
२१ भदौ, काठमाडौं । नेकपा एमालेका विधान महाधिवेशनमा संघ प्रदेश र स्थानीय तहको चुनावको विषय समेत उठेको छ । पार्टीको विधानबारे भएको छलफलमा केही प्रतिनिधिले संविधान संशोधन र आम चुनावको विषय समेत उठाएका हुन् ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा आफ्नो धारणा राख्ने क्रममा बागमती प्रदेशको समूहगत छलफलमा नेता बद्री मैनालीले तीन तहको चुनाव एकैपटक गर्नेगरी पहल लिनुपर्ने प्रस्ताव राखेका हुन् ।
एमालेको बिधान भन्दा फरक विषय भन्दै उनले यो विषय उठाए । ‘संविधान र विधान कुनै बाइबल र कुरान वा धर्मशास्त्र होइन । तीन वटै तहको निर्वाचन बैशाखमै गर्नेगरी कानुनी प्रबन्ध गर्न पार्टीले पहल लिनुपर्छ,’ नेता मैनालीले सुझाव दिए ।
एमाले हाल सरकारको नेतृत्वमा छ । यो बेला पार्टीले पहल लिएर तिनै तहको निर्वाचन एकैपटक गर्न सके खर्चको हिसाबले समेत उपयुक्त हुने उनले बताए ।
एमालेले विधान महाधिवेशनका प्रतिनिधिहरुलाई १० वटा समुहमा बिभाजन गरेको छ । कोशी,मधेस, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली, सुदुरपश्चिम,जनसंगठन/ उपत्यका समन्वय/ प्रवास, केन्द्रिय निकाय र आयोजक समूह बनाइएको छ ।
शनिवार समुहगत छलफल सकिएको छ । आइतबार समूहगत छलफलमा उठेका विषयमा सहुहका नेताले एकीकृत रुपमा राख्नेछन् । त्यसलाई समेत सम्बोधन गरेर प्रस्तुत प्रतिवेदन पारित गर्दै विधान महाधिवेशन सकिनेछ ।
प्रतिक्रिया 4