+
+
Shares

कांग्रेसको किचलोले बागमतीमा फुकेन मन्त्री नियुक्तिको गाँठो

बहादुर सिंह लामा पक्षलाई मन्त्री नबनाउन आफ्ना पक्षबाटै दबाबमा परेका मुख्यमन्त्री बानियाँ शीर्ष नेता भेट्न काठमाडौंमा छन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ साउन २९ गते १०:०८
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र मन्त्री नियुक्तिको विषयमा जारी किचलो अझै टुंगिएको छैन ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको मन्त्री नियुक्तिमा देखिएको अन्तरसंघर्षको गाँठो फुक्न नसक्दा सरकारले पूर्णता पाएको छैन ।

२० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले सोही दिन नेकपा एमालेका ६ जना र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेस–एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसबाट अझै पाँच मन्त्री नियुक्त हुन बाँकी छ ।

२० साउनमै निवर्तमान मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई बानियाँले मन्त्री नबनाएको भन्दै लामा पक्ष असन्तुष्ट छ । धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँले पहिलो चरणमै मन्त्री बनाउनुपर्ने सहमति कांग्रेस सभापति शेरबहादुर देउवासमेतको बसाइमा भएको तर बानियाँले पालना नगरेको लामा पक्षको गुनासो छ ।

लामासहितका सांसदहरु पार्टी नेतृत्वलाई गुनासो राख्न २० साउनमै काठमाडौं पुगेका थिए । सभापति देउवासँग भेट गरेर लामा पक्षका सांसदहरु २७ साउन सोमबार मात्रै हेटौंडा आएका थिए । ३ जनालाई मन्त्री नबनाएसम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने अडान लिएको बहादुर पक्ष साउन २७ गते प्रदेश सभा बैठक सुरु हुनासाथ प्रदेशसभा भवनमा प्रवेश गरेको थियो । उनीहरुले साउन २७ गते नै बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

शीर्ष नेता भेट्न मुख्यमन्त्री बानियाँ काठमाडौंमा

बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिन तयारी थालेका मुख्यमन्त्री बानियाँ भने बुधबार नै काठमाडौं पुगेका छन् । मन्त्री नियुक्तिबारे नेताहरु छलफल गर्न बानियाँ बुधवार बेलुका नै काठमाडौं गएको उनी निकट सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

उनले आज बिहीवार पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह लगायतका शीर्ष नेताहरुसँग भेटेर मन्त्री नियुक्तिमा कांग्रेसभित्र देखिएको विवाद समाधानको प्रयास गर्ने जनाइएको छ ।

‘मुख्यमन्त्रीज्यू बुधबार बेलुका नै काठमाडौं पुग्नु भएको छ । उहाँले आज पार्टी नेतृत्वसँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नुहुनेछ,’ बानियाँ निकट एक सांसदले अनलाइनखबरसँग भने, ‘अनि उहाँ हेटौंडा फर्किएपछि नयाँ मन्त्रीहरुको नियुक्ति र सपथ टुंगिन्छ ।’ उनका अनुसार मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रिपरिषद विस्तारको योजना बनाएका छन् ।

बहादुर सिंह लामाले गत सोमबार प्रदेशसभा सचिवालयमा अनलाइनखबरसँग कुरा गर्दै सभापति देउवा, महामन्त्री र शेखर कोइरालालगायतका नेताहरुले ३ जनालाई मन्त्री बनाउने सहमति पालना हुने विश्वास दिलाएपछि आफूहरु हेटौंडा फर्किएको प्रतिक्रिया दिएका थिए । लामाले आफूले यसअघि नियुक्त गरेका तर सपथ ग्रहण गर्न नपाएका ३ जनालाई मन्त्री बनाउने सहमतिको आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिएको अनलाइनखबरलाई बताएका थिए ।

लामा पक्षलाई मन्त्री नियुक्त नगर्न बानियाँलाई दबाब

मुख्यमन्त्री बानियाँलाई भने आफ्नै पक्षका सांसदले बहादुर पक्षका ३ जनालाई मन्त्री नियुक्त नगर्न दबाब दिएको छ । पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका बानियाँ निकट सांसद मिनकृष्ण महर्जनले ३ जना मन्त्री नियुक्तिको विषय संसदीय दलका बहुमत सांसदलाई मान्य नहुने प्रतिक्रिया दिएका छन् ।

यो कदमले बानियाँलाई समर्थन गर्ने २२ जना सांसदमाथि अन्याय हुने उनको भनाइ छ । ‘मुख्यमन्त्रीज्यूलाई समर्थन गर्ने २२ जना सांसदलाई मिलाउनु पर्दैन ?, बहादुर पक्षका ३ जनालाई मन्त्री बनाएर २२ जनालाई न्याय हुन्छ त ? यो हामीलाई मान्य हुँदैन,’ महर्जनले अनलाइनखबरसँग भने ।

बानियाँ कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकार ढालेर मुख्यमन्त्री बनेका हुन् । बानियाँकै नेतृत्वमा लामालाई संसदीय दलमा ९ साउनमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

१३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा लामा अल्पमतमा परेसँगै दल नेताको हैसियत गुमाएका थिए । १४ साउनमा रिक्त दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदै निर्वाचित भएका थिए । निर्वाचनमा लामाले १४ मत पाए भने १ मत बदर भएको थियो ।

दलको नेताबाट हटेसँगै पार्टी नेतृत्वको निर्देशनमा लामाले १८ साउन साँझ पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि १९ साउनमा दाबी पेश गर्न आह्वान गरेसँगै बानियाँले कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनी २० साउनमा बागमतीको छैटौं मुख्यमन्त्री नियुक्त भएका थिए ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?