
२२ भदौ, हेटौंडा । यातायात कार्यालय एकान्तकुना ललितपुरबाट दुई पाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा सुरु गरिएको छ ।
२२औं निजामती सेवा दिवसको अवसरमा सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाबाट आइतबार आयोजित कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको उदघाटन गरेका छन् ।
मन्त्री थापाले यातायात व्यवस्था क्षेत्रमा प्रविधिमैत्री र सहज सेवाको आवश्यकता औँल्याउँदै नयाँ सुविधा सञ्चालनमा आएपछि सेवाग्राहीलाई एउटै कामका लागि फरक–फरक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने बताए ।
समय, खर्च र प्रक्रियामा सहजता ल्याउने उनको विश्वास छ । साथै मन्त्रालयले छिट्टै यस कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण सेवा पनि सुरु गर्ने तयारी गरिरहेको मन्त्री थापाले जानकारी दिए ।
कार्यालय प्रमुख केशवकुमार जिएमका अनुसार उपलब्ध दरबन्दीअनुसार कर्मचारी परिचालन गरी दैनिक १ हजार ५०० देखि २ हजार जना सेवाग्राहीलाई सेवा दिन सकिने व्यवस्था मिलाइएको छ ।
हाल कार्यालयले दैनिक करिब २०० देखि ३०० सवारी चालक अनुमतिपत्र नवीकरण गर्दै आएको र त्यति नै संख्यामा नयाँ अनुमतिपत्रको आवेदन दर्ता गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4