
News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्र सात प्रकारका विकृतिहरू बढेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।
- प्रतिवेदनमा कुण्ठा, वैयक्तिक स्वार्थ, लाभ आशक्ति, आचरण समस्या, सांगठनिक अराजकता, आर्थिक अपारदर्शिता र गुटगत गतिविधि प्रमुख विकृतिहरू देखिएको छ।
- पार्टीमा यी विकृतिहरूले नेतृत्वमा असहिष्णुता, दम्भ, असहयोगी भावना र संगठनात्मक कमजोरीहरू निम्त्याएको आयोगले जनाएको छ।
एमालेको विधान महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्र हुर्किरहेका विसंगतिहरू औंल्याउँदै प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा उनले मुख्यत पछिल्लो समय सात वटा विकृतिहरू बढेको उल्लेख छ । उनले पेस गरेको आयोगको प्रतिवेदनमा यस्ता विकृतिहरू छन् ।
मानिसको स्वभाव कर्मशील, स्वाधीन र सृजनशील हुन्छ। सामाजिक अनुशासन नियमहरुले मानिसलाई सर्बत्र बनाएको छ । साँचो कुरा के हो भने उन्नत संस्कृति उन्नत अनुशासनबाट मात्र प्राप्त गर्न सकिन्छ। सामाजिक जीवन संस्कृति र अर्थतन्त्रका लागि अनुशासन अत्यावश्यक छ ।
पार्टी संस्थाको रुपमा लयमा चल्नु पर्छ र समाज रूपान्तरणको निम्ति विशिष्ट योगदान दिएका पार्टीका नेताहरू अनुशासित हुन पर्छ। तर, प्रकृति र उत्पादन सम्बन्धमा भएको विविधताको कारणले समाजमा विभिन्न स्वार्थ समूहहरू वर्गहरू हुन्छन् र त्यसको प्रतिविम्व पार्टीमा हुनु स्वभाविक छ। यसले गर्दा पार्टीमा वर्गजन्य स्वार्थहरू देखिने र यसबाट विभिन्न विसंगतिहरू प्रकट भैरहने गर्छन्। यी विसंगतिहरू, अराजकता र अवसरवादका स्रोतहरू हन्। यिनीहरूलाई नियन्त्रण गर्न अनुशासन अपरिहार्य छ ।
नेकपा एमाले न्यायपूर्ण समाज स्थापना र विकास गर्न सामाजिक विचार, सिद्धान्त र कार्यक्रमबाट निर्देशित छ। मानव सभ्यताको विकासकोक्रममा प्राप्त भएका उपलव्धिहरू तथा प्रकृतिको अस्तित्व र गतिशीलताका वैज्ञानिक नियमहरूलाई आत्मसात गर्दै एमाले क्रियाशील छ।
नेकपा एमाले वैचारिकरूपमा स्पष्ट, सांगठानिकरूपमा गतिशील तथा आचरण र व्यवहारमा उदाहरणीय नेतृत्व भएको पार्टी हो । तथापि, समाजको वर्गीय स्वरूप अनुरूप सृजना हुने विसंगतिहरूको प्रभाव पार्टीमा समेत देखिने गरेका छन् । यसको प्रतिबिम्बको रूपमा पार्टीभित्र कतिपय नेता तथा कार्यकर्ताहरूबाट अनुशासन उल्लंघन हुने, पार्टी हित विपरीत अभिव्यक्ति दिने तथा आचरण र व्यवहारमा त्रुटिहरू भइरहेको देखिएको छ। पार्टीमा देखिएका यस्ता प्रतिनिधिमूलक विसंगतिहरू यहाँ उल्लेख गरिएको छ।
क) कुण्ठा र अतृप्त महत्वाकांक्षा
समयसमयमा कतिपय नेताहरूका आफ्ना निहित स्वार्थहरू पूरा नहुँदा तिनीहरू कुण्ठाकोरूपमा रहने गरेका छन् । विगतको एमाले र माओवादी केन्द्रको एकता र नेकपा गठन अनि पार्टी विग्रहको सिलसिलामा कतिपय नेताहरूको तुष्टि कुण्ठाकोरूपमा प्रकट भएको थियो ।
त्यतिबेला कुण्ठाग्रस्त नेताहरूले आफ्नो लागि पद, प्रतिष्ठा र सुबिधाको माग गरी बैठकहरू अवरुद्ध गरेका थिए। अत्यन्त संकिर्ण भएर व्यक्तिगत लाञ्छना लगाए, ‘हामीलाई हेपियो, हामीले भनेको मानिएन, हाम्रा मान्छेहरूलाई विभिन्न पदहरूमा राखिएन, सुविधा दिइएन, आदि आदि ।
कुण्ठा दूषित नियतबाट प्रेरित हुन्छ भने चरम आकांक्षाहरू पूरा नहुँदा अतृप्त महत्वाकांक्षाको रूपमा प्रकट हुने गर्छ। उनीहरूले आफ्ना निहीत तुष्टिहरू पूरा गर्न माग राख्ने स्वार्थहरू मिलाएर गुट बनाउने, असहिष्णु तथा आक्रामक हुने आचरण र व्यवहार देखाएका थिए। त्यतिबेला प्रमुख नेताहरूले आ-आफ्ना गुटहरूमा धार लगाउन थालेका थिए। सुषुप्त रूपमा रहेका निहीत स्वार्थ राख्ने गुटहरू एकआपसमा मिलेका थिए र अन्ततः पार्टीलाई विभाजित गरेका थिए ।
अहिले पनि कतिपय व्यक्तिहरू पार्टीमा काम गरे वापत विशिष्ट सुबिधाहरू पाउनु पर्छ भन्ने ठान्दछन् । उनीहरुले आकांक्षा गरे बमोजिमका सुविधाहरू प्राप्त हुन नसक्दा निराश हुने, कुण्ठाग्रस्त हुने तथा लापरवाह हुने गरेको देखिएको छ । पार्टीभित्र सामान्य बहस हुँदा समेत यिनीहरूले आफ्नो पक्षधरता देखाइहाल्ने गरेको देखिएको छ।
केही मानिसहरू पदीय जिम्मेवारीमा बसेपछि उनीहरूमा दम्भ देखिन थाल्छ, पार्टीका विधि र पध्दतिहरू चेतना कमजोर भएको बेला दुविधाहरू देखिन थाल्छन् र मनमा अनेक कुरा खेल्न थाल्छ। जस्तो की अवज्ञा गर्न थाल्दछन् अनि मर्यादा बिर्सन्छन् । उनीहरू पार्टीको विधि र पद्धति मेरो लागि होइन भन्ने मोलमोलाइ गर्न थाल्छन् । यो प्रवृत्ति कुण्ठाको सुषुप्त रूप हो । संकीर्ण र कमजोर ठान्दछन् । अझ पार्टीमा विवाद भएको बेला वा संकटपूर्ण अवस्था सिर्जना भएको बेला यिनीहरु चेतना हो। यो नैतिक सोँच होइन।
ख) वैयक्तिक स्वार्थहरू
अहिले पार्टी जीवनमा वैयक्तिक स्वार्थहरू विभिन्न ढंगले प्रकट भैरहेका छन्। आफ्ना निहीत स्वार्थहरू पूरा गर्न अनेक प्रपन्च गर्ने र पार्टीलाई समेत दुरूपयोग गर्ने प्रवृत्ति देखिने गरेको छ। यो प्रवृत्तिले नेताहरूको नैतिक आचरण र व्यवहारमा समस्या सिर्जना गरेको छ। पार्टीभित्र कतिपय नेता तथा कार्यकर्ताहरूले आफूलाई कसरी फाइदा हुन्छ भन्ने गरी हेर्ने गरेका छन्। उनीहरूले हरेक काममा आफूलाई आर्थिक फाइदा हुने कि नहुने, विभिन्न सामाजिक पदहरूमा जाने अनुकूलता हुने कि नहुने, आदि मनसाय राखी व्यवहार गर्ने गरेको देखिएको छ।
त्यसैगरी जनप्रतिनिधिको उम्मेदवारी पाइन्छ कि पाइँदैन, विभिन्न कमिटीहरूमा मनोनयन वा विभिन्न राजनीतिक नियुक्तिहरू प्राप्त गर्ने अनुकूलता हुन्छ कि हुँदैन, आदि विषयमा उनीहरूको चासो भएको देखिएको छ। सामाजिक क्षेत्रहरूमा आफू चर्चामा रहिरहन सार्वजनिक सञ्जाल, पत्रपत्रिका, रेडियो तथा टेलिभिजनलाई दुरूपयोग गर्ने प्रवृत्ति देखिएको छ। पार्टीका सार्वजनिक कार्यक्रमहरूमा मन्चको अगाडि देखिन मरिहत्ते गर्ने प्रवृत्ति पनि व्यापकरूपमा देखिएको छ।
कतिपय नेताहरूले पार्टीको विभिन्न तहको नेतृत्वमा पुग्नका लागि केही माथिल्लो तहका नेताहरूलाई प्रभावित गर्ने र नेताहरूको वरिपरी घुमिरहने गणेश प्रवृत्ति पनि देखिएको छ। कतिपय पार्टी नेता तथा कार्यकर्ताहरू आत्मकेन्द्रित र व्यक्तिवादी हुँदै गएका छन्। आफ्नो स्वार्थ पूरा नहुँदा पार्टी काम वा निर्वाचनमा निष्क्रिय वा असहयोगी बनेका छन् ।
ग) लाभ र अवसरको अनुचित आशक्ति
व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याकोरूपमा देखिएको छ। यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत छ र अन्ततः राज्य, समाज र पार्टीलाई नकारात्मक असर गर्ने गरेको छ। यस्तो अनुचित आशक्तिको कारणले सार्वजनिक क्षेत्रमा रहेका कतिपय नेताहरूप्रति आम जनतामा नकारात्मक धारणा बनिरहेको छ । यसले गर्दा नेताहरूको सार्वजनिक जीवन विवादित बनिरहेको अवस्था छ। यसको साथै सार्वजनिक जीवनको आकर्षण (ग्लेमर) ले कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था पनि छ ।
घ) विचार र आचरणमा समस्या
यथास्थिति बदल्न हिडेका नेताहरू वैचारिकरूपमा दृढ तथा आचरण र व्यवहारमा परिपक्क र नैतिकवान भएनन् भने पार्टीमा समस्या सृजना हुन थाल्छ। कतिपय नेताहरूका व्यवहार र आचरणमा विचलन देखिएको छ। कतिपय नेताहरूमा संकिर्ण मानसिकता देखिएको र उनीहरूले पार्टीका निर्णयहरू तथा संगठनात्मक पद्धतिलाई नमान्ने तथा उल्लंघन गर्ने जस्तो अराजक प्रवत्ति पनि देखिने गरेको छ। के गर्न पर्ने हो भनेर विकल्प दिँदैन, समस्या कसरी हल गर्ने भन्ने बारेमा छलफल पनि गर्दैन, छलफलमा आफ्ना कुरा मात्र भन्ने र अरुका कुरा सुन्दैन, अरुले बोलेको कुरालाई टिपी हाल्ने र त्यसैमा टेकेर अनेक टिप्पणी गरी हाल्छ, नयाँ कुरा र सृजनशील विषयमा प्राय कुरै हुँदैन, आफूले नजानेको कुरा स्विकार्दैन, इत्यादि । कतिपय नेताहरूमा देखिने गरेका यी प्रतिनिधिमूलक प्रवृत्तिहरू हुन् ।
कुनै नेता वा कार्यकर्ता लापरवाह हुँदा वा विषयमा ध्यान पुर्याउन नसक्दा गलत निर्णय हुने गरेका छन् । नेताहरू लापरवाह हुँदा विधि र पद्धति मिचेर काम गर्ने र त्यस्तो विधि मेरो लागि होइन भन्ने सोच भएको देखिएको छ। पार्टीभित्र कतिपय नेताले विचारको नाममा आफ्ना निजी कुराहरू तथा एकांकी चिन्तनहरू बताइरहने र जनताका कुराहरूलाई महत्व नदिने गरेको देखिएको छ। त्यसैगरी वर्गीयरूपमा आधारभूत तहका श्रमजिवी जनताको समस्यालाई यथासमयमा सम्बोधन गर्न नसकेको अवस्था पनि छ। कतिपय नेताहरूको व्यवहारमा देखिएको बडप्पन, रुखो बचन तथा आक्रामक गाली गलौजको शैलीलाई जनताले रुचाएका छैनन् ।
पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरू समेत देखिन कतैकतै थालेका छन्। जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा उनीहरूबाट सार्वजनिकरूपमा दम्भ प्रकट भैरहनु दुखःद कुरा हो।
ङ) सांगठनिक अराजकता
पार्टी जीवनमा सांगठानिक अराजकता चुनौतिकोरूपमा रहेको छ। यो प्रवृत्तिको कारणले, कतिपय पार्टी कमिटीहरू विधिसम्मत ढंगले चलेको देखिएको छैन, कतिपय नेताहरूले संगठनका कामहरूलाई बेवास्ता गरेका छन्, पार्टीका निर्णयहरूलाई लागु नगरेको अवस्था छ, कतिपय नेताहरू बीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ, कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समेत देखिएको छ। कतिपय जनप्रतिनिधिहरूले सम्बन्धित पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गंभीर अवस्था हो ।
बैठकहरू निरस, प्राविधिक र औपचारिकतामा सीमित भएको अवस्था छ। पार्टीमा लामो समय क्रियाशील भैरहेका धेरै नेता तथा कार्यकर्ताहरू कमिटीहरूमा समेटिएको छैनन् वा जिम्मेवारी दिइएको छैन। कमिटीहरूको इन्चार्जको कामको ठोस व्याख्या नहुँदा सम्बन्धित इन्चार्जहरू कमिटीहरूमा हावी हने, आफू अनुकूल निर्णय गर्न दबाब सृजना गर्ने, कमिटीको नेतृत्वलाई तेजोबध गर्ने, आदि प्रवृत्तिहरु देखिएका छन् ।
च) अपारदर्शी आर्थिक गतिविधिहरू
आर्थिक अनुशासन पार्टी भित्र गम्भीर विषय हो। पार्टीका कतिपय नेताहरूको रहनसहन अस्वाभाविक देखिने गरेको छ। उनीहरूको आयको स्रोत देखिँदैन, तर जीवनशैली अत्यन्त खर्चालु र सुविधाभोगी देखिने गरेको छ। यस्तो अपारदर्शी आर्थिक संकलनले पार्टीमा विकृतिहरू बढिरहेको छ । कतिपय नेता तथा कार्यकर्ताहरूको लागि विचार र आचरण प्राथमिकतामा रहेको देखिँदैन।
छ) आत्मकेन्द्रित संकिर्णताको प्रतिबिम्बः गुटगत गतिविधि
पार्टीभित्र विभिन्न कारणहरूले असन्तुष्टि विकास भैरहेको छ । पार्टीको नेतृत्वमा रहेका कतिपय नेताहरूमा यस्तो असन्तुष्टि देखिन्मा विभिन्न कारणहरू छन् । जस्तो की पद, प्रतिष्ठा र सुविधाको वितरणमा चित्त नबझेको हुन सक्छ, अपेक्षा गरे बमोजिमको जिम्मेवारी नपाएको हन सक्छ, आफूले नरुचाएको व्यक्तिलाई बढी जिम्मेवारी दिएको कारणले कुण्ठा स्वरूप चित्त नबुझेको हुन सक्छ, आदि । यी कमजोरीहरू सार्वजनिक भएमा आफ्नो शाख कमजोर हुन्छ कि भन्ने त्रास नेताहरूमा भैरहेको हुन सक्छ।
त्यसैगरी कतिपय नेता तथा कार्यकर्ताले कुनै घटनाबाट आफू अन्यायमा परेको वा पीडाबाट गुज्रिनुपरेको अवस्थामा सम्बन्धित नेतृत्वबाट सहानुभूति प्राप्त नहुँदा असन्तुष्टि विकास भएको हुन सक्छ र सम्बन्धित नेताप्रति नकारात्मक आग्रह सृजना भैरहेको हुन सक्छ।
गुटगत गतिविधिहरू स्वार्थमा आधारित हुने र व्यक्तिमा अन्तरनिहीत त्यस्ता स्वार्थहरू पूरा नहुँदा उसमा चिड्चिडाहट विकास हुन्छ। यस्तो अवस्थामा दम्भ देखाउने, अरुलाई हियाउने, अविश्वास प्रकट गर्ने, अनादार गर्ने, व्यक्तिगत लान्छनाहरू लगाउने, इत्यादि प्रवृत्तिहरू व्यक्तिले देखाउन थाल्छ। यस्ता अपमानजनक व्यवहारहरू प्रकट हुँदै जाँदा त्यसको विपरीत अर्को गुट पनि निर्माण हुन थाल्छ। विचाररहित स्वार्थहरू निरन्तर परिवर्तन भैरहने हुँदा यी गुटहरू समेत बदलिइरहन्छन् । यिनीहरूले पार्टीमा समस्या सृजना गरिरहन्छन् ।
वर्गीय समाजमा वर्गजन्य स्वार्थहरू हुन्छन्। पार्टीभित्र यसको प्रभाव हुनु स्वभाविक छ। पार्टीको दैनिक जीवनमा कतिपय नेताहरूमा घमण्ड, असहिष्णुता, असहयोगी भावना, अधैर्यता, दम्भ जस्ता भावनात्मक प्रवृत्तिहरू तथा व्यक्तिगत स्वार्थ विभिन्न ढंगले प्रतिबिम्बित भैरहन्छन् । यी प्रवृत्तिहरूले पार्टीमा असहज अवस्था निर्माण गरिरहेका हुन्छन् ।
प्रतिक्रिया 4