+
+
Shares

यो साता २.२ प्रतिशत घट्यो बजार, मूल्य धेरै घटबढ भएका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेर २७१९ अंकमा पुगेको छ, जुन करिब दुई महिनाकै न्यूनतम हो।
  • सेयर बजारमा सबै समूहका सूचक घटेका छन् र 'फियर एण्ड ग्रिड इन्डेक्स' एक्स्ट्रिम फियर जोनमा रहेको छ।
  • झापा इनर्जीको आईपीओ खुलिरहेको छ र २४ गतेसम्म आवेदन दिन सकिनेछ भने शिवश्री र खानीखोला हाइड्रोपावरको हकप्रद सेयर पनि खुलेका छन्।

२० भदौ, काठमाडौं । यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेको छ ।

गत साता २७८१ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७१९ मा छ । बजारको यो अंक करिब २ महिनाकै न्यून हो ।

साउन १३ गते ३००२ अंकमा पुगेको बजार त्यसयता घट्दो क्रममा रहेर न्यूनतम बिन्दुमा झरेको छ ।

यो साता पहिलो दिन आइतबार ३१.१८ अंक घटेको बजार सोमबार १२.०३ अंक बढ्यो । मंगलबार १९.८९, बुधबार १५.६४ र बिहीबार ६.५५ अंक घट्यो ।

आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडको भयो । मंगलबार ४ अर्ब ३८ करोड, बुधबार ४ अर्ब ७२ करोड तथा बिहीबार ५ अर्ब १४ करोडको भयो ।

सबै समूहका सूचक घटे, लगानीकर्तामा डर किन ?

यो साता सेयर बजारका सबै सूचक घटे । भदौ लागेदेखि नै बजार ओरालो यात्रामा देखिँदा यो साता डर बढेको देखिन्छ । ‘फियर एण्ड ग्रिड इन्डेक्स’ यतिबेला एक्स्ट्रिम फियर जोनमा रहनुले त्यहीं संकेत गर्दछ ।

पैसा हुनेहरु पनि यतिबेला बजार अझै घट्ने आशमा पर्खिरहेका छन् भने सेयर होल्ड गरेका थप घटेपछि डराएका छन् । पोर्टफोलियो निरन्तर घट्दै गएपछि कतिपय डराएर बेचिरहेका छन् । तर कारोबार रकम न्यून भएकाले बजार अरु धेरै नघट्न सक्ने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ कम्पनीहरुले लाभांश दिने बेला भएको छ । दुई वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

यतिबेला धेरै व्यापारीले सेयर बजारबाटै भएको आम्दानीबाट चाडपर्वको आयात तथा व्यापारका लागि रकम जोहो गर्ने र उनीहरुको पैसा चाडपर्व नसकिएसम्म बजारमा नआउने हुँदा बजारलाई असर परेको छ ।

यद्यपि सैद्धान्तिक पक्ष र नीतिगत व्यवस्था सहज गरिएकाले बजार धेरै नघट्ने अनुमान छ । ब्याजदर अझै घटिरहेको, कम्पनीका वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको, पर्याप्त नीतिगत सुधार भएको, कम्पनीको लाभांश क्षमता बढेको जस्ता सकारात्मक पक्ष छन् ।

यो साता धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– नेपाल पुनर्बीमा । सो कम्पनीको यो साता १ अर्ब ५७ करोडको कारोबार भयो ।

त्यसपछि धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइनस्योरेन्स, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एभरेस्ट बैंक, शिवम् सिमेन्ट र एनआएन इन्फ्रास्ट्रक्चर क्रमशः छन् ।

कारोबार संख्यामा आधारमा विकास हाइड्रोपावर, हिमालयन बैंक, हिमालयन रिइनस्योरेन्स, ट्रेड टावर, युनियन हाइड्रोपावर तथा नेपाल रिइन्स्योरेन्स छन् ।

आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?

यतिबेला आम सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुलिरहेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । यो कम्पनीको आईपीओ आइतबारसम्म भर्न सकिनेछ । यसमा २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै रुपन्देही र पाल्पाका स्थानीयका लागि श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको आईपीओ खुलिरहेको छ ।

दुई कम्पनीको हकप्रद सेयरमा आवेदन खुलेको छ । शिवश्री हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको हकप्रद सेयर खुलिरहेको छ । शिवश्रीको १ बराबर १ तथा खानीखोलाको १ बराबर १ अनुपातमा हकप्रद सेयर खुलेको छ । शिवश्रीमा असोज ८ सम्म र खानीखोलामा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

विश्वका ठूला बजार उकालोतिर, जापानको तीव्र

विश्वका ठूला बजार उकालो यात्रामै छन् । यो साता अमेरिकाको डाओ जोन्स इन्डेक्स ०.०९ प्रतिशत बढ्यो भने विगत एक महिनामा ३.४२ प्रतिशत बढेको छ । अर्को एस एण्ड पी ५०० इन्डेक्स यो साता ०.८३ प्रतिशत बढेको छ भने विगत एक महिनामा ३.२२ प्रतिशत बढेको छ ।

लण्डनको एफटीएसई १०० इन्डेक्स यो साता ०.६८ प्रतिशत बढेको छ भने एक महिनामा १.१७ प्रतिशत बढेको छ ।

जापानको निक्की २२५ इन्डेक्स यो साता १.५५ प्रतिशत बढ्यो भने विगत एक महिनामा ६.०९ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.७७ प्रतिशत बढ्यो । विगत १ महिनामा जम्मा ०.११ प्रतिशत मात्रै बढेको छ । चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता १.४८ प्रतिशत घट्यो । यद्यपि विगत एक महिनामा ५.३९ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?