+
+
Shares

जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १७:४६

१६ भदौ, जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको हो ।

सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सबै पक्ष सहमत भएका छन् ।

साथै, कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी सर्वपक्षीय बैठकमा विगतमा तेलिया पोखरीको विवाद व्यवस्थापन गर्ने सहमति समेत गरिएको छ ।

गत शनिबार र आइतबार देवपुरा रुपैठामा तनावग्रस्त स्थिति सिर्जना भएको थियो । शनिबार गणेश पूजाको मूर्ति विसर्जन गरी फर्कँदा हिन्दू समुदायले झण्डाचोकमा रहेको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद भएको थियो । त्यसक्रममा दुवै समुदायबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार सर्वपक्षीय सहमतिअनुसार दुवै समुदायले लगाएको झण्डा हटाउन खोज्दा पुनः तनाव बढेको थियो ।

दुवै समुदायबीच उत्पन्न तनाव नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

सो क्रममा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टाको घुँडामा गोली लागेर घाइते भए भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?