
१६ भदौ, काठमाडौं । निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियाबारे प्रतिनिधिसभाको निर्णय राष्ट्रिय सभामा उल्ट्याउने प्रयास जारी छ ।
यही विषयमा कुरा नमिल्दा आइतबार साँझ सवा ७ बजेसम्म बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पुन: बस्ने गरी स्थगित भयो । आज बिहान साढे ११ बजे बस्ने बैठकमा यी सहितका विषयमा छलफल गरेर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पास गरेर आजै राष्ट्रिय सभामा पेस गर्ने तयारी छ ।
प्रतिनिधि सभाले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमै अनिवार्य अवकाश हुने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुने प्रावधान राखेको छ । यो प्रावधान हेरफेर गरेर विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अनिवार्य अवकाश हुने प्रावधान राख्ने प्रयास राष्ट्रिय सभामा भइराखेको छ ।
यदि अनिवार्य अवकाशको उमेहद लागू गर्नेबारे प्रतिनिधिसभाको निर्णय उल्टिए मुख्य सचिव एकनारायण अर्याल र नौ सचिवलाई लाभ हुनेछ ।
प्रचलित ऐन अनुसार मुख्यसचिव अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जानेछन् । उमेहद लागू गर्नेबारे प्रतिनिधिसभाको निर्णय उल्टिए अर्यालको कार्यकाल लम्बिएर २०८३ साल भदौ १३ गतेसम्म लम्बिनेछ ।
उनी २०८१ साल भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए । मुख्यसचिवको कार्यकाल २ वर्ष कायम गर्ने विषयमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सहमत भइसकेका छन् । यसका अलावा नौ जना बहालवाला सचिवलाई समेत लाभ हुनेछ ।
कुन–कुन सचिवलाई होला लाभ ?
अवकाशको उमेर हद सम्बन्धी प्रतिनिधि सभाबाट पास भइसकेको निर्णय उल्टिए सचिवहरु फणिन्द्र गौतम, भरतमणि सुवेदी, सुमनराज अर्याल, डा. रामप्रसाद घिमिरे, डा. हरिप्रसाद लम्साल, केशवकुमार शर्मा विडारी, डा. दीपककुमार खराल, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई लाभ हुनेछ ।
प्रचलित ऐनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानुनतर्फका सचिव फणिन्द्र गौतम आगामी मंसिर १७ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिव भरतमणि सुवेदी आगामी फागुन १० गते र राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव सुमनराज अर्याल आगामी २०८२ माघ १८ गते अवकाशमा जाने सूचीमा छन् ।
राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. रामप्रसाद घिमिरे आगामी २०८२ फागुन ९ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
आगामी फागुन २३ गते युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव डा. हरिप्रसाद लम्साल पनि अवकाशमा जाने सूचीमा छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशवकुमार शर्मा विडारी २०८२ चैत ८ गते, आगामी चैत १४ मा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सचिव डा. दीपककुमार खराल २०८३ साल असार २० गते तथा हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी अवकाशमा जाँदै छन् ।
हाल श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर २०८३ साल असार २३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।
प्रतिक्रिया 4