
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले फिल्म \'माग्ने राजा\' प्रदर्शनअघि मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगेर ८० वर्षीय बुवाबाट आशीर्वाद लिएका छन्।
- केदारले बुवासँग आफ्नो पारिश्रमिकबारे कुरा गरेको र बुवाले \'धेरै कर तिर्ने कलाकार बनेछस्\' भनेको बताए।
- केदारले दशैंमा \'माइतीघर\' र तिहारमा \'जेरी अन टप\' प्रदर्शन तयारीमा रहेको जानकारी दिएका छन्।
पितृ देवो भवः अर्थात् पिता देवता समान हुन् ।
अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ संस्कृत श्लोकको यो मर्मलाई पछ्याउँछन् । ‘मेरी बास्सै’देखि ‘माग्ने राजा’सम्मको विन्दुसम्म आइपुग्दा केदारले यो श्लोकलाई शिरोपर गर्दै आएका छन् ।
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को प्रचारप्रसारको चटारोबाट फुर्सद निकालेर उनी यतिबेला मकवानपुरको हात्तीसुँढेस्थित पुर्ख्यौली घर पुगेका छन्, जहाँ उनका ८० वर्षीय बुवा कृष्णप्रसाद घिमिरे सपरिवार बस्दै आएका छन् ।
केदार अहिले त्यही गाउँ पुगेका छन् जहाँ उनले फिल्म सफलताको लागि वयोवृद्ध बुवाबाट आशीर्वाद लिए । हरेक पटक, फिल्म रिलिजअघि उनी बुवाको आशीर्वाद लिन पुर्ख्यौली थलो पुग्छन् । ‘माग्ने राजा’अघि पनि केदार गाउँ पुगे र बुवाको आशीर्वाद लिए ।
‘हामी घरपरिवार छाडेर दौडधुप गरिरहेका हुन्छौं । आशीर्वाद लिएपछि फर्किंदा रिलिफ पनि हुन्छ’ केदारले अनलाइनखबरसँग भने, ‘म हरेक रिलिजअघि घरमा आउँछु र बुवाको आशीर्वाद लिन्छु । यसले ममा उत्साह र ऊर्जा दिन्छ ।’
प्रचारको चटारो छाडेर केदार बुधबार बिहानै हात्तीसुँढे पुगेका हुन् । ‘पोहोर पनि आएँ । परार पनि आएँ । फिल्म रिलिजअघि आउँछु । कुनैबेला बुवालाई फिल्म हेटौंडमा हेराउँछु, कुनैबेला काठमाडौंमा । माग्ने राजा कता देखाउने, निधो गर्न बाँकी छ’ उनले भने ।
घर पुग्ने वित्तिकै केदारलाई यसपटक बुवाले उनको पारिश्रमिकबारे कुरा सुनेको बताए । ‘धेरै कर तिर्ने कलाकार बनेछस् भन्नुभयो’ केदारले बुवासँगको भेटको किस्सा सुनाए ।
साथै, आफूले पुरा गर्न नसकेको कलाकारिताको सपनालाई छोराले पुरा गरेकोमा समेत कृष्णप्रसाद औधी खुसी देखिए ।
‘धेरै खुसी हुनुहुन्छ बुवा । १०/१२ वर्षको उमेर छँदा श्लोक गाउनुहुन्थ्यो । त्यतिबेला विवाह व्रतबन्धमा गएर श्लोक भन्ने चलन थियो’ उनले सम्झिए, ‘कलाकारितामा बुवाले पूरा गर्न नसकेको सपना तैंले पुरा गरिस् भनेर खुसी उहाँमा रहेछ ।’
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई लिएर आफू आशावादी रहेको केदारले बताए । यसपछि दशैंमा उनको फिल्म ‘माइतीघर’ र तिहारमा ‘जेरी अन टप’ प्रदर्शन तयारीमा छन् ।
प्रतिक्रिया 4