
News Summary
Generated by OK AI. Editorially reviewed.- घटना भएको ३६ घण्टा बित्दा पनि स्थानीय प्रशासनले कारागारभित्रको स्थिति नियन्त्रणमा लिन सकेको छैन।
- कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले भित्रको अवस्था थाहा हुन सकेको छैन ।
- कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।
२५ साउन, धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।
घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।
सोही कारण घटनाको ३६ घण्टा बितिसक्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् ।
उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।
हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।
कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् ।
१४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।
सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।
शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् ।
घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।
अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।
कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया 4