+
+
WC Series
पोखरा एभेन्जर्स 2025
57/4 (8.6)
VS
६६ बलमा १०९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

दुर्गा प्रसाईंको स्टाटसले जेनजी समूहमा खैलाबैला

अभियानको तयारी गरिरहेका एक जेनजी युवाले भने, ‘सबै स्वत: स्फूर्तरुपमा जम्मा हुने भएकाले हामीले कसैलाई यसको नेतृत्व भनेर नराखेका हौं । तर, प्रसाईंजस्ता व्यक्तिहरू आउँदा यसले केही कठिनाइ हुन्छ कि जस्तो देखिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १७:२८

२२ भदौ, काठमाडौं । १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले मुख्य आरोपी बनाएका दुर्गा प्रसाईंले नयाँ पुस्ताले आह्वान गरेको अभियानमा सहभागी हुने भनेपछि खैलाबैला मच्चिएको छ ।

प्रसाईंले आइतबार अपराह्न ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भन्दै स्ट्याटस लेखेपछि जेनजीतर्फबाट प्रदर्शनको तयारी गरिरहेका युवाहरु त्रसित भएका हुन् । प्रसाईं आउँदा नयाँ पुस्ताको अभियानबारे फरक सन्देश जानसक्ने वा अप्रिय परिस्थिति समेत सिर्जना हुनसक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘शान्तिपूर्ण रुपमा सामाजिक सञ्जाल बन्दको विरोध, भ्रष्टाचार र अनियमितताविरुद्ध खबरदारी गर्ने हाम्रो तयारी हो,’ अभियानको तयारी गरिरहेका एक जेनजी युवाले भने, ‘सबै स्वत: स्फूर्तरुपमा जम्मा हुने भएकाले हामीले कसैलाई यसको नेतृत्व भनेर नराखेका हौं । तर, प्रसाईंजस्ता व्यक्तिहरू आउँदा यसले केही कठिनाइ हुन्छ कि जस्तो देखिएको छ ।’

सोमबार हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउने हिसाबले केही जेनजी युवा आइतबार अपराह्न माइतीघर मण्डलामा भेला भएर समेत बैठक गरेका छन् । त्यसक्रममा समेत दुर्गा प्रसाईंको कुरा उठेको थियो ।

‘कतिपयले स्वत: स्फूर्त हुने प्रदर्शनमा जो पनि आउन पाउनेछ भन्ने विचार राख्नुभयो, तर प्रसाईंजी चाहिँ अगाडि देखिनु भएन भन्ने कुरा रह्यो,’ बैठकमा सहभागी एक युवाले भने, ‘कतिपयले चाहिँ उहाँलाई आउनै दिन हुँदैन भन्ने मत राखे ।’

जेनजी पुस्ताको एजेण्डा हाईज्याक हुनसक्ने भन्दै उनीहरुले आउन दिन नहुने बताएका छन् । राजावादी समूहका अरु कतिपय व्यक्तिसमेत यसमा जोडिन खोजेको भन्दै ती युवा भन्छन्, ‘खासमा भोलिको प्रदर्शनमा आउने हो भने सबैले यो पार्टी वा त्यो पार्टी भन्ने विचार त्यागेर आउनु पर्‍यो ।’

प्रसाईंले सामाजिक सञ्जल फेसबुकमा दिउँसो भ्रष्टाचारविरुद्धको महाअभियानमा सबैलाई धन्यवाद भन्दै देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा आफैं सरिक हुने भनेका थिए ।

१५ चैतको आन्दोलनमा जस्तो दमन नहोस् भन्दै उनले भनेका छन्, ‘३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुन: दोहोर्‍याएको छ—धन्यवाद सबैलाई !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?