
२३ साउन, काठमाडौं । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर अरुण रजौरियाले सपथ लिएका छन् ।
ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई सपथ गराए ।
ऊर्जामन्त्री खड्काले नवनियुक्त सिईओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा रहेको भन्दै स्पष्ट कार्ययोजना सहित प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।
आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको बताउँदै मन्त्री खड्काले रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे ।
आयोजनालाई सार्वजनिक-निजी साझेदारी मोडेलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा मन्त्री खड्काको जोड छ ।
‘झण्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिंचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ । यस्तो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो’, उनले भने ।
कार्यक्रममा मन्त्रालयकी सिँचाई सचिव सरिता दवाडी, सहसचिवहरु, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया 4