+
+
Shares

अमेरिकी दूतावासको आयोजनामा ‘द च्यालेन्जर्स’को विशेष प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते २२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी दूतावासले काठमाडौंमा नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को विशेष प्रदर्शन गरेको छ।
  • निर्देशक गुरुङले भने, ‘हिमालय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन, आरोहणका कथा र जीवनशैलीलाई रियालिटी शोमा देखाउन खोजेका छौं।’
  • शोमा नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिनको पदयात्रा र साहसिक गतिविधि समेटिएको छ।

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा बुधबार नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को विशेष प्रदर्शन गरिएको छ ।

दरबारमार्गस्थित अक्टेभ रेस्टुरेन्ट एण्ड लाउन्जमा आयोजित समारोहमा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर लगायतका दूतावासका अधिकारी सहभागी थिए । विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, फिल्ममेकर, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायका दर्शक सहभागी रहे ।

गतवर्ष न्यूयोर्कको टाइम्स स्क्वायरस्थित ऐतिहासिक एएमसी थिएटरमा प्रिमियर गरिएको यो शोलाई गतवर्ष नै नेपालमा समेत प्रिमियर गरिएको थियो । अमेजन प्राइमसहित युट्युबमा समेत स्ट्रिमिङ भैरहेको श्री गुरुङ निर्देशित यो शोले विश्वभर चर्चा कमाएको छ ।

निर्माता तथा निर्देशक गुरुङ ‘युएस एक्सचेन्ज’ कार्यक्रमका पूर्वछात्र (आलुम्नाई) समेत हुन् । फिल्म स्क्रिनिङपछि नेपालका सिर्जनात्मक उद्योगले विश्वव्यापी साझेदारी कसरी निर्माण गर्न सक्छन् र युवाका लागि अवसर कसरी सिर्जना गर्न सक्छन् भन्ने बारेमा छलफल समेत भयो ।

फिल्म स्क्रिनिङपछि बोल्दै सार्वजनिक मामिला प्रमुख हार्करले यस रियालिटी शोले नेपालको पर्यटन प्रवर्धन मात्र नभएर नेपाली युवाको क्षमतालाई विश्वभर विस्तार गर्न भूमिका खेलेको बताए । हिमालय क्षेत्रमा परेको जलवायु संकटको असरको कुरादेखि कन्टेन्ट क्रिएटरमार्फत शोले साहसिक पर्यटनलाई प्रकाशमा ल्याएको बताए ।

सो अवसरमा हार्करले निर्देशक गुरुङसँग शोको अवधारणा, निर्माणको अनुभव, प्रि-प्रोडक्सनदेखि पोस्ट-प्रोडक्सनको विषयमा चर्चा गरे । सहभागी दर्शकले पनि निर्देशक गुरुङसँग सवालजवाफ गरेका थिए ।

हार्करले नेपाल मात्र नभएर हिमालय चिनाउने शो निर्माण गरेकोमा निर्देशक गुरुङ बधाईका पात्र रहेको बताए । उनको यस्तो साहसिक कार्यले युवाहरूलाई रचनात्मक कार्यतर्फ लाग्न प्रेरित समेत गर्ने हार्करले बताए ।

हार्करले सो अवसरमा शोको अवधारणाबारे जिज्ञासा राखेका थिए । जवाफमा निर्देशक गुरुङले भने, ‘खासमा हिमालय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन, हिमाल आरोहणका कथा, आरोहीको संघर्ष, पर्वतारोहणका दुःख, त्यहाँको जीवनशैलीलाई रियालिटी शोमा देखाउन खोजेका छौं ।’

उनले अघि भने, ‘नेपाल चिनाउन नेपालीले यति धेरै मिहिनेत र लगानी गरेर बनाइएको यो अहिलेसम्मकै ऐतिहासिक रियालिटी शो हो । यसले नेपालको पर्यटन उद्योगमा अमूल्य योगदान दिने अपेक्षा गरेका छौं ।’

अमेरिकी दूतावासका अन्य अधिकारीले पनि फिल्म निर्माणको प्रक्रियाबारे गुरुङसँग अन्तक्रिया गरे । यसबाहेक, अन्य दर्शकले पनि फिल्मबारे चासो राखे ।

नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन गरेको पदयात्रा तथा साहसिक गतिविधिलाई शोमा समेटिएको छ । १० करोड रुपैयाँ हाराहारी लागत रहेको बताइएको यो शोको छायांकन ‘वर्ल्ड भ्लग च्यालेन्ज प्रालि काठमाडौं’ को ब्यानरमा २०७८ कात्तिकमा लुक्लादेखि सगरमाथा आधारशिविरसम्म सुटिङ भएको समेत गुरुङले उक्त अवसरमा बताए ।

११ जना भ्लगरलाई शोमा विश्व चर्चित आरोही कामीरिता शेर्पाले प्रमुख प्रशिक्षकका रूपमा गाइड गरेका थिए । सो अवसरमा पर्वतारोही मिङ्मा डेभिड शेर्पा समेत थिए, जसले यो शोमा एक्सपिडिसन लिडरको भूमिका निर्वाह गरे ।

नेपालबाट दुई भ्लगर विश्वास राई र निशा खालिङ, भारतबाट एमटीभी रोडिजका विजेता आशिष भाटिया, इन्डिया भ्लग च्यालेन्ज विजेता क्यामरावालेभाइ र अटो भ्लगर विशाखा फुलसुंगेले प्रतिस्पर्धा गरेका थिए । अमेरिकाको सबैभन्दा ठूलो युट्युब हाइकर क्रैग एडम्स र ड्रोन पाइलट स्टिल डेविस, थाइल्यान्डका नाथन बार्टलिंग, लुक मी, फिलिपिन्सका विल दासोविच र कोलम्बियाका क्रेयटर जुनेन्स वेलेजले शोमा प्रतिस्पर्धा गरेका थिए ।

अमेरिकी दूतावासले बेला-बेलामा कन्टेन्ट क्रिएटर मेलादेखि फिल्म प्रदर्शन र हिपहप तथा कला कार्यशाला पनि आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?