
News Summary
Generated by OK AI. Editorially reviewed.- राजनीतिमा एजेण्डा र व्यवहारले विश्वासको मैदान तय गर्छन् । मैदानको विश्वासले मात्रै सिँढी चढ्ने आँट गर्न सकिन्छ । यदि विश्वास आम पब्लिकमा दिलाउनु छ भने नीतिगत आलोचना र आत्मालोचनाका विषयलाई जनता समक्ष लैजाऔं ।
- पार्टीमा द्वन्द्व बढाएर,विभाजन गरेर, निषेध गरेर कहिँ पुगिदैन भन्ने कुरा त विगतका घटनाहरुले शिक्षा दिइसके । किरण, बाबुराम र विप्लवहरु निस्के, विभाजित भए, निषेध गर्यौं तर प्रश्नहरुले त हामीलाई लखेट्न छोडेन ।
- आफ्नो वास्तविकता ढाकछोप गरेर कमरेड अध्यक्षको साखुल्ले भएकै भरमा पद प्रतिष्ठा हत्याउने र त्यसैको आडमा बाँकी पार्टी पंक्तिमा रवाफ जमाउने सानो स्वार्थी र संकिर्ण सोंचको ऐंजेरु व्याक्टेरियाबाट यस पार्टीलाई बचाउन जरुरी छ ।
हाम्रा स्वभाव, प्रवृत्ति र कार्यशैली यति कडा छन् कि विगतमा पनि तिनै विशेषताका कारण हाम्रो पार्टी माओवादी केन्द्र पटक-पटक विभाजन भयो । धेरै कारणहरू छन् हाम्रो शक्ति क्षय हुनुमा । एउटा र प्रमुख कारण पटक पटक विभाजन हुनु नै हो । जसका कारण हामी एक विशाल राजनीतिक शक्तिको आकारबाट घटेर निम्छरो शक्तिका रुपमा सीमित छौं ।
हामीलाई लाग्छ हामी निकै उदार छौं र उदारता नै हाम्रो कमजोरी हो । तर युद्धको भिषण मोर्चा सकेर आएपछि हामी माथि राजनीतिक प्रताडनाको समय सुरु भयो जसका कारण हामी अपमानको आँसु पियर बाहिर निस्कियौं भन्ने हाम्रा सहयोद्धाहरुको गुनासो छ । त्यो एक जना, दुई जना वा तीन जनाको गुनासो होइन, सयौं हजारौं सहयोद्धाहरुको हो । जो युद्धका भिषण मोर्चा र शत्रुको गोला बारुदको वर्षा भइरहँदा हातमा हात र काँधमा काँध मिलाएर सँगै लडेका थिए ।
शान्ति प्रक्रियापछि सायद तिनले आफ्नो सम्मानित राजनीतिक व्यवस्थापनको माग गरे, हामी त्यसका लागि तयार भएनौं । फलतः विषयहरुमा राजनैतिक र सैद्धान्तिक लेपन लगाएर आफ्नो व्यापक असन्तुष्टिका साथ उनीहरु पालैपालो बाहिरिए ।
जब कमरेडहरू मोहन वैद्य किरण र रामबहादुर थापा बादल बाहिरिनुभयो उहाँहरुको जडसूत्रवाद र मध्यपन्थी चरित्रमाथि बाबुराम भट्टराईले व्यापक प्रहार गर्नुभयो । समयक्रमले उहाँलाई फेरि त्यही बहिर्गमनको पंक्तिमा उभ्याइदियो । जब क. लालध्वज (बाबुराम भट्टराई) को बहिर्गमन भयो किरण समूहबाट फर्किनुभएका बादलले बाबुरामको दक्षिणपन्थी संशोधनवादमाथि पुरानो प्रतिशोधको हिसाब किताबसहित जमेर प्रतिप्रहार गर्नुभयो ।
समयले बादललाई फेरि एमालेको साइनबोर्ड मुनि उभ्याइदियो त्यतिबेला हामी धेरैले उहाँको लिनप्याओ नामक ट्यागको जमेर आलोचना गर्यौं । कुनै समय व्यापक असन्तुष्टिका साथ मातृका यादव बाहिरिनु भयो । हामीले उहाँको खेदो खन्ने जिम्मा प्रभु साहलाई दियौं । प्रभु साह लगायत कमरेडहरुले सकेसम्म मधेशमा त्यो भूमिका पूरा गर्ने प्रयत्न गर्नुभयो पनि । समयले प्रभु साहलाई किनाराकृत गराइदियो त्यसपछि फर्केर आएका मातृका यादवले प्रभु साहको रिक्ततालाई पूरा गर्न कोशिस गर्दै हुनुहुन्छ । यी त केही प्रतिनिधिमूलक उदाहरणमात्रै हुन् ।
प्रतिकूल समयको चक्रवातसँगै क्रान्ति गर्न भनेर हिँडेका विप्लव चुनाव र विद्रोहको द्विविधामा हुनुहुन्छ । चुनाव र विद्रोहका दुवै बाटाहरु बास्तवमै कठिन र तत्काल संभव हुनेमा आशंका देखेपछि उहाँले आम मनोविज्ञानको नेतृत्व गर्न सकिन्छ कि भन्ने झिनो आशासहित कृषि क्रान्तिको मिम्स सो गर्दै हुनुहुन्छ । किनकी १२ जना शहिद हुँदा उहाँको पार्टीले जुन सामाजिक स्वीकृतिको अनुमति पाएन धान रोपाइ, माछा पालन, आलुखेती आदिमा गरिएको परिश्रम, लगानी र व्यवहारले थोरै सामाजिक स्वीकृति र सहानुभूति पायो ।
कुनैबेला त्रिकाल त्रिपात्र जस्ता शीर्षकमा काली दमाइका नामबाट लेख प्रकाशित गरेर लालध्वज विरुद्ध धुँवाधार प्रस्तुत हुने कमरेडहरु अहिले किरणको ट्याग भिर्दै शान्त मुद्रामा हुनुहुन्छ र कुनै समय प्रवासको जिम्मेवारी सम्हालेका कञ्चन (धर्मेन्द्र बास्तोला) सँग एउटा सानो समूह छ ।
लोकेन्द्र विष्ट ड्रयागन पार्टीमा हुनुहुन्छ । त्यस पार्टीमा कुनै गुट उपगुट जरुरी छैन, आत्मनिर्भर व्यक्तिगत जीवनको स्वाभिमान बाहेक । गोपाल किराँती के गर्दै हुनुहुन्छ थाह छैन र आहुति मिडिया मार्फत आफ्नो दृष्टिकोण दिएर चित्त बुझाइरहनुभएकै छ । लेखराज, टोपबहादुर र प्रभु साहहरू त बेइमान हुने नै भए किनकी तिनले पराईलाई आफ्नो ठाने । हामीलाई यति भएपछि उनीहरुको खिसीट्युरी गर्न, बद्ख्वाँइ गर्न र गाली गलौज गर्न अरु के नै चाहियो र ?
अब हामीसँग यतिबेला एउटा रेडिमेट जवाफ छ, एमालेमा जानेहरू ‘विचलनवादी र अवसरवादी’ हुन् । किरण, बाबुराम र विप्लवहरु ‘असक्षम भगौडा’हरु हुन् । बाँकी जजसले यो पार्टी छोडे ती सबै ‘थाकेका’हरु हुन् । फर्केर आएकाहरु हाम्रोमा ओत लाग्न आएका ‘निरिह प्राणी’ हुन्, नैतिक बल र लिगेसी गुमाइसकेका ‘राजनीतिक शरणार्थी’हरु हुन् । यही जब्बर शासकीय मनोविज्ञानका साथ बाँचेका हामी समयको वस्तुनिष्ठ मूल्यांकन, आफ्नो धिमा गति र घट्दो आकर्षणसँग कत्तिपनि चिन्तित छैनौं । दुरदराजका शहीद परिवार, बेपत्ता, घाइते र खाडी पुगेका तमाम पूर्णकालीनहरूबारे हामीलाई कुनै चिन्ता छैन ।
बरु असहमति र आलोचनाको आवाज उठाउने कोही छ कि भनेर पहिला त्यसलाई कोट्याउने अनि भेटिएपछि मज्जाले चिमोट्ने र अन्तिममा घाँटी निमोठ्ने अहंकारको घोडामा हामी सवार छौं । जनताबाट अनुमोदित हुन दशकौं दशक लाग्ने, मास बेसमा पर्फमेन्स दिन नसक्ने, पार्टी विस्तारका लागि कुनै प्रभावकारी रणनीति तय गर्न नसक्ने अनि आफ्नो वास्तविकता ढाकछोप गरेर कमरेड अध्यक्षको साखुल्ले भएकै भरमा पद प्रतिष्ठा हत्याउने र त्यसैको आडमा बाँकी पार्टी पंक्तिमा रवाफ जमाउने सानो स्वार्थी र संकिर्ण सोंचको ऐंजेरु व्याक्टेरियाबाट यस पार्टीलाई बचाउन जरुरी छ ।
राजनीतिमा एजेण्डा र व्यवहारले विश्वासको मैदान तय गर्छन् । मैदानको विश्वासले मात्रै सिँढी चढ्ने आँट गर्न सकिन्छ । यदि विश्वास आम पब्लिकमा दिलाउनु छ भने नीतिगत आलोचना र आत्मालोचनाका विषयलाई जनता समक्ष लैजाऔं । अन्तर कुन्तरका समीक्षा पार्टी पंक्तिमा गरौं ।
पालो आउँदा राजकीय सत्ता र बाँकी समय सांगठनिक सत्ता कब्जा गरेर दशकौं दशक अरुलाई एक मिनेट पालो नदिने हामी चाहिँ क्रान्तिकारी, दशकौंको जोखिम,संघर्ष र बलिदानलाई आँखा चिम्लेर हिँड्नेहरु, हामीबाट लखेटिएकाहरु र गल्तीबाट पाठ सिक्दै विधिको बाटो तय गरौं भन्नेहरु चाहिँ अवसरवादी क्या गज्जबको व्याख्या छ ।
हाम्रो इशारा बिना कसैले एक मिनेट श्वास पनि नफेरोस भन्ने संकिर्ण चाहानालाई उदारवादी कमजोरी भन्ने र पत्याउने हामी कस्ता दार्शनिक ? गएकाहरु सबै कुहिएका र गन्हाएका हामी चाहिँ चौबिस क्यारेटका भन्ने दाबी कति बस्तुपरक ? के हामी शान्ति प्रक्रियापछि यस पार्टीको लगातार ओरालो यात्राबारे गम्भिरतापूर्वक चर्चा गर्न तयार छौं ? यदि छौं भने हामीले हाम्रो विरासतको पुनरोदयमा सफलता हासिल गर्न सक्छौं ।
त्यसो गर्नुको साटो आफ्नै सहयोद्धाहरुलाई पहिला पर धकलेर प्यारालाइज गर्ने अनि उसको शक्ति क्षीण भएपछि सेन्ट्रलाइज गर्ने फर्मुला अनुसार नै हामी पटक-पटक यो पार्टीको एकता र विभाजनको अनन्त श्रृंखलामा छौं भने हाम्रो अधोगतिलाई कसैले रोक्न सक्दैन । यसर्थ हामी सच्चिन र हाम्रा कार्यशैलीहरु सच्याउन जरुरी छ ।
यतिबेला हाम्रो जोडदार प्रहार छ, गएकाहरुको हालत के भो ? जानेहरुको हालत त्योभन्दा कम हुने छैन ? वास्तवमा यसबेला पार्टी छोडेर जान त कोही तयार देखिदैन । त्यसो भए यो प्रहार को माथि हो त ? यो प्रहार प्रश्न माथि हो । प्रश्न गर्नेहरु, विधिको कुरा गर्नेहरू गइदिए हुन्थ्यो भन्ने आकांक्षा बारम्बार प्रकट हुँदै आइरहेका छन् । प्रश्न गर्नेहरू गएदिए बरु ५, ७ सिटमै भए पनि चित्त बुझाउथ्यौं भन्ने पनि साथीहरुलाई लाग्दो हो ।
कृपया कमरेडहरु अहंकारको घोडाबाट तल झर्नुस् । केन्द्रीय सदस्यहरु भर्तिको रेकर्ड ब्रेक गरेर, मनपर्नेहरुको घेरा कसिलो बनाएर, बाँकी माथि जाइलाग्ने चेष्टा गरेर प्रश्न विहीन, विधि विहीन र औचित्य विहीन केन्द्रीय कमिटी बनाएर त्यसले पार्टीको साख र गरिमा धान्न सक्दैन ।
अहिले हामीले दुइटा प्रश्नको जवाफ खोज्यौं भने सायद तमाम समस्याहरुको समाधान हुने छ । त्यो भनेको गएकाहरु मात्रै खराब हुन् भने सदनमा सिट संख्या र मतभार के कारणले घट्यो ? खराबहरु मात्रै जाँदा त हामीसँग जनसागर अझ उर्लिनुपर्ने होइन र ? अर्को, हामी जति यो पार्टीलाई प्रश्न विहीन बनाउँदै छौं र नेतृत्व केन्द्रीकरणको अभ्यास गर्दैछौं पार्टीको लोकप्रियताको ग्राफ त रकेटको गतिमा झर्दैछ । एक पछि अर्को निर्वाचन हाम्रा लागि निरासाजनक परिणाम लिएर आउँछ ।
अब हामी एउटा आनन्दमा कहाँनेर छौं भने गएकाहरु सकिए नि त ? गएकाहरु रिङ बाहिर गएर सकिए हामी रिङ भित्रै रहेर सकिदैछौं भन्ने कुरा साथीहरुले किन सोच्नुहुन्न ? गएकाहरुलाई यो व्यवस्था, यो संविधान, यो पार्टी, यो नेतृत्व, यो लोकतान्त्रिक विधि पद्धतिसँग कुनै साइनो सम्बन्ध छैन । यहाँ रहेकाहरू त जिम्मेवार बन्नुपर्ने होला, प्रतियोगितामा श्रेष्ठता हासिल गर्नुपर्ने होला र एक नयाँ संस्कार, सँस्कृति र सभ्यताको सन्देश दिनुपर्ने होला । हाम्रो बुझाइको राजनीतिक जनवाद, व्यवहारको समाजवाद र २१ औं शताब्दीको जनवादमा आधारित राजकीय सत्ता र सांगठनिक सत्तामा मालेमावादको दृष्टिकोण पेश गर्नुपर्ने होला ।
स्कच ह्विस्की जस्तो जति धेरै पुरानो त्यति धेरै मादक भन्ने स्लोगन बनाएर संगठन प्रणालीलाई जनवादबाट बञ्चित गर्ने, सामाजिक संरचनालाई राजकीय संरचना र सामूहिकताबाट वञ्चित गर्ने अनि आलोचना र प्रश्नहरुलाई गर्जेर चेतावनी दिने कुरा कति उपयुक्त छ हिसाब गरौं ।
कुनै पनि संस्थालाई लोकतान्त्रिक बनाउन सबैभन्दा पहिले त्यसको विधान लोकतान्त्रिक हुन जरुरी छ । दोस्रो, लोकतान्त्रिक विधानलाई स्वीकार्ने प्रवृत्तिको निर्माण जरुरी छ र तेस्रो विधानमा संस्थाका पदाधिकारीदेखि सदस्यहरुको कार्यकालको अवधि र एक पदमा कति कार्यकालसम्म रहन पाइने भन्ने कुराको निर्क्यौल गर्न अनिवार्य हुन्छ ।
माओवादी पार्टीमा बहसको मुख्य केन्द्रविन्दु पनि अहिले यिनै विषयहरु हुन् । संगठनमा विधि विधान र जायज विषयहरुलाई विषयान्तर गरेर होइन तिनको जवाफ खोजेर, तिनलाई व्यवस्थित बनाएर र समाधान गरेर मात्रै हामी लामो दुरीको यात्रा तय गर्न सक्ने सही पार्टी निर्माण गर्न सक्छौं ।
पार्टीमा द्वन्द्व बढाएर,विभाजन गरेर, निषेध गरेर कहिँ पुगिदैन भन्ने कुरा त विगतका घटनाहरुले शिक्षा दिइसके । किरण, बाबुराम र विप्लवहरु निस्के, विभाजित भए, निषेध गर्यौं तर प्रश्नहरुले त हामीलाई लखेट्न छोडेन । जनताका अपेक्षा, निरासा र आक्रोसबाट त हामी भाग्न सकेनौं । त्यसकारण अनुहार सफा गरौं पटक-पटक ऐना फुटाउने गल्ती नगरौं ।
(न्यौपाने माओवादी केन्द्रका युवा नेता हुन् ।)
प्रतिक्रिया 4