+

जेन–जी घाइतेहरूलाई प्रमुख अस्पतालले कसरी निरन्तर सेवा दिइरहेको छ ?

२०८२ भदौ  २६ गते २२:११ २०८२ भदौ २६ गते २२:११

हाल अस्पतालमा ओपिडी सेवाहरू पूर्णरूपमा सुचारु छन् ।

जेन–जी घाइतेहरूलाई प्रमुख अस्पतालले कसरी निरन्तर सेवा दिइरहेको छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका विभिन्न अस्पतालहरूमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ र ओपिडी सेवाहरू पुनः सुचारु भएका छन्।
  • त्रिवि शिक्षण अस्पतालमा २६ जना घाइतेमध्ये २५ जना उपचाररत छन् र २ जना गम्भीर अवस्थामा आईसीयूमा छन् भने वीर अस्पतालमा ३०० जना घाइतेमध्ये २२ जना उपचाररत छन्।
  • राष्ट्रिय ट्रमा सेन्टरमा १६३ जना घाइतेमध्ये ३२ जना उपचाररत छन् र ५ जना गम्भीर अवस्थामा आईसीयूमा छन्, अस्पतालले औषधि अभाव समाधान गर्ने प्रयास गरिरहेको छ।

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार देशका विभिन्न अस्पतालहरूमा भइरहेको छ । सुरुवाती दिनहरूमा बिरामीको चाप र व्यवस्थापनमा केही कठिनाइ भए पनि हाल अवस्था सामान्य बन्दै गएको छ ।

पहिलो दिनको अस्तव्यस्त अवस्थालाई स्वास्थ्यकर्मीहरूको अथक प्रयास र व्यवस्थापनले नियन्त्रणमा ल्याइएको छ । अस्पतालहरूमा ओपिडी सेवाहरू पुनः सुचारु भएका छन् । साथै सबै नियमित सेवाहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् । धेरैजसो घाइतेहरू उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन्।

१. त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालमा हाल आन्दोलनका २६ जना घाइते भर्ना भएकामध्ये २५ जना उपचाररत छन् । तीमध्ये २ जना गम्भीर अवस्थामा आईसीयूमा छन् ।

अस्पतालले सबै घाइतेहरूको उपचार निःशुल्क प्रदान गरिरहेको छ । डिस्चार्ज भएका बिरामीहरूलाई घरसम्म पुर्‍याउन एम्बुलेन्सको व्यवस्था गरिएको छ । साथै, बिरामी र कुरुवाहरूका लागि खाना र बस्ने व्यवस्था पनि अस्पतालले उपलब्ध गराएको छ ।अस्पताल निर्देशक डा. सुवास आचार्यका अनुसार पहिलो दिनको तुलनामा अवस्था सामान्य बन्दै गएको छ ।

प्रदर्शनको पहिलो दिन बिरामीको चाप अत्यधिक भएपछि अस्पतालले तत्काल १५० शैय्या खाली गराएर व्यवस्थापन गरेको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरूले २४ घण्टा अथक रूपमा खटेर उपचार सेवा प्रदान गरेका छन् ।

‘पहिलो दिनको तुलनामा अब अवस्था नियन्त्रणमा छ । हामीले स्वास्थ्यकर्मीहरूलाई २४ घण्टा ड्युटीमा राखेर खाना र आवतजावतको व्यवस्था गरेका थियौँ’ डा. आचार्यले भने, ‘अब नियमित ड्युटीमा फर्कने र सहज व्यवस्थापन गर्ने अवस्था आएको छ।’

हाल अस्पतालमा ओपिडी सेवाहरू पूर्णरूपमा सुचारु छन् । नियमित शल्यक्रिया र अन्य सेवाहरू पनि सञ्चालनमा छन् । तर कफ्र्यूका कारण नियमित बिरामीको संख्या केही कम भएको छ । अस्पतालले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी राखेको छैन । बिरामीको चाप घटेसँगै स्वास्थ्यकर्मीहरूको नियमित आउजाउ र खानपानको व्यवस्थापन पनि सहज भएको छ ।

२. वीर अस्पताल

वीर अस्पतालमा ३०० जना घाइते उपचारका लागि आएका थिए । हाल २२ जना उपचाररत छन् । जसमा दुई जना गम्भीर अवस्थामा आईसीयूमा रहेका छन् । उनीहरु भेन्टिलेटरको सहायतामा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

पहिलो दिनको तुलनामा अवस्था सामान्य बन्दै गएको र धेरैजसो बिरामी डिस्चार्ज भइसकेको अस्पतालका निर्देशक डा. दीलिप शर्माले जानकारी दिए ।

डा.शर्माका अनुसार चिकित्सकहरूले आफ्नो दायित्व सम्झेर स्वस्फूर्त रूपमा ड्युटी गरिरहेका छन् । अस्पतालले निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

‘पहिलो दिन बिरामीको चापले अवस्था जटिल थियो’ डा.शर्माले भने, ’तर हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा प्रदान गरेर अवस्थालाई सामान्य बनाएका छन् ।’

वीर अस्पतालमा पनि ओपिडी र नियमित शल्यक्रिया सेवाहरू सुचारु छन् । यहाँ पनि कर्फ्यूका कारण नियमित बिरामीको संख्या कम छ । अस्पतालले घाइतेहरूको उपचारमा विशेष ध्यान दिएको छ । स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ सेवा प्रदान गरिरहेका छन् ।

३. निजामती कर्मचारी अस्पताल

निजामती अस्पतालमा ४८ जना घाइते भर्ना भएकामध्ये १५ जना डिस्चार्ज भइसकेका छन् । एकजना बिरामी आईसीयूमा उपचाररत रहेको मेडिकल डाइरेक्टर डा. दीलिप पौडेलले जानकारी दिए । डा.पौडेलका अनुसार भर्ना भएकामध्ये ४१ जनाको शल्यक्रिया गरिएको छ भने यसमध्ये ४ जनाको पुनः शल्यक्रिया भएको छ ।

सबै घाइतेको औषधि र उपचार निःशुल्क छ । डिस्चार्ज भई घर जान नसक्नेहरुका लागि अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेको छ ।

निजामती अस्पतालमा समानुभुती नेपाल नामक संस्थाले घाइते र स्वास्थ्यकर्मीहरूका लागि निःशुल्क खाना वितरण गरिरहेको छ ।

कोही भोकै नपरुन भन्ने उद्देश्यले नवदुर्गा पार्टी प्यालेसको सहकार्यमा निःशुल्का खानाको सेवा दिएको संस्थाका सञ्चालक तुलसी श्रेष्ठले जानकारी दिए ।

निजामती अस्पतालमा पनि ओपिडी र नियमित शल्यक्रिया सेवाहरू सुचारु छन् । अस्पतालले आफ्नो नियमित सेवालाई निरन्तरता दिएको छ ।

४. पाटन अस्पताल

पाटन अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएर आएका ३६ जनामध्ये हाल ५ जना उपचाररत छन् । तीमध्ये एक जना आईसीयूमा छन् । उनको अवस्था पनि सामान्य रहेको अस्पताल निर्देशक डा.रवि शाक्यले जानकारी दिए ।

उनका अनुसार सबै घाइतेको उपचार निःशुल्क भइरहेको छ । अस्पतालले खानपान र डिस्चार्ज भएकाहरूलाई घर पुर्‍याउन एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।

‘हामीले विषम परिस्थितिमा पनि सक्दो सेवा दिइरहेका छौं’ डा.शाक्यले भने, ‘बिरामीको सुविधाका लागि हरसम्भव प्रयास गरेका छौं ।’

पाटन अस्पतालमा ओपिडी र शल्यक्रिया सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । कर्फ्यूका कारण नियमित बिरामीको संख्या कम छन् । अस्पतालले घाइते र अन्य बिरामीहरूको उपचारमा कुनै कमी नभएको निर्देशक डा.शाक्यले जानकारी दिए ।

५. राष्ट्रिय ट्रमा सेन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका १६३ जना भर्ना भएका थिए । यसमध्ये हाल ३२ जना उपचाररत छन् । तीमध्ये ५ जना गम्भीर अवस्थामा आईसीयूमा छन् । अस्पतालले सबै घाइतेको निःशुल्क उपचार गरिरहेको छ ।

साथै, बिरामी र कुरुवाहरूका लागि खानाको व्यवस्था पनि अस्पतालले नै गरेको छ ।

अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजालका अनुसार स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई १२/१२ घण्टाको ड्युटीमा खटाइएको छ । यद्यपि, बिरामीको चापका कारण केही औषधिको अभाव भएको छ ।

‘औषधिको अभावलाई अन्य निकायसँग समन्वय गरेर समाधान गर्ने प्रयास भइरहेको छ’ डा. रिजालले भने, ‘प्रदर्शनको दिन एउटा एम्बुलेन्समा तोडफोड भएकाले कर्मचारी र बिरामीको आवतजावतमा कठिनाइ भएको छ । एक–दुई दिनमा अवस्था सामान्य हुने अपेक्षा छ ।’

यस असहज परिस्थितिमा पनि अस्पतालले प्रदर्शनका घाइतेहरूको उपचारमा विशेष प्राथमिकता दिएको छ । बिहिबारबाट ओपिडी र नियमित शल्यक्रिया सेवाहरू सक्रिय रुपमा सञ्चालनमा आएको छ ।

‘सबैको सहकार्यले हामीले यो कठिन परिस्थितिमा पनि सेवा निरन्तर राखेका छौं’ डा.रिजालले भने ।

अस्पतालहरू
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय