+
+
Shares

कैलाली कारागार झडपमा घाइते एक जनालाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १९:०८

२४ साउन, धनगढी । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ ।

नेपाली सेनाको स्काई ट्रक मार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको जानकारी गराएका छन् ।

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै  कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ ।

कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो ।

कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुन:शुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए ।

यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो ।

कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?