+
+
Shares

म्युनिखमा नेपाली रूट्स सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते ७:४३

२६ साउन, बार्सिलोना । जर्मनीका विभिन्न सहरमा बसोबास गर्ने अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र समुदाय अगुवाहरूको सहभागितासहित ‘नेपाली रूट्स सम्मेलन २०२५’ शनिबार म्युनिखमा सम्पन्न भएको छ ।

‘जहाँ विचारले कर्म भेट्छ र समुदायले अवसर भेट्छ’ भन्ने मूल नारासहितको सम्मेलनले जर्मनीमा रहेका नेपाली पेसागत समुदायबीच ज्ञान, अनुभव र अवसर आदान-प्रदानको बलियो सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको थियो ।

कार्यक्रममा जर्मनीभरिका विभिन्न क्षेत्रका ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरूले सहभागिता जनाउँदै ज्ञान र अनुभव साटासाट गरे।उक्त सम्मलेनमा अन्तरक्रियात्मक छलफल, कार्यशाला र नेटवर्किङ सत्रहरू सञ्चालन गरिएको थियो ।

जर्मनीस्थित नेपालका राजदूत डा. शैल रुपाखेतीले उद्घाटन सत्रमा विशेष सम्बोधन गर्दै नेपाली समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल-जर्मनी सहकार्यमा उपयोग गर्न सकिने सम्भावना औंल्याए ।

वरिष्ठ जलवायु वैज्ञानिक डा. महेश्वर रुपाखेतीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै जलवायु वित्त, प्राविधिक क्षमता अभिवृद्धि र प्रवासी समुदायको सहकार्य आवश्यक भएको बताए ।

डा. यज्ञ अधिकारीले हिमाल र वन संरक्षणका लागि प्रवासी नेपालीको ज्ञान र स्रोतको उपयोगमा जोड दिंदै वन पुनर्स्थापना, जलवायु-स्मार्ट कृषि र नवीकरणीय ऊर्जालाई प्रमुख समाधानका रूपमा प्रस्तुत गरे । डा. सरदबहादुर थापाले सेमिकन्डक्टर प्रविधिको सम्भावना र चुनौतीबारे चर्चा गर्दै यसले स्मार्ट कृषि, नवीकरणीय ऊर्जा र विद्युत यातायातमा नयाँ अवसर खोल्ने बताए ।

दिगोपन विज्ञ रञ्जना बुढाथोकीले पर्यावरणीय, सामाजिक र सुशासनलाई जोखिम व्यवस्थापन र मूल्य सिर्जनाको प्रभावकारी उपकरणका रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय क्षेत्रमा मात्र सीमित नगरी सबै क्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिइन् । पीएचडी अनुसन्धानकर्ता समिप श्रेष्ठले हिमाली क्षेत्रमा जोखिम पहिचान र प्रारम्भिक चेतावनीका लागि रिमोट सेन्सिङको प्रयोगबारे जानकारी दिए ।

उद्यमशीलता सत्रमा नविन राज गैह्रे र समिप राउतले प्रवासी नेपालीले ज्ञान र लगानीमार्फत नेपालमा अर्थतन्त्र र समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने अनुभव साटेका थिए। सम्मेलनको अन्त्यमा सहभागीहरूलाई समूहगत छलफल र समाधान निर्माणको अभ्यासमा संलग्न गराइएको थियो ।

समापन सत्रमा अध्यक्ष डा. कृतन गौतमले सम्मेलनलाई जर्मनीमा नेपाली पेशागत समुदायको साझा ज्ञान, सहकार्य र अवसर सृजनाको थलोका रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी वर्ष पनि सम्मेलन आयोजना गर्ने घोषणा गरे।उनले जर्मनीमा रहेका नेपालीहरुबीच  सहकार्य, पेशागत उन्नति र समुदाय विकासलाई प्रोत्साहन गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?