+
+
Shares

रामहरिलाई संसदीय सुनुवाइ समिति सभापति बनाएकोमा रास्वपाको आपत्ति

रास्वपाले सभामखु देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालन गर्नुपर्ने उल्लेख गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १८:४०

२० भदौ, काठमाडौं । प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाएकोप्रति आपत्ति जनाएको छ ।

रास्वपाले सभामखु देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालन गर्नुपर्ने उल्लेख गरेको हो ।

खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए ।

संसदीय समितिले दोषी देखाएपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए । उनै खतिवडालाई अर्को समितिको सभापति बनाएपछि रास्वपाले आपत्ति जनाएको हो ।

‘जनताको सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुन: संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्त्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसद्‍कै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसद्‍को गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्‍याएको अवस्था छ ।’

शुक्रबार संसदीय समितिको सभापतिमा खतिवडा निर्विरोध चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?