+
+
Shares

जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते २०:२६

२८ साउन, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका छन् ।

जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सरकारको भ्रस्ट र नस्लीय चरित्रले अक्रान्त भैसकेका जनताले यो सरकारको विकल्प खोजिरहेको बताएका हु्न् ।

देशमा भ्रष्टाचार, कुशासन एवम् विभेद चरम सिमामा पुगिसको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाह बन्न खोजेको छ, जनतामा सरकारप्रति व्यापक निराशा र आक्रोश छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’

संसारमै अविकशित एवम् पछाडि परेको तथा वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा रहेको आरोप लगाउँदै उनले देश उल्टो गतितर्फ ओरालो लागेको बताए । लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियसभा मात्र ६ जना मधेशको प्रतिनिधित्व रहेको चर्चा गरे ।

उनले भने, ‘रणनीति तहत मधेशलाई टुक्राटुक्रामा विभाजन गरेको गरेको छ, जबकि स्वायत्त मधेशको कुरा संविधानमै लेखिएको छ ।’

परिवर्तनका लागि संघर्ष आवश्यक रहेकोले अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी निर्माण, मजबुत र सङ्गठन सदृढीकरण गर्न तथा सामाजिक न्याय र अधिकारका लागि काम गर्न निर्देशन दिए ।

विकास, समानता र अधिकारका लागि लडाईं सँगसँगै लड्नका लागि पार्टीलाई संगठित बनाउनु पर्नेमा जोड दिँदै उनले भने, ‘वडा, टोल, बस्तीहरूमा सभा, बैठक गरी जागरूकता बढाउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?