+
+
Shares

‘शान्ति सुरक्षा बलले मात्र होइन, विवेकले कायम गर्ने हो’

महिलाले के गर्न सक्दैनन् ? अनुमानहरू निराधार ठहर भइसकेका छन् । अर्को एउटा कस्तो सोच छ भने महिला भनेको सुरक्षा लिने वर्ग, पुरुष त सुरक्षा दिने वर्ग । तर, अहिले अलिकति परिवर्तन त भएको छ ।

सपना मल्ल प्रधान, न्यायाधीश, सर्वोच्च अदालत सपना मल्ल प्रधान, न्यायाधीश, सर्वोच्च अदालत
२०८२ भदौ ६ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिलाहरू इमोसनल हुन्छन् भनेर भन्छन्, गर्नै सक्दैनन् भन्छन् । तर, अहिले म यस्तो ठाउँमा छु कि धेरै पुरुषहरू मेरो अगाडि आएर रोएको देखेको छु । के पुरुषहरूलाई रुनै मन लाग्दैन र ?
  • थापाथलीको चोकमा मोटरसाइकल पछ्याउँदै गएर महिला ट्राफिक प्रहरीले पुरुष ड्राइभरलाई उत्तरदायी बनाएको उदाहरण छ । महिलाले के गर्न सक्दैनन् ?
  • प्रहरीमा महिलाले सीआईबी हाँके, उपत्यका प्रहरी हाँके, एआईजीसम्म  भए । सबै ठाउँ हाँकेर आफूलाई स्थापित गरे । तर आईजीपी बन्ने मौका कहिले पाउने हो ?

प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने निकाय बुझिन्छ । अझ प्रहरी हाम्रो परिवारको (न्यायपालिकाको) सदस्य पनि हो । किनभने, प्रहरी नै न्यायको पहिलो ढोका हो । कुनै पनि अपराधमा न्याय दिलाउने द्वार पनि हो । तर महिलाहरू यो द्वारबाट, यो संस्थाबाट, यो संरचनाबाट लामो समय एउटा सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए ।

किन बहिष्कृत थिए ? हुन त भन्नुहोला – विं.सं. २००८ सालमै महिलाको प्रवेश भएको थियो । तर, यस अर्थमा बहिष्कृत थिए कि, समाजमा एकदमै गहिरो जरो गाडिएका यस्ता सोचहरू थिए, जुन लैङ्गिक लघुताभासमा आधारित थिए । त्यसबेला के सोचिन्थ्यो भने सुरक्षामा, सेनामा, एउटा कानुन कार्यान्वयन गर्ने निकायमा अथवा चेन अफ जस्टिस, न्यायका सिक्रीहरूमा महिलाहरू सक्दैनन् ।

महिलाहरू सक्षम छैनन् । महिलाहरूले गर्न सक्दैनन् । अझ जब सुरक्षा फौज र प्रहरीको कुरा आउँछ, तब महिलाको त बलै छैन । अनि यो व्यक्तिगत क्षमतालाई नहेरिकन एउटा जेनराइज गरेर एउटा सामूहिक रुपमा चाहिँ सक्दैनन् भन्ने अनुमानबाट हामीहरू अगाडि बढेका थियौँ ।

अनुमानको कुरा कस्तो थियो भने शारीरिक रुपमा पनि असक्षम, भावनात्मक रुपमा पनि, इमोसनल्ली पनि धेरै कमजोर हुन्छ भन्ने सोच थियो । परिवर्तन त धेरै भएको छ तर पूर्ण परिवर्तन भएको छैन । अनि प्रश्न मलाई गर्न मन लाग्छ ।

के साँच्चै महिलाहरू शारीरिक रुपमा कमजोर हुन्छन् ? अनि के साँच्चै सबै पुरुषहरू चाहिँ शारीरिक रुपमा बलियो हुन्छन् ? के पुरुष भित्र अन्तरस्थिति छैन ?

महिलाभित्र अहिले म अगाडि मैले मिरा चौधरी (पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक) लाई देखिरहेको छु । उहाँ जस्तो ड्याङ ड्याङ हिँडेर तीन चार जना पुरुषलाई ढलाउन सक्ने साहस राख्ने व्यक्तित्वहरू पनि त हामीसँग हुनुहुन्छ । अर्थात्, बल एउटा असक्षमको बहिष्करणको एउटा कारक तत्व थियो ।

अनि महिलाहरू इमोसनल हुन्छन् भनेर भन्छन्, हैन ? अनि गर्नै सक्दैनन् भन्छन् । तर, अहिले त म यस्तो ठाउँमा छु कि धेरै पुरुषहरू मेरो अगाडि आएर रोएको पनि देखेको छु ।

पुरुषहरूलाई रुनै मन लाग्दैन ? पुरुषहरूमा इमोसन नै हुँदैन ? भावना नै हुँदैन ? हुन्छ होला जस्तो लाग्छ नि । कि हुँदैन ? तर त्यो सोचहरू एकातिर रह्यो । र, अर्को चाहिँ सुरक्षा फौज भन्नासाथै हामीले ढुङ्गै ढुङ्गाले बलै बलले कुटेर चाहिँ शान्ति कायम गर्ने भन्ने बुझ्यौं । बुद्धि विवेक प्रयोग शान्ति कायम गर्ने भन्ने सोचनौं ।

शान्ति सुरक्षामा बल प्रयोग मात्र सबैथोक होइन

थापाथलीको चोकमा मोटरसाइकल पछ्याउँदै गएर महिला ट्राफिक प्रहरीले पुरुष ड्राइभरलाई उत्तरदायी बनाएको उदाहरण छ । महिलाले के गर्न सक्दैनन् ?

अहिले त अपराधमा प्रविधि पनि प्रयोग हुन्छ । केही समयअघि इरानमा अमेरिकाले आक्रमण गर्दा छेप्यास्त्र प्रयोग गर्‍यो । अर्थात्, अहिले अपराध वा कुनै वारफेयरमा प्रविधि प्रयोग हुन्छ, बुद्धि र विवेक पनि प्रयोग हुन्छ ।

अहिले त बायोकेमिकल वारको युगमा छौँ । त्यस्तोमा हामी प्रहरी चाहिँ कस्तो परिकल्पना गरिरहेका छौं ? सुरक्षा भन्नाले कस्तो सुरक्षाको एउटा सोचमा हामी छौँ ? प्रहरी काममा अथोरिटेटिभ हुने होला । पीडितसँग सहयोगी होला । अनि शान्ति सुरक्षाको लागि रणनीतिक प्रहरी होला ।

समाजलाई कसरी सुरक्षित राख्ने भन्ने खाल्को प्रहरी नै होला । अहिले  समग्र न्याय नै कसरी अगाडि बढिराखेको छ भने प्रतिदण्डात्मक होइन, पुर्नर्स्थापकीय न्यायको हामी परिकल्पना गर्दैछौँ ।

भर्खरै गृहमन्त्रीज्यूले मलाई कानमा भन्दै हुनुहुन्थ्यो, काभ्रेमा बसुन्धरा (खड्का, एसपी) जीले बाढी आउँदाखेरी गरेको व्यवस्थापनबाट म कति प्रभावित भएँ भन्ने कुरा ।

अर्थात्, समुदायमा विश्वास निर्माण गर्ने कुरामा पनि जहाँ नारीका पाइलाहरू टक्क अडिन्छ, त्यहाँ उनीहरू निर्भिक र निर्धक्क हुन्छन् । जब नारीका स्वरूप धर्तीमा मिसिएर नेपाल प्रहरी बन्दछन् तब इतिहास पनि गर्वले मुस्कुराउँछ । त्यहाँ शारीरिक बलसँग त केही जोडिएको पनि छैन ।

महान्यायाधिवक्ताले पनि भन्नुभयो कि पहिले नीति, कानुनहरू, एउटा संस्थागत सोचहरू नै महिलाको समावेशिताको लागि, महिलालाई अगाडि लैजानको लागि अवरोध गर्ने किमिसको थियो ।

अब त संविधानले नै कुनै पनि विभेद सहँदैन र महिलाको समानुपातिक सहभागिताको कुरा पनि गरिसकेको छ । धेरै कानुनहरू परिवर्तन भइसकेका छन् । अहिले नीति पनि आएको कुरा तपाईंहरू आफैंले प्रस्तुत पनि गरिसक्नु भएको छ ।

एउटा सहज वातावरणहरू पनि भइसकेको छ । अनि अहिले आधुनिक र चुनौतिपूर्ण भनिएको पेशामा पनि महिलाहरू आइसकेका छन् । अहिले मैले अरुको कुरा नगरौँ महिला प्रहरीकै कुरा गर्दाखेरी सीआईबी पनि हाँके ।

महिला सेल मात्र हाँकेको कुरा मैले गरिराखेको छैन । मेट्रो (उपत्यका प्रहरी कार्यालय) पनि हाँकेका छन् ।

म थापाथलीमा बस्छु । थापाथलीको चोकमा महिला प्रहरीले ट्राफिकको व्यवस्थापन गरेको र मोटरसाइकलमा पछ्याउँदै गएर तैपनि एउटा पुरुष ड्राइभरलाई उत्तरदायी बनाएको उदाहरण हामीसँग छ । महिलाले के गर्न सक्दैनन् ? के गरेर देखाएका छैनन् ?

नेपाल प्रहरीकी संज्ञा मल्ल २०२१ मा संयुक्त राष्ट्र संघको प्रहरीमा सबैभन्दा उत्कृष्ट प्रहरी भनेर स्थापित भइन् । नेपालको नै गर्व गर्ने क्षणहरू छन् । इन्टरनेसनल क्रिमिनल कोर्टमा कविता निरौला र रिता प्रधान ‘बेस्ट इन्भेस्टिगेटर’ भएको पत्र मेरो हातमा पनि प्राप्त भएको थियो ।

महिलाले के गर्न सक्दैनन् ? अनुमानहरू निराधार ठहर भइसकेका छन् । अर्को एउटा कस्तो सोच छ भने महिला भनेको सुरक्षा लिने वर्ग, पुरुष त सुरक्षा दिने वर्ग । तर, अहिले अलिकति परिवर्तन त भएको छ ।

म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अब यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरूले महिलाबाट सुरक्षा लिनुस् । तपाईंहरू उदाहरण बनिदिनुस् ।

प्रहरीमा महिलाले सीआईबी हाँके, उपत्यका प्रहरी हाँके, एआईजीसम्म भए । सबै ठाउँ हाँकेर आफूलाई स्थापित गरे । तर आईजीपी बन्ने मौका कहिले पाउने हो ?

महिलाको फरक भूमिका

नेपाल प्रहरीमा ० बाट १२.४१ प्रशित हुनु भनेको ठूलो उपलब्धि हो । न्यायाधीशको संख्या र महिला प्रहरीको संख्या अहिले त्यस्तै त्यस्तै रहेछ । निजामती सेवामा महिलाहरू सचिव हुनुहुन्छ । उहाँहरूलाई हेर्दाखेरी अथवा हाम्रो सरकारी वकिलमा महिलाको संख्या कम देखिन्छ ।

तर, खुसीको कुरा अहिले न्यायपालिकामा सक्षम र सबल नयाँ महिला अधिकृतहरूको उपस्थिति बाक्लो हुँदैछ । त्यो हाम्रो लागि ठूलो आशा हो । हाम्रो ठूलो सपनाहरू साकार गर्ने अवसर पनि हो ।

उनीहरूले हामी समान रुपमा काम गर्न सक्छौँ भनेर भनेका छन् । तर समान हुँदाहुँदै पनि महिलाहरू फरक छन् । महिलाहरू कहाँ फरक छन् भने उनीहरूको प्रजनन स्वास्थ्यको अवस्थाहरू फरक छ । प्रजनन् स्वास्थ्यको भूमिकाहरू फरक छ ।

तर, महिलाको प्रजनन् स्वास्थ्यको अवस्था र भूमिका यो चाहिँ संविधानले मौलिक अधिकारको रुपमा मान्यता दिएको छ । किनकि यो भूमिका भनेको राज्यको भूमिका हो । सामाजिक भूमिका, उसको व्यक्तिगत भूमिका मात्र होइन । राज्यलाई राज्य बनाउन नागरिक चाहिन्छ । सृष्टिको निरन्तरता, निरन्तर कर्ताको रुपमा महिला हो, आमा हो महिला । आमाबिना मानव संसारको निरन्तरता हुन सक्दैन ।

त्यो भूमिकालाई हामीले काम गर्ने ठाउँमा एकदमै मान्यता दिएर नीतिहरू अझ बढी गम्भीर, अझ बढी संवेदनशील चाहे त्यो बच्चाको हेरचाहको लागि होस्, चाहे गर्भधारणको अवस्थामा होस्, त्यो वातावरण बनाउनको लागि हामी लाग्नुपर्छ । र, यो विषयमा सम्मेलनमा विस्तृत छलफल पनि छ भनेर मलाई खुसी पनि लागेको छ ।

अदालतबाट हामीले एउटा अध्ययन गरेका थियौं, त्यसले के देखायो भने न्यायमा धेरै पीडितहरू महिला हुँदा रहेछन् । जहाँ–जहाँ हिंसाका कुराहरू हुन्छन् त्यहाँ महिला हुन्छन् । अनि उनले एकदम असहज अनुभूति गर्छिन् रे त्यहाँ आउँदाखेरी किनभने त्यहाँ सबै पुरुषै पुरुष कर्मचारी छन् ।

पीडितलाई न्यायको ढोका घच्घच्याउनलाई असहज अनुभूति हुन्छ भने त्यहाँ पनि महिलाको आवश्यकता छ । तर महिला मात्र भएर पुग्दैन । महिला भित्र पनि पितृसत्ता छ भनेदेखि त्यो काम लाग्दैन । हामीलाई त्यो पुरुष पनि चाहिन्छ जो लैङ्गिक संवेदनशील छन् र त्यो लैङ्गिक संवेदनशीलता पुरुषहरूमा पनि हुन आवश्यक छ ।

तेस्रो कुरा चाहिँ काम गर्ने ठाउँ हतोत्साही हुने खालको हुन भएन । काम गर्ने ठाउँलाई स्वस्थ र सुरक्षितको सुनिश्चितता कसरी गर्ने भन्ने विषय चाहिँ महत्वपूर्ण छ ।

हामीले एउटा फैसला पनि गर्यौँ, नेपाली सेनाको सन्दर्भमा । सेनामा एकजना हाकिमको कुचीकार महिलासँग सम्बन्ध हुन्छ । अनि दुईटै उमेर पुगेको मेरो सहमतिको सम्बन्ध भनेर बयान आयो । र त्यसमा सर्वोच्च अदालतले के भन्यो भन्दाखेरी होइन, एउटा कुचीकार महिलाले आर्मीको हाकिमलाई स्वतन्त्र सहमति दिन सक्दैन । त्यो पनि चेन अफ कमान्डमा ।

त्यो हतोत्साही हुने वातावरणको कुरा थियो । एउटा यौनजन्य व्यवहारको कुरा थियो । त्यसैले काम गर्नका लागि अरु सुरक्षित वातावरण र प्रजनन् स्वास्थ्यको कारणले आवश्यक भूमिकालाई कसरी हेर्ने बेहोर्ने विषय पनि हाम्रो लागि धेरै महत्वपूर्ण छन् ।

हामी महिला सबै ठाउँमा पुगे भन्छन्, तर महिला त निर्णायक ठाउँमा पनि हुनुपर्यो नि । प्रहरीमा एआईजीसम्म त भए । तर अहिले त्यो एआईजी पनि भ्याकुम देखिएको छ । हाँक्न त सबै ठाउँ हाँके । हाँकेर आफूलाई स्थापित गरे । तर आईजीपी बन्ने मौका कहिले पाउने हो ?

अझ निर्णायक तहमा माथि महिलाहरूलाई कसरी पुगाउने हो? त्यो ग्लास सिलिङलाई कसरी ब्रेक गर्ने हो ?

अन्तिममा, हामी सम्मेलनहरू गरेर प्राप्त उपलब्धिबारे समीक्षा गरिरहेका छौं, तर सँगसँगै यसलाई संस्थागत गर्न, यसलाई संरक्षण गर्नको लागि आवश्यक वातावरणहरू कसरी निर्माण गर्ने ? तपाईंले सामना गर्नुपर्ने चुनौतीहरू के छ ? त्यसलाई खुलेर अभिव्यक्त गर्नुपर्छ । अनि सम्बोधनको बाटोहरू तपाईं आफैले खोज्ने र त्यो बाटोहरू चाहिँ निर्णायक तहमा दिनुपर्छ ।

तपाईंहरू यो सम्मेलनमा सफल हुनुस् । तपाईंहरूको चुनौतीहरू के छ, हामीसँग पनि सेयर गर्नुस् । समाधानको लागि हामी सबै तपाईंसँग छौँ ।

(सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले प्रथम महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार गरेको सम्बोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?