
News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि रूटबारे प्रधानमन्त्री ओलीको भारत भ्रमणमा छलफल गर्ने बताएका छन्।
- मन्त्री पाण्डेले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालन गर्न भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय र क्वारेन्टाइन स्थापना गर्ने योजना रहेको जानकारी दिए।
- सरकारले भैरहवा विमानस्थलमा फ्युलमा छुट र म्यानपावर कम्पनीहरूलाई आकर्षित गर्ने लगायतका काम गरिरहेको मन्त्री पाण्डेले बताए।
६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रूटहरूबारे छलफल गर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पाण्डले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रूटका विषयमा छलफल गर्ने बताएका हुन् ।
यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रूटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उनले जिकिर गरे ।
‘हामीले प्राप्त गर्नुपर्ने रूटका विषयमा बाहिर र भित्र आवागमन दुवैका लागि रूटहरू आवश्यक पर्दछ । केबल सिमरानेरको रुटमात्रै आउने जाने छ ।’
उनले थपे, ‘यो विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रूटका बारेमा स्पष्ट हुने, काठमाडौं नआइकनै मानिसहरू विमानस्थलमा उत्रिने, उड्ने र भैरहवा विमानस्थललाई संसारभरका बुद्ध धर्मावलम्बीहरूलाई काठमाडौं नआइकनै आउन, जानसक्ने व्यवस्था मिलाउने गरी काम गरिरहेका छौँ ।’
भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल सुचारू गर्न यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको उनले जानकारी दिए ।
विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन लगायत आवश्यक सबै कुराहरू उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको मन्त्री पाण्डेले जानकारी दिए ।
‘भिसा सेन्टर त्यहीँ स्थापना हुनुपर्ने, अध्यागमन स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन त्यहीँ राख्ने, स्वास्थ्य परीक्षणका लागि आवश्यक कुरा लिएर जाने, म्यानपावर कम्पनीहरूलाई पनि आकर्षित गर्ने, सरकारले दिने विभिन्न खालका छुटहरु, फ्युलमा छुट लगायतका काम भइरहेका छन्,’ उनले भने ।
प्रतिक्रिया 4