
१२ भदौ, काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवनको अगाडि सयौं प्रदर्शनकारीले सांसदहरूको तलब र सुविधाविरुद्ध प्रदर्शन गरेका छन्।
यो साता भएको यो दोस्रो ठूलो प्रदर्शन हो। यी प्रदर्शनले राष्ट्रपति प्राबोवो सुबियान्तोको सरकारप्रति बढ्दो असन्तुष्टि देखाउँछ । सुबियान्तोले आफ्नो कार्यकाल सुरु गरेको एक वर्ष पनि भएको छैन।
प्रदर्शनकारीहरूले सांसदहरूले पाउने तलब, भत्ता र सुविधा आवश्यकभन्दा बढी रहेको आरोप लगाएका छन् । उनीहरूले देशभरका मजदुरहरूको तलब वृद्धि नगरेर सांसदहरूको तलब भत्ता बढाइएकोमा आपत्ति प्रकट गरिरहेका छन् ।
मजदुर संगठनहरूले सुरु गरेका प्रदर्शनहरूमा न्यूनतम तलब वृद्धि र कर घटाउनुपर्ने माग राखेका छन्।
पछि विद्यार्थीहरू पनि विरोधमा सहभागी हुन थालेका छन् । उनीहरूले राजनीतिज्ञहरूको विलासीपूर्ण जीवनशैलीप्रति असन्तोष व्यक्त गरिरहेका छन् ।
बीबीसीका अनुसार, बढ्दो प्रदर्शनहरूलाई लक्षित गर्दै राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
गत सोमबार प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरी भीडलाई तितर-बितर गरेको थियो र ३०० भन्दा बढीलाई पक्राउ गरेको थियो।
सांसदहरूले आफ्ना भत्ता बढाउने प्रयास गरिरहेका छन्, तर मजदुरहरूको तलब वृद्धि गर्ने मागलाई बेवास्ता गरिएको प्रदर्शनकारीहरूले दोहोर्याइरहेका छन् ।
प्रतिक्रिया 4