
News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–२ का रमेश बुढा र कालीकोट पलाता गाउँपालिकाकी प्रिया बम भारतको उत्तरकाशीमा बाढीपहिरोमा बेपत्ता भएका छन्।
- बाढीपहिरोमा परी बाजुराका २४ जना घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले २ जनाको मृत्यु भएको पुष्टि गरे।
- सरकारले भारत सरकारसँग राहत, उपचार र क्षतिपूर्तिका लागि पहल गरिरहेको छ।
१ भदौ, बाजुरा। बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–२ का रमेश बुढा र कालीकोट पलाता गाउँपालिकाकी प्रिया बम गत वैशाखमा गाउँबाट भागे । प्रेम सम्बन्धमा रहेका २३ वर्षका रमेश र २१ वर्षीया प्रियाले विवाह गरे अनि उतैबाट भारत पुगे ।
भारत उत्तराखण्डको उत्तरकाशी जिल्ला धराली गाउँमा बसेर उनीहरूले ज्याला मजदुरी गरिरहेका थिए । दुवैजना काम गर्ने भएकाले कमाइ राम्रै थियो ।
२० साउनमा धराली गाउँमा अचानक बाढी–पहिरो आयो । दुवैजना पहिरोमा पुरिएर बेपत्ता भए ।
उनीहरूले प्रेमविवाह गरेको ४ महिना मात्र भएको थियो । पैसा कमाएर धुमाधामले विवाह गर्ने अनि वयोवृद्ध बिरामी बुवाआमाको उपचार गर्ने योजना थियो । तर दुवैजनालाई पहिरोले बेपत्ता बनाएको स्थानीय पन्देवा बुढाले बताइन् । ‘ठूलै सपना र योजना बोकेर काम गर्न भारत गए । उतै हराए,’ पन्देवाले भनिन् ।
त्यो दिन धरालीमा धेरै पानी परेको थियो । उनीहरू काममा नगई कोठामै बसेका थिए । बाढीसँगै आएको पहिरोले दुवैजनालाई पुरेर बेपत्ता बनाएको उत्तरकाशीको धरालीमा रमेशसँगै काम गर्ने स्थानीय जनक बुढाले बताए । अहिलेसम्म उनीहरूलाई फेला पार्न सकिएको छैन । भेटिने सम्भावना पनि न्यून रहेको उनले बताए ।
आफू भने त्यस दिन पनि काममा गएकाले बाढी तथा पहिरोबाट जोगिएको जनक बुढाले जानकारी दिए ।
रमेशका बुवा मिमे बुढा, आमा पिउली बुढा दुवैजना दमका बिरामी छन् । छोरा–बुहारीले कमाएर पैसा पठाउलान् अनि उपचार गरौंला भन्ने आश रहेका बावुआमा निराश भएका छन् । छोराबुहारी बेपत्ता भएको खबरले उनीहरूमा पीडामाथि पीडा थपिएको छ ।
उक्त बाढी–पहिरोमा परी बाजुराको सोही पालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ का ३६ वर्षीय प्रकाश बुढा, २४ वर्षीया पछना बुढा, २७ वर्षीय धन बुढा, २८ वर्षीय महेन्द्र महतारा र जयन्द्र बुढा छन् ।
त्यस्तै वडा नम्बर २ का ४९ वर्षीय पसे बुढा, २९ वर्षीय दिनेश बुढा, ४२ वर्षीय मानबहादुर बुढा, ३२ वर्षीय रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, वीर बुढा, वर्षनी बुढा घाइते भएका छन् ।
त्यसैगरी, ७ महिने बालिका अपसरा बुढा, ३ वर्षका बादल बुढा, २९ वर्षीय मादप महतारा, विपना बुढा, ३४ वर्षीय दिपेन्द्र महतारा, ३० वर्षीय मानबहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले पालिकाका २ जनाले ज्यान गुमाएको बताए । राहत, घाइतेको उपचार र क्षतिपूर्तिका लागि नेपाल सरकार हुँदै भारत सरकारसँग पहल भइरहेको उनले बताएका छन् । काठमाडौं आएर परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय धाइरहेको रोकायाले बताए ।
प्रतिक्रिया 4