
६ भदौ, पोखरा । नेपाली कांग्रेसका मध्यबिन्दु नगर सभापति दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने मध्यबिन्दु नगरपालिकामा २०७१ सालयता २ पटक सभापति निर्वाचित भएका भण्डारी शुक्रबार एक कार्यक्रमबीच रास्वपा प्रवेश गरेका हुन् ।
२०५४ सालदेखि नै तरुण दलसँग जोडिएर कांग्रेसको राजनीति थालेका भण्डारीले ५ वर्षअघि आफ्नै घरमा मध्यबिन्दु नगरपालिका कांग्रेस पार्टी कार्यालय स्थापना गरेका थिए ।
आफ्नै घरमा कार्यालय राखेका भण्डारीले अहिले त्यहीँ कांग्रेससँग असन्तुष्टि जनाउँदै रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमले उनलाई एक कार्यक्रम आयोजना गरी पार्टी प्रवेश गराए । भण्डारीलाई केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारी दिइएको गौतमले जानकारी दिए ।
लमो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेको तर त्यही पार्टी भने आफ्नो विचार र नीतिबाट विचलित भएकाले आफ्नै घरमा कार्यालय भएको पार्टी छोडेर रास्वपा रोजेको भण्डारीले बताए ।
‘५ वर्षदेखि मेरै घरमा कार्यालय छ । तर, पार्टी चाहिँ अब मेरो घर रहेन । हिजोसम्म नगर सभापति थिएँ, अब रास्वपा भएको छु,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘कांग्रेस जनताको सुख-दु:खसँग जोडिन सकेन । पार्टीमा गुटबन्दी छ । राम्रा मान्छेभन्दा नेताहरूले आफ्ना मान्छेहरूलाई च्याप्छन् ।’
माथिदेखि तलसम्मै नेताहरूको चरित्र नफेरिएपछि आफूले नै पार्टी फेरेको भण्डारीको तर्क छ । उनी नेपाली सेनाको जागिर छोडेर १० वर्ष अफगानिस्थान बसेर नेपाल फर्किएका हुन् ।
भण्डारी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति ( काउन्सिल ) को सदस्यसमेत हुन् । नारायणी सह लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षसमेत रहेका भण्डारीले राइनो क्लबको नेतृत्वसमेत गरेका छन् ।
प्रतिक्रिया 4