
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २० भदौदेखि २५ सामाजिक संजाल र युट्युबलाई रोक लगाउँदा नेपाली फिल्म र संगीत क्षेत्रमा ठूलो आर्थिक र प्रवर्धन क्षति पुगेको छ।
- फूलपातिमा प्रदर्शन तयारीमा रहेको फिल्म 'माइतीघर'ले युट्युब र फेसबुक बन्द भएपछि ट्रेलर हलमा ल्याउने निर्णय गरेको छ।
- सामाजिक संजाल र युट्युब बन्दले 'जारी २', 'बलिदान', 'हरिबहादुरको जुत्ता' लगायतका फिल्मको प्रचार र गीत रिलिजमा प्रभाव परेको छ।
काठमाडौं । युट्युब बन्द हुँदा फिल्म र संगीत क्षेत्रलाई ठूलो धक्का लागेको छ । टिभी शो धमाधम विदेशबाट अपलोड भैरहेका छन् भने प्रदर्शनको मुखमा रहेका फिल्मलाई प्रचार सामग्री बाहिर ल्याउन सकस भैरहेको छ ।
फिल्म र संगीतका भिडियोले युट्युब रिलिज रोकिरहेका छन् भने ‘हेर्ने कथा’सहितका वेब सिरिजले एपिसोड रिलिज स्थगित गरेका छन् । केही संगीतकर्मी र फिल्मले रिलिज तयारीमा रहेका गीतको तयारीलाई पछाडि धकेलेका छन् ।
फूलपातिमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’ले शुक्रबारदेखि हलमा ट्रेलर ल्याउँदैछ । निर्माता रोहित अधिकारीले युट्युब, फेसबुक बन्द भएकाले हलमा ट्रेलर ल्याउन लागेको फेसबुकमा उल्लेख गरेका छन् ।
सामाजिक संजालको उदय भएपछि सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्मले ट्रेलरलाई सीधै हलमा ल्याउन लागेको हो । सामाजिक संजालमा देखिएको यो ‘लकडाउन’को असर ‘माइतीघर’लाई मात्र होइन, सोही मितिमा आउन लागेको फिल्म ‘बलिदान’लाई पनि परेको छ ।
‘बलिदान’ले रिलिज तयारीमा रहेको ‘आमा’ बोलको गीतलाई तत्काल रोकेको छ । उचित समयमा गीत रिलिज गरिने निर्देशक सन्तोष सेनले उल्लेख गरेका छन् ।
सामाजिक संजालको यो अन्योलताबीच ३ असोजमा रिलिज तयारीमा रहेको फिल्म ‘जारी २’को ट्रेलर रिलिजमा ढिलाइ भएको छ । निकट स्रोतका अनुसार रामबाबु गुरुङ निर्देशित फिल्मको ट्रेलर सम्भवतः मंगलबार आउनसक्छ ।

गायिका तृष्णा गुरुङले रिलिज हुन लागेको गीत ‘लै बरी लै’लाई रोकेको जनाएकी छन् । गायिका अञ्जु पन्त र गायक मदन ढकालले ‘बुट्टे चोली’ गीत रिलिजलाई पोस्टपोन्ड गरेका छन् ।
सामाजिक संजाल बन्द भएपछि संगीत र फिल्म क्षेत्रमा तत्काल देखिएका प्रतिनिधि उदाहरण यी हुन् । यीबाहेक यी दुई क्षेत्रमा बहुआयामिक असर र प्रभाव पर्ने देखिएको छ ।
सिंगो नेपाली संगीत क्षेत्र आर्थिक र प्रवर्धनको हिसाबले युट्युबमा निर्भर छ । टिकटकले गीतलाई भाइरल गराउन मद्दत गर्ने भएपनि पैसा कमाउनेदेखि प्रवर्धनमा युट्युबको योगदान उच्च छ ।
संगीत क्षेत्र पूर्णतः निर्भर रहेको प्लाटफर्मलाई नै सरकारले रोकिदिएपछि संगीतकर्मी आक्रोशित छन् । गायिका टीका सानुले आफूले ५ वटा दोहोरी गीत गाएको र सबैलाई विदेशबाट अपलोड गर्ने बताएकी छन् ।
गायिका सानुले केही दिनअघि सामाजिक संजालमा रोक लगाउने सरकारको कार्यप्रति आपत्ति जनाउँदै नियमन र अनुगमनमा सरकार लाग्नुपर्ने उल्लेख गरेकी थिइन् ।
विशेषगरि संगीत क्षेत्रमा युट्युब बन्दको असर गहिरो ढंगले पर्नेछ । संगीतकर्मीको अर्थोपार्जनदेखि प्रवर्धनको कार्य पनि युट्युबमै हुने भएकाले उदाउँदा संगीतकर्मीलाई यसको प्रत्यक्ष असर पर्नेछ ।
सामाजिक संजाल र युट्युब बन्दको सबैभन्दा ठूला कन्टेन्टमा करोडौं लगानी गरेका ओएसआर, बुढासुब्बा, म्युजिक नेपालजस्ता युट्युब च्यानललाई सीधा परेको देखिन्छ । ओएसआरले त आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताउँदै कसरी अघि बढ्ने कुरामा आफूहरू अन्योलमा रहेको बताएको छ ।

‘हामीले एकातिर सरकारको आदेश पनि पालना गर्नुपर्नेछ । अर्कोतिर, व्यवसायलाई पनि सोच्नुपर्नेछ’ ओएसआरका जनरल म्यानेजर रुपेन्द्र खड्गीले भने, ‘सरकारले झ्याप्पै बन्द नगरेर सुरुमा नै वातावरण तयार गर्नुपर्ने थियो । नेपाली फिल्म र संगीतलाई ठूलो आर्थिक क्षति हुन पक्का छ ।’
दशकदेखि संचालन हुँदै आएको ओएसआर अहिले नेपालमा सबैभन्दा धेरै कन्टेन्ट (फिल्म, संगीत र टिभी श्रृंखला)मा लगानी गर्ने युट्युब च्यानल हो । यो कम्पनीले वर्षेनी २५ भन्दा धेरै फिल्ममा डिजिटल लगानी गर्दै आइरहेको छ ।
‘यतिबेला नेपाली र संगीत २०६० सालअघिकै स्थितीमा आइसकेको छ । हाम्रो लागि यो नयाँ चुनौती हो । परिस्थिती कता जान्छ भन्ने कुरा स्पष्ट भैसकेको छैन, हामी पर्ख र हेरको स्थितीमा छौं ।’
खड्गीले तत्कालै रिलिज नगरि नहुने बाहेकका भिडियोलाई युट्युबमा नल्याउने बताए । ‘अहिलेसम्म यो समस्या समाधान भएपछि मात्र भिडियो सार्वजनिक गर्ने कुरा छ । हामी उचित रणनीतिको तयारीमा छौं’ उनले भने ।
संगीतमात्र होइन, यतिबेला घरेलु फिल्मको ‘इको-सिस्टम’ पनि सामाजिक संजाल वरपर घुमेको छ । फिल्मको निर्माणदेखि प्रवर्धनदेखि रिलिजसम्म मेकरले सोसल मिडिया प्लाटफर्मलाई प्रयोग गरिरहेका छन् ।
विशेषगरि, प्रदर्शनको मुखमा रहेका ‘जारी २’देखि दशैंको फूलपातिमा रिलिज तयारीमा रहेका ‘हरिबहादुरको जुत्ता, बलिदान र माइतीघरलाई पनि प्रचारप्रसारमा सकस भैरहेको देखिन्छ ।
भदौ २७ गतेबाट ‘अभिमन्यु’ रिलिज हुँदैछ । फिल्मको ट्रेलरले उत्साह पैदा गरेको थियो । निर्माण टिम प्रचारप्रसारमा पनि जुटिरहेको छ । तर दर्शकमाझ पुग्न सजिला माध्यम फेसबुक र युट्युब बन्द भएपछि फिल्म टिकटकमा प्रचारमा टिम जुटेको छ । तर यसको प्रभावकारिता कस्तो हुने हेर्न बाँकी छ ।
सरकारले २० भदौदेखि २५ सामाजिक संजाललाई रोक लगाउन थालेको थियो ।
प्रतिक्रिया 4