
News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ।
- टेरेन्स स्ट्याम्पले 'सुपरम्यान' फ्रान्चाइजीमा जनरल डजको भूमिका निर्वाह गरेका थिए र १९६२ मा अस्करमा मनोनित भएका थिए।
- उनले सन्यासी जीवन अपनाएर कृष्णमूर्ति आश्रममा बसेका थिए र उनको मृत्युको कारण खुलाइएको छैन।
लस एन्जलस । गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे ।
स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता र लेखक हुन् जसको उत्कृष्ट कामले हामी सबैको जीवनमा अमिट छाप छोड्नेछ ।’
‘उनको कला र कथाले धेरै वर्षसम्म मानिसलाई प्रेरणा दिनेछ । हामी यो कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं’ नोटमा उल्लेख छ ।
स्ट्याम्पको प्रेम जीवन सधैं हेडलाइनमा रह्यो । उनले अभिनेत्री जूली क्रिस्टी र सुपरमोडल जीन स्रिम्टनलाई डेट गरे ।
जीनसँग सम्बन्धविच्छेद भएपछि टेरेन्स भारत पुगे । कृष्णमूर्ति आश्रममा बस्न थाले । १६ नोभेम्बर १९७६ मा ओशोको सल्लाहमा सन्यासी बने ।
स्ट्याम्पको मृत्युको कारण खुलाइएको छैन । टेरेन्स १९६२ को फिल्म ‘बिली बड’को लागि अस्करमा सर्वश्रेष्ठ सहायक अभिनेतामा मनोनित भए ।
फिल्म ‘कलेक्सन’को लागि कान्स फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्रदान गरियो । सन्् १९६२ को उक्त फिल्मको लागि उनले नव–अभिनेताको रुपमा गोल्डेन ग्लोब पुरस्कार प्राप्त गरे ।
सन् २००२ मा ६४ वर्षको उमेरमा टेरेन्सले २९ वर्षीया एलिजाबेथ ओ’रोर्कसँग विवाह गरे । यद्यपि, ६ वर्ष पछि २००८ मा दुईको सम्बन्धविच्छेद भयो ।
सन् १९७८ मा, टेरेन्सले पहिलोपटक रिचर्ड डोनर निर्देशित फिल्म ‘सुपरम्यान’मा जनरल डजको भूमिका निर्वाह गरे । फिल्ममा क्रिस्टोफर रिभ्सले मुख्य भूमिकामा अभिनय गरे ।
यसपछि, टेरेन्स सन् १९८० को दशकको ‘सुपरम्यान २’ र त्यसपछि सन् २००६ को ‘सुपरम्यान २’ फिल्म द रिचर्ड डोनर कटमा देखा परेका छन् ।
टेरेन्सलाई अन्तिम पटक सन् २०२१ को फिल्म ‘द लास्ट नाइट इन सोहो’मा देखिएको थियो ।
प्रतिक्रिया 4