+
+
Shares

गुल्मीमा इलाका प्रशासन कार्यालय राख्न तानातान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ९:०५
इलाका प्रशासन कार्यालय मजुवामा राख्न भनी बसेको बैठक ।

२१ भदौ, गुल्मी । गुल्मी जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा स्थानीय तहहरूबीच तानातान सुरु भएको छ ।

जिल्लाको विकास, सेवा प्रवाह र प्रशासनिक सहजताका लागि नयाँ कार्यालय खोल्ने तयारी भए पनि कुन स्थानमा राख्ने भन्नेमा सहमति जुट्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन् ।

गृह मन्त्रालयले केही समयअघि जिल्लामा थप एक इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेपछि गुल्मीका विभिन्न स्थानीय तहहरूले आफ्ना क्षेत्रमा कार्यालय स्थापना गर्न दबाब दिइरहेका छन् ।

जिल्लाको सदरमुकाम तम्घासबाट भौगोलिक हिसाबले टाढा रहेका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र गाउँपालिका र मुसिकोट नगरपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम आउन कठिनाइ हुन्छ ।

सत्यवती र कालीगण्डकी  र रुरुक्षेत्र गाउँपालिकाको आ–आफनै अडान छ ।  स्थानीय सरकार प्रमुखले भौगोलिक पहुँच, जनसंख्या घनत्व र सेवा प्रभावकारिताका आधारमा कार्यालय राखिनु पर्ने माग राखेका छन् ।

सत्यवती गाउँपालिकाले खैरेनी बजारमा इलाका प्रशासन राख्नुपर्ने धारणा छ । दूरीका हिसाबले टाढा रहेका पालिकालाई इलाका प्रशासन अत्यवश्यक छ । स्थानीय नागरिकले पनि कार्यालयको स्थान चयनमा पारदर्शिता र सबै पक्षको सहमति हुनुपर्ने माग राखेका छन् ।

उनीहरूले राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थका आधारमा निर्णय भएमा विरोध गर्ने चेतावनीसमेत दिएका छन् । स्थानको टुंगो लागेपछि मात्रै कार्यालय स्थापना प्रक्रिया अघि बढ्ने भएकाले हालको तानातानले ढिलाइ हुने संकेत देखिएको छ ।

सरकारले गाउँमा इलाका प्रशासन राखेर यसले जिल्लामा प्रशासनिक सेवा पहुँचमा सुधार ल्याउने सरकारी योजनो छ । जिल्लाको मजुवा बजारलाई इलाका प्रशासन बनाउने गरी स्थानीय जनप्रतिनिधिले माग गरेका छन् । त्यसका लागि तीन पालिकाका प्रतिनिधिसहितको भेलाले चन्द्रकोट गाउँपालिकाको वडानम्बर–८ मजुवा बजारलाई सबैभन्दा उपयुक्त स्थान मान्दै इलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वसम्मत निर्णय समेत गरेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

जिल्ला सुरक्षा समिति गुल्मी मार्फत गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गर्न जनप्रनिधिको भेलाले निर्णय गरेको हो । नापी कार्यालय र मालपोत कार्यालय मजुवाको सेवाक्षेत्रभित्र मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिका पर्दछन् ।

यस क्षेत्रमा रिडी–रुद्रवेनी–वामीटक्सार–बुर्तिबाङ्ग सडकले जोडिएको र भौगोलिक हिसाबले सबैलाई पायक पर्ने स्थान मजुवा बजार भएकाले कार्यालय स्थापना त्यहीँ गर्ने प्रस्ताव पारित गरेका हुन् ।

मजुवामा यातायात, खानेपानी, विद्युत, विभिन्न बैंक, शैक्षिक संस्था, सुरक्षा निकायलगायत आवश्यक पूर्वाधार पर्याप्त भएको निर्णयमा उल्लेख छ ।

साथै सरकारले २०६६ सालमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने क्रममा मजुवालाई समेत समावेश गरेको स्मरण गर्दै यसलाई नै उपयुक्त स्थानको रूपमा अघि सारिएको केसीले बताए । यसका लागि चन्द्रकोट गाउँपालिकाको नाममा नाप-नक्सा भएको तुराङ स्वास्थ्य चौकीको नवनिर्मित भवन प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

यसै क्रममा, इलाका प्रशासन कार्यालय स्थापना र सञ्चालनका लागि आवश्यक समन्वय, सहकार्य तथा पहल गर्न चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा समन्वय तथा सहकार्य समिति गठन गरिएको छ ।

समितिमा चन्द्रकोट, मुसिकोट र गुल्मीदरबार गाउँपालिकाका जनप्रतिनिधि, सर्वदलीय प्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सदस्य रहने छन् ।

त्यस्तै, बैठकले मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित प्रहरी चौकी र चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरस्थित इलाका प्रहरी कार्यालय चन्द्रकोटलाई स्तरोन्नति गरी प्रहरी निरीक्षक दरबन्दी कायम गर्न गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णयसमेत गरेको गरेका छन् ।

यता रुरुक्षेत्रमा बसेको जनप्रतिधिको भेलाले रिडीमा इलाका प्रशासन राख्ने प्रस्ताव गरेको छ । कालीगण्डकी गाउँपालिका र रुरुक्षेत्रका जनप्रनिधिहरुको भेलाले रिडीमा इलाका प्रशासन राख्न उपयुक्त हुने निष्कर्ष निकालेका थिए ।

दुवैतिरका जनप्रनिधि बाँडिदा इकाला प्रशासन कहाँ राख्ने भन्ने अन्योलता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?