
२५ भदौ, काठमाडौं । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल ।
यसअघि वि.सं २०३० साल असार २४ गते राति सिंहदरबारमा आगलागी भएको थियो । अध्यता नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको भनिएको छ ।’
‘उक्त आगो नियन्त्रणका लागि राज्य पूरै लागेको थियो, वीरगञ्जबाट दमकल मगाइएको थियो’ उनी भन्छन्, ‘यसपटक सिंहदरबार जल्दा राज्य नै नभएको जस्तो भयो । आगो लगाउने भए, निभाउने कोही भएन ।’
आगलागी हुन सक्छ भन्ने पूर्वअनुमान नागरिकस्तरमा हुँदा समेत राज्यले सुरक्षा गर्न नसक्ने बिडम्बनापूर्ण अवस्था नेपालले व्यहोराको उल्लेख गर्दै उनी भन्छन्, ‘यसको मूल्य नेपालले युगौगुगसम्म चुकाउनुपर्ने हुन्छ ।’
उनका अनुसार वि.सं २०३० सालमा सिंहदरबार जल्दा सुगौली सन्धि जलेको भन्ने गरिएको छ । सुगाैली सन्धिको कपी नेपालसँग नहुनुले पनि यसलाई बल पुर्याउँछ । यो पटक कति त्यस्ता कागजात जले होला अनुमान बाहिर छ ।

राज्यका महत्त्वपूर्ण दस्ताजेव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिन्छ । यो भवन पूरै जलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा समेत त्यस्ता कागजात हुन्छन् । राष्ट्रपति निवास शीतल निवासमा राखिन्छन् । यी कार्यालय पनि जलेका छन् । सर्वोच्च अदालतमा रहेका महत्त्वपूर्ण फैसला र कागजातहरू जलेका छन् ।
अध्यता नेपाल भन्छन्, ‘ऐतिहासिक दस्तावेज रहने ठाउँहरू सबै जले । सरकारी भवन त बन्ला तर, महत्त्वपूर्ण कागजात भेटिने छैनन् ।’


प्रतिक्रिया 4