
३ भदौ, काठमाडौं । संसद् भवन निर्माणको काममा ढिलाइ भएसँगै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चासो देखाएका छन् ।
उनले कार्यतालिका अनुसार काम गर्नसमेत निर्देशन दिए । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमा बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।
सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपति सहित सबै नागरिकको चासो जोडिएको भन्दै उपप्रधानमन्त्री सिंहले भने, ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्र्याक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’
उनले संसद् भवनकै कारण मन्त्रालयको पर्फर्मेन्समा प्रश्न उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिए ।
आजको बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारे जानकारी गराए ।
साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानिटरीको काम, आन्तरिक सजावट, कन्फ्रेन्सिङ काम लगायत बाँकी रहेको उनले बताए ।
निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्यो अनुसार काम नगरेको भन्दै उपप्रधानमन्त्री सिंहले असन्तुष्टि जनाए ।
निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिका अनुसार काम अघि बढाउन प्रतिबद्ध रहेको बताए । संसद् भवन निर्माण गर्ने अन्तिम म्याद आगामी पुस अन्तिम सातासम्म छ ।
प्रतिक्रिया 4