
१९ भदौ, काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो ।
अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्रक्रिया सुरु भइसकेको र सबै इन्टरनेट प्रदायकबाट बन्द हुनका लागि भने केही समय लाग्ने बताए ।
‘सरकारबाट आएको निर्देशन अनुसार सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढिसक्यो । विस्तार बन्द हुँदै जान्छन्,’ उनले भने ।
यस्तै सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ। टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो।
‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ टेलिकमले भनेको छ।
बन्द भएका ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ।
त्यस्तै एनसेलले दर्ता नभइ सञ्चालनमा रहेका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको थियो।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय,आज (बिहीबार) बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।
साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।
पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो।
लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
कुन–कुन देशमा दर्ता छ फेसबुक ?
सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन गर्न ७८ देशमा १०५ वटा कानुन तर्जुमा भएको आफ्नो फैसलामा उल्लेख गरेको छ । सामाजिक सञ्जाल नियमनका मोडल फरक–फरक भए पनि नेपालमा जस्तै कानुनी रूपमा दर्ता गर्नुपर्ने र कार्यालय स्थापना वा आवासीय प्रतिनिधि नियुक्त गर्नुपर्ने व्यवस्था धेरै देशले लागू गरेको हामी पाउँछौं।
दक्षिण एसियाको कुरा गर्दा भारतमा अहिले नै फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता भएर सञ्चालनमा छन्। स्थानीय गुनासो सुनुवाइ गर्न र ती गुनासो सम्बोधन गर्न सम्पर्क व्यक्ति नियुक्त गरिएको छ। सम्पर्क व्यक्ति भारतभित्रै रहनुपर्ने बाध्यात्मक व्यवस्था भने छैन। उसले जहाँ बसेर भए पनि भारतभित्रका प्रयोगकर्ताको गुनासो सुनुवाइ गर्नुपर्छ।
पाकिस्तानको नियमले पनि फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल कम्पनीले स्थानीय कार्यालय स्थापना गर्नुपर्ने भनेको छ। यस्तै इजरायलको तेलअभिवमा पनि फेसबुकले आफ्नो सम्पर्क कार्यालय खोलेको छ ।
भारतमा भने गुरगाउँ तीन राज्यमा फेसबुकले आफ्नो सम्पर्क कार्यालय खोलेको छ ।
प्रतिक्रिया 4