+
+
Shares

चुनौती बन्नसक्छ जेनजीको प्रदर्शन, सुरक्षा रणनीति बनाउँदै प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिको प्रदर्शनका लागि जिल्ला सुरक्षा समितिको बैठक डाकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा सुरक्षा समितिको बैठक बसेर सुरक्षा रणनीति बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन-जीले २३ भदौ माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति पाएका छन्।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि सुरक्षा रणनीति बनाउन सुरक्षा समितिको बैठक बसेको छ।
  • प्रहरीले प्रदर्शनमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्ने र तोडफोड भए कारबाही हुने जनाएको छ।

२२ भदौ, काठमाडौं । जेन-जीले बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं सुरक्षा रणनीति बनाउन आन्तरिक तयारीमा जुटेको छ ।

जेनजीले सोमबार शान्तिपूर्ण रूपमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने बताएका छन् । प्रदर्शनका लागि प्रशासनले समेत अनुमति दिइसकेको छ ।

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनको अनुमति माग्न केही जेनजी विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले पनि जेनजीहरू आएको पुष्टि गर्दै भने, ‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनुभएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं ।’

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूका छोराछोरीको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेन-जीले सोमबार प्रदर्शनको घोषणा गरेका हुन् ।

जेनजीले सुरक्षाका लागि सडकमा खटिएका प्रहरीलाई नै फूल दिएर प्रदर्शन सुरु गर्ने बताएका छन् ।

उनीहरूको भनाइअनुसार भोलिको प्रदर्शन शान्तिपूर्ण हुनेछ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिको प्रदर्शनका लागि जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा सुरक्षा समितिको बैठक बसेर सुरक्षा रणनीति समेत बनाएको छ ।

समय, स्थान, संख्या र नेतृत्वको हिसाबले हेर्दा भोलिको आन्दोलन चुनौतीपूर्ण बन्न सक्ने आँकलन गरिएको भिड नियन्त्रणबारे राम्रो ज्ञान भएका नेपाल प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्कीको बुझाइ छ ।

‘नियमित आइतबार बस्ने सुरक्षा समितिको बैठक आज पनि बस्यो । बैठकमा भोलिको प्रदर्शनबारे छलफल भयो । आइपर्ने चुनौतीको विश्लेषण गर्दै सुरक्षा रणनीतिअनुसार प्रदर्शन सुरक्षित बनाउने भन्ने निर्णय भएको छ,’ रिजालले अनलाइनखबरसँग भने ।

यता प्रहरीले भने आफ्नो तर्फबाट यो आन्दोलनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरेर सुरक्षा रणनीति बनाउन सुरु गरेको छ ।

भोलिको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी उपलब्ध गराइने जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । परिसर काठमाडौंसँग मात्रै ४ हजार १६ दरबन्दी छ । जसमध्ये अहिले ३ हजार २३३ प्रहरी जनशक्ति छ । यीमध्ये नियमिति कामका खटिने बाहेकका जनशक्ति प्रदर्शन सुरक्षामा खटिने बताइएको छ ।

प्रहरी परिचालनबारे परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहरा भने प्रदर्शन हेरेर सोहीअनुसार प्रहरी परिचालन गरिने बताउँछन् । ‘त्यस्तो ठूलो केही हुन्छ भन्ने छैन । सञ्जालतिर अलि बढी अतिरञ्जित भएको छ । भोलि बिहानको मुभमेन्ट हेरर त्यहीअनुसार सुरक्षाकर्मी परिचालित हुन्छन्,’ एसपी बोहराले अनलाइनखबरसँग भने ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट पनि प्रहरी सुरक्षाका निम्ती खटिने छन् ।

‘आन्दोलन चुनौतीपूर्ण बन्न सक्छ’

समय, स्थान, संख्या र नेतृत्वको हिसाबले हेर्दा भोलिको आन्दोलन चुनौतीपूर्ण बन्न सक्ने आँकलन गरिएको भिड नियन्त्रणबारे राम्रो ज्ञान भएका नेपाल प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्कीको बुझाइ छ ।

‘मुख्य सडक माइतीघर-बानेश्वरमा प्रदर्शनमा गर्ने भनिएको छ । त्यो पनि अफिस समयमै प्रदर्शन राखिएको छ । भीआईपी ओहोरदोहोर हुने ठाउँ र सयम पनि प्राइम भएकाले चुनौती हुने सम्भावना देखिन्छ,’ उनी भन्छन् ।

अर्कोतर्फ, भोलिको प्रदर्शनको मुख्य चुनौती नेतृत्वको हुनसक्छ । अहिलेसम्म आन्दोलन कसले नेतृत्व गर्ने भन्ने देखिँदैन । यस्तो हुँदा समस्या आउन सक्ने बुझाइ सुरक्षाका जानकारहरूको छ । भोलि सडकबाटै लिड गर्ने व्यक्ति धमाधम निस्कन सक्ने हुँदा आन्दोलनले उग्र रूप लिने जोखिम हुने कार्की बताउँछन् ।

अहिलेसम्म यो उमेर समूहका व्यक्तिले कुनै घटनामा आकस्मिक आन्दोलन गर्नुबाहेक यसरी घोषणा नै गरेर आन्दोलन गरेको र त्यसको नियन्त्रण गरेको अनुभव नेपाल प्रहरीसँग छैन ।

अन्य आन्दोलनभन्दा नेतृत्वको कोणबाट यो आन्दोलनको बढी सुरक्षा चुनौती हुने बुझाइ उनको छ ।

अहिलेसम्म यो उमेर समूहका व्यक्तिले कुनै घटनामा आकस्मिक आन्दोलन गर्नुबाहेक यसरी घोषणा नै गरेर आन्दोलन गरेको र त्यसको नियन्त्रण गरेको अनुभव नेपाल प्रहरीसँग छैन ।

यसअघि विद्यार्थीहरूले गर्ने आन्दोलन पनि निश्चित नेतृत्व र राजनीतिक दलकै संगठनको रूपमा हुने गरे पनि यसरी स्वतस्फुर्त रूपमा आन्दोलन नभएका कारण प्रहरीका लागि भोलिको आन्दोलन पनि नयाँ अनुभव हुनसक्ने बताइएको छ ।

सशस्त्र प्रहरी बलका पूर्वडीआईजी तथा भिड नियन्त्रणबारे राम्रो जानकार भएका माधव थापा पनि भोलिको आन्दोलनमा प्रशासन चनाखो हुनुपर्ने बताउँछन् । उमेर समूह र नेतृत्वको कारण आन्दोनलन चुनौतीपूर्ण बन्न सक्ने उनी बताउँछन् ।

आन्दोलनमा बलियो नेतृत्व नहुँदा तर्क गर्नेभन्दा पनि भौतिक क्षति बढी हुनसक्ने सम्भावना सधैं रहने बुझाइ उनको छ ।

तोडफोडमा उत्रिए कारबाहीसम्मको तयारी

सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाएर सोमबार प्रदर्शनमा उत्रिन लागेका जेन-जी उग्र भएर तोडफोडमा उत्रिए कारबाहीसम्म हुने बताइएको छ । सीडीओ रिजालले भने कानुनले तोके बाहेकको प्रदर्शन भयो भने कानुन बमोजिमकारबाही हुने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जेनजीको प्रदर्शनका विषयमा प्रतिक्रिया दिएका छन् । सोमबार प्रदर्शन गर्ने विषय सार्वजनिक भएपछि ओलीले भने, ‘जेनजी विधि, कानुनबारे स्पष्ट छन् भन्ने मलाई लागेको छ ।’

उनको यो भनाइले घुमाउरो पारामा ओलीले कानुन उल्लंघन गरे वा तोडफोडमा उत्रिए प्रशासनले कारबाही गर्ने सन्देश दिएको छ ।

यसबारे प्रहरी पनि सचेत छ । शान्तिपूर्ण आन्दोलनको साटो तोडफोडमा उत्रिए कारबाही हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?