
२४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने मिति तय भएको छ ।
उनीहरुबीच आलास्कामा यही अगष्ट १५ तारिखमा भेटवार्ता हुने भएको हो । त्यसको तयारी करिब पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दुवै नेताले यो भेटलाई रूस–युक्रेन युद्धको शान्ति प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन् ।
ट्रम्पले शान्ति सम्झौतामा केही क्षेत्र साटफेर हुन सक्ने संकेत गरेका छन्, जसलाई लिएर अन्तर्राष्ट्रिय समुदाय विभाजित छ ।
क्रेमलिनका वरिष्ठ सल्लाहकार यूरी उशाकोभले पनि अलास्का भ्रमणलाई ‘तर्कसंगत’ भन्दै बैठकको पुष्टि गरेका छन् ।
२०१९ मा ओसाका भेटपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुन लागेको हो । सन् १९८८ पछि अमेरिकामा हुने पहिलो द्विपक्षीय शिखर सम्मेलन समेत हो ।
अलास्काका राज्यपाल माइक डुनलीवीले राज्यलाई विश्व कूटनीतिक केन्द्रको रूपमा प्रस्तुत गर्दै बैठकको स्वागत गरेका छन् ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले यस भेटलाई प्रतीकात्मक उपलब्धि मात्र नभई पुटिनको अन्तर्राष्ट्रिय अलगाव तोड्ने अवसरका रूपमा पनि व्याख्या गरेका छन् ।
तर, यो भेटले वास्तविक शान्ति ल्याउँछ वा समय लम्ब्याउने रणनीति मात्र हुन्छ भन्नेमा केहीले शंका व्यक्त गरेका छन् ।
युक्रेन पक्षले भने आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डता कुनै हालतमा सम्झौतामा नमिल्ने स्पष्ट चेतावनी दिएको छ ।
प्रतिक्रिया 4