्देनका निर्णयविरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको थियो ।
उक्त छलफलले यस्तो निष्कर्ष निकालेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
बैठकमा अध्यक्ष लिङ्देनले आफूलाई साथ मिलेको खण्डमा अझै निर्मम भएर अघि बढ्ने बताएका थिए । ‘तपाईंहरूको साथ भयो भने झन निर्मम भएर अगाडी बढ्छु,’ लिङ्देनले आफू पक्षीय भेलामा भनेका छन् ।
उनले पूरानो प्रवृत्तिसँग लड्नका लागि जुनसुकै मूल्य चुकाउन आफू तयार भएको पनि बताए । ‘काम गर्न नदिएको कारण मैले निलम्बन गरेको हुँ । कारबाही गर्नुपर्यो भने झन् उहाँहरूलाई गाह्रो पर्ला,’ लिङ्देनले भनेका छन्, ‘पूरानो प्रवृत्तिसँग लड्न जुनसुकै मूल्य चुकाउन तयार छ ।’
चैतभित्र महाधिवेशन गर्नका लागि कोशिस गर्ने पनि लिङ्देनले बताएका छन् ।
लिङ्देन पक्षले आव्हान गरेको बैठकमा असन्तुष्ट नेताहरुलाई बोलाइएको थिएन ।
महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ । संस्थापनइतरका एक नेताले भने, ‘बैठक बसिरहेको भन्ने सुनेका छौं । हामीलाई खबर गरिएको छैन ।’
मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको छ ।
तर, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीमा विवाद नभएको जिकिर गरे ।
प्रतिक्रिया 4