
News Summary
Generated by OK AI. Editorially reviewed.- बाल अधिकारका लागि राष्ट्रिय अभियान–नेपालले बालसुधार गृहमा मृत्यु भएका बालिकासहित अन्य बालबालिकाको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
- अभियानले बालसुधार गृहमा रहेका बालबालिकाको जीवन सुरक्षामा चुनौती रहेको भन्दै सरकार र सम्बन्धित निकायलाई गम्भीर ध्यान दिन आग्रह गरेको छ।
- अभियानले घाइते बालबालिकाको उपचार, यातायात र खानपानको व्यवस्था भइरहेको र आवश्यक समन्वयका लागि सम्पर्क गर्न अनुरोध गरेको छ।
२५ भदौ, काठमाडौं। जेनजी आन्दोलनका क्रममा बालसुधार गृहमा रहेका एक बालिकासहित अन्य बालबालिकाको मृत्यु भएको घटनाप्रति बाल अधिकारका लागि राष्ट्रिय अभियान–नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
मृतक बालिकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै अभियानले शोकाकुल परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते भएका बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अभियानले बालसुधार गृहमा रहेका बालबालिकाको जीवन सुरक्षामा चुनौती रहेको भन्दै यसतर्फ गम्भीर ध्यान दिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । ‘हाल अन्य बालसुधार गृहहरूमा समेत यस्तै जोखिम रहको हुँदा नेपाल सरकार तथा सम्बन्धित तहले तत्कालीन रुपमा सुरक्षाको पक्का व्यवस्था मिलाउन जरुरी छ,’ अपिलपत्रमा उल्लेख छ ।
यस्तै, नेपालसहित विदेशमा रहेका बाल संगठन तथा सरोकारवालाहरूलाई समेत बालबालिकाको सुरक्षित आवास र संरक्षणमा जागरुक रहन अपिल गरिएको छ । अभियानले असुरक्षित अवस्थामा रहेका बालबालिकालाई सुरक्षित आवास र संरक्षण उपलब्ध गराउन सबै पक्षलाई सामूहिक रूपमा काम गर्न आह्वान गरेको छ ।
यसैबीच, अभियानले बालबालिकाको संरक्षणमा प्रत्यक्ष संलग्न संस्था तथा निकायहरूलाई पनि आवश्यक समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ। हाल काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलसँगको समन्वयमा घाइते बालबालिकाको उपचार, यातायात, कुरुवाहरूलाई खानपानसहितको व्यवस्था मिलाउने कार्य भइरहेको छ।
कसैलाई यस्तो खालको समस्या परेमा वा कुनै बालगृहमा खाना, सुरक्षित आवास र सुरक्षा चुनौती रहेमा तत्काल समन्वयका लागि अभियानका संघीय समन्वय समितिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
हालसम्म के कति बालबालिका घाइते भएको भन्ने विषयमा यकिन विवरण आउन नसकेको अभियानले जनाएको छ।
प्रतिक्रिया 4