
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीका पत्रकार सौरभ यादवमाथि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि छुरा प्रहार भएको छ।
- यादवमाथि छिन्नमस्ता गाउँपालिका-१ का कृष्णनाथ यादव, राजविराज-११ का राजु यादव र विष्णुपुर गाउँपालिका-७ का राजबाबु झाले आक्रमण गरेको यादवले बताए।
- प्रहरीले घटनामा संलग्न एकजनालाई पक्राउ गरिसकेको र अन्य दुईजनाको खोजी कार्य जारी रहेको छ।
३० साउन, जनकपुरधाम । सप्तरीका पत्रकार सौरभ यादवमाथि छुरा प्रहार भएको छ । यादवमाथि शुक्रबार बिहान १०:४२ बजेतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि बसेर अन्य पत्रकार साथीसित कुरा गरिरहेको बेला छुरा प्रहार भएको हो ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले आफूमाथि चक्कु, बेल्ट, हेलमेटले प्रहार गरेका बताउँदै यादवले किटानी जाहेरी दिएका छन् ।
आफूमाथि छिन्नमस्ता गाउँपालिका-१, वीरपुरका कृष्णनाथ यादव, राजविराज-११ राजु यादव र विष्णुपुर गाउँपालिका-७ का राजबाबु झाले आक्रमण गरेको यादवले बताए ।
दायाँ हातमा छुरा र शरीरमा चोट लागेर नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता रहेका यादव घाइते छन् । घाइते यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीले घटनामा संलग्न एकजनालाई पक्राउ गरिसकेको बताए । अन्य दुईजनाको खोजी कार्य जारी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
पत्रकार महासंघ सप्तरी शाखा र मधेस प्रदेश समितिले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्दै अविलम्ब दोषीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
प्रतिक्रिया 4