+
+
Shares

ट्राफिक नियम उल्लंघन गरेकालाई समेत अमेरिकाले नेपाल फर्काइदियो

अवैध तरिकाले अमेरिका छिर्ने मात्रै डिपोर्ट भएका छैनन्, ट्राफिक नियम उल्लंघन गर्नेदेखि सामान्य विवादमा परेकालाई समेत धमाधम फिर्ता पठाउन थालिएको छ । पछिल्लो पटक ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई समेत फिर्ता पठाइएको खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ भदौ २० गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाबाट डिपोर्ट भएका १९ नेपाली नागरिक बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन्।
  • डिपोर्ट हुनेहरूमा १७ जना पुरुष र २ जना महिला रहेका छन् र उनीहरूलाई अमेरिकी चार्टर्ड फ्लाइटबाट काठमाडौं ल्याइएको थियो।
  • ट्रम्पको नीतिपछि जनवरी २०२ देखि अहिलेसम्म ४२९ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् र उजुरी दिने संख्या अत्यन्त कम छ।

२० भदौ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका १९ नेपाली नागरिक बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । उनीहरूलाई अमेरिकी चार्टर्ड फ्लाइटबाट काठमाडौं ल्याइएको थियो ।

अध्यागमन कार्यालयले डिपोर्ट भएकाहरूको विवरण लिएर प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझायो । डिपोर्ट हुनेहरूमा १७ जना पुरुष र २ जना भने महिला थिए ।

बिहीबार राति नै बबरमहलस्थित ब्युरोले उनीहरूसँग सामान्य सोधपुछ गर्‍यो र आफन्तको जिम्मा लगायो । कोही कसैले प्रलोभनमा पारेर अवैध तरिकाले अमेरिका लगेको भएमा उजुरी दिन पनि ब्युरोले आग्रह गर्‍यो ।

कतिसम्म भने अवैध तरिकाले बसोबास गरेका मात्रै नभएर सामान्य नियम उल्लंघन गरेकासम्म डिपोर्ट भएका छन् ।

ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार अहिलेसम्म कोही कसैले पनि उजुरी दिएका छैनन् । अमेरिकाबाट डिपोर्ट हुनेहरूलाई अवैध तरिकाले अमेरिकामा बसोबास गरेकोदेखि त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेकोसम्म आरोप लगाइएको छ ।

कतिसम्म भने अवैध तरिकाले बसोबास गरेका मात्रै नभएर सामान्य नियम उल्लंघन गरेकासम्म डिपोर्ट भएका छन् ।

डिपोर्ट भएकाहरूको विवरणबारे ब्युरोले अध्ययन गरेको थियो । सो क्रममा एकजना भने सामान्य नियम उल्लंघन गरेकै भरमा डिपोर्ट भएको पाइएको एक अधिकृतले बताए ।

करिब तीन वर्ष पहिला एकजना पुरुष विद्यार्थी भिसामा अमेरिका गएका थिए । तीन वर्षदेखि अमेरिका बसोबास गर्दै आएका उनी अहिले डिपोर्ट भएर आउने १९ जनामध्ये एक हुन् ।

ती विद्यार्थी डिपोर्ट हुनुमा ट्राफिक नियमलाई कारण देखाइएको छ । डिपोर्ट भएका ती पुरुषले दुई पटकसम्म त्यहाँको ट्राफिक नियम उल्लंघन गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

‘२ पटक ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाएको आरोप लागेका ती व्यक्तिलाई अहिले डिपोर्ट गरिएको रहेछ । हामीले उहाँसँग बुझ्दा यो कुरा पुष्टि हुने आधारहरू पनि देखियो,’ एक अनुसन्धान अधिकृतले भने ।

उनी अमेरिकाको कानुनअनुसार वैधानिक रूपमा अमेरिका बसोबास गरे पनि त्यहाँको नियम उल्लंघन गरेकै भरमा डिपोर्ट भएका छन् ।

अहिले डिपोर्ट भएका १९ जनामध्ये एकजना लायन्स क्लबको कार्यक्रम बनाएर अमेरिका छिरेको पाइएको छ । प्रहरीका अनुसार ती व्यक्ति करिब एक वर्षअघि अमेरिका गएका हुन् । अहिले उनी पनि डिपोर्ट भएका छन् ।

बाँकी १७ जना भने तल्लो बाटोबाट ५०-६० लाख रुपैयाँ बुझाएर अमेरिका जानेहरू रहेको प्रहरीले बताएको छ ।

डिभी परेका पनि डिपोर्ट

ट्राफिक नियम जस्ता सामान्य नियम उल्लंघन गर्नेहरू पनि डिपोर्ट हुने गरेको देखिएको छ । यसअघि २६ जेठ २०८२ मा डिपोर्ट भएका ३७ जनामध्ये एकजना डीभी परेर अमेरिका गएका व्यक्तिसमेत थिए ।

१० वर्षअघि नै अमेरिका गएका उनी टेक्सासमा बस्दै आएका थिए । उनी त्यहाँ पारिवारिक विवादमा परेपछि डिपोर्ट भएका थिए । पारिवार विवादमा परेपछि टेक्सास प्रहरीले उनलाई पक्राउ गरेर लगेको थियो । त्यसको केही समयमा उनी डिपोर्ट भएर काठमाडौं फर्केका थिए । काठमाडौं स्थायी घर भएका उनीसहित ३७ जनालाई चार्टर्ड विमानबाट काठमाडौं ल्याइएको थियो ।

फाइल तस्वीर ।

ब्युरोका एसएसपी पंगेनी अवैध तरिकाले अमेरिका छिर्ने मात्रै नभएर त्यहाँको रुल भ्वाइलेसन गर्नेसमेत डिपोर्ट हुन थालेको बताउँछन् ।

ट्रम्पपछि २०२ नेपाली डिपोर्ट

अमेरिकाको राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २० जनवरीदेखि अहिलेसम्म २०२ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

जसमा २२ महिला र १८० पुरुष रहेको अध्यागमन विभागको तथ्यांक छ । फिर्ता भएकाहरू अधिकांशजसो डंकी रुट (अवैध) बाटो हुँदै अमेरिका पुगेकाहरू रहेको बताइन्छ ।

अमेरिकाबाट डिपोर्ट भएर आएका व्यक्तिहरूको अवस्था एकै प्रकृतिको रहेको देखिएको ब्युरोले बताएको छ । घरखेत बेचेर ऋण गर्दै करिब करोड खर्च गरेर अमेरिका हिँडेकाहरू ट्रम्पको नीतिपछि अहिले धमाधम डिपोर्ट हुँदै आएका छन् ।

त्यसो त ट्रम्पले जिम्मेवारी सम्हाल्नु पहिला पनि अवैध रूपमा रहेका नेपालीहरू अमेरिकाबाट डिपोर्ट हुँदै आएका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि अहिलेसम्म ४२९ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । २०७५/७६ मा ४५ जना, २०७६/७७ मा ८३ जना, २०७७/७८ मा ३० जना, २०७८/७९ मा १३ जना, २०७९/८० मा ७ जना, २०८०/८१ मा २१ जना, २०८१/८२ मा २०६ जना र चालु आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २३ जना गरी ४२९ जना डिपोर्ट भएका छन् ।

डिपोर्ट हुने ४०० नाघ्दा उजुरी जम्मा २०

बिहीबार अमेरिकाबाट डिपोर्ट भएका १९ जनामध्ये एकजनाले पनि ब्युरोमा उजुरी दिएनन् । प्रहरीले कोही कसैले मानव बेचबिखन गर्ने उद्देश्यले लगेको भए उजुरी दिन आग्रह गरे पनि कसैले पनि उजुरी दिएनन् ।

जबकि, ७० लाखसम्म तिरेर अवैध तरिकाले अमेरिका छिर्नेहरू समेत डिपोर्ट भएका थिए । बिहीबारको मात्रै घटना होइन, यसै अमेरिकाबाट डिपोर्ट हुनेहरूले ब्युरोमा उजुरी नै नदिने प्रवृत्ति पुरानै हो ।

आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म अमेरिकाबाट ४२९ जना डिपोर्ट भए पनि जम्मा उजुरीको संख्या भने २० वटा मात्रै रहेको ब्युरोको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने अमेरिकाबाट डिपोर्ट भएकामध्ये जम्मा २ जनाले ब्युरोमा जाहेरी दिएका छन् । तीमध्ये एक व्यक्ति त घर छाडेको डेढ वर्षपछि १३ देश घुमेर अमेरिका पुगेका थिए । अमेरिका पुग्ने बित्तिकै ५६ दिन हिरासत बसेर गत २५ जेठमा उनी नेपाल डिपोर्ट भएका थिए ।

उनीसँगै यो आर्थिक वर्षमा डिपोर्ट भएका अर्का एकजनाले पनि ब्युरोमा उजुरी दिएका छन् ।

डिपोर्ट हुनेहरूलाई दलालले फेरि अर्को देश पठाउने आश्वासन दिने हुँदा उजुरी नै नपर्ने गरेको ब्युरोका अधिकारीहरू बताउँछन् ।

आर्थिक वर्ष २०७६/७७ मा डिपोर्ट भएका ८३ जनामध्ये ४ जनाले मात्रै ब्युरोमा उजुरी दिएका थिए । उक्त उजुरी फर्स्योट भइसकेको ब्युरोको रिपोर्ट छ ।

आर्थिक वर्ष २०७७/७८ मा अमेरिकाबाट डिपोर्ट भएका ३० जनामध्ये २ जनाले ब्युरोमा उजुरी दिएका थिए । उक्त उजुरीमध्ये एउटा फर्स्योट भइसकेको एक उजुरी भने अनुसन्धानकै क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ मा १३ जना डिपोर्ट हुँदा जम्मा १ जनाले उजुरी दिएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा डिपोर्ट भएका ७ जनामध्ये ६ जनाले ब्युरोमा जाहेरी दिएका थिए । उक्त जाहेरीमध्ये ५ वटा फर्स्योट भइसकेको छ भने एक उजुरी अनुसन्धानकै क्रममा रहेको ब्युरोको तथ्यांक छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा डिपोर्ट भएका २१ जनामध्ये ४ जनाले उजुरी दिएका थिए । तीमध्ये दुई उजुरी फर्स्योट हुँदा दुई उजुरी अनुसन्धानकै क्रममा छन् ।

आर्थिक वर्ष २०८१/८२ मा २०६ जना डिपोर्ट हुँदा १ जनाले मात्रै उजुरी दिएका थिए । यो उजुरी अनुसन्धानकै क्रममा रहेको छ ।

डिपोर्ट हुनेहरूलाई दलालले फेरि अर्को देश पठाउने आश्वासन दिने हुँदा उजुरी नै नपर्ने गरेको ब्युरोका अधिकारीहरू बताउँछन् । ‘उजुरी दिए रकम फिर्ता नदिने, आफ्नो लगानी डुब्ने डर दलालले देखाउँछन्,’ ब्युरोका एसएसपी भन्छन्, ‘उजुरी नदिए फेरि युरोप लगायतका देशमा पठाउने आश्वासन दिने हुँदा उजुरी पर्ने अवस्था नै एकदमै न्यून छ ।’

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?