+
+
Shares

अन्यथा अल्फा पुस्ताको रगतमा यसरी नै हिंड्न तयार हुनुपर्छ …

शान्ति मन्त्रोच्चारण र पुरानो नियम समातेर परिवर्तन आउँदैन

यो अप्रिय लाग्ने कुरा पनि नभुलौं, हामीले घुस खाने भएर नै, हामीले भ्रष्ट्राचारको अखडा बनाएकोले नै, हामीले जनताको करबाट तलब खाने र उनीहरूलाई नै भनेजस्तो सेवा नदिएकैले निसानामा परेको हो हाम्रा कार्यालयहरू ।

डा. उत्तमबाबु श्रेष्ठ डा. उत्तमबाबु श्रेष्ठ
२०८२ भदौ २७ गते १३:४५

जुन हिसाबले देश अहिले सत्ता परिवर्तनतर्फ देश जाँदैछ, त्यो नेपालकाे मात्रै हाेइन, सम्भवत संसारकै राजनीतिक इतिहासमा नौलो मात्रै होइन, अभूतपूर्व पनि हो ।

संसारभर उदाहरण दिइने रूसको बोल्सेभिक क्रान्तिमा लेनिनको नेतृत्वको फौजले दुई दिनमै (भन्न त दश दिन भनेर भनिन्छ, अक्टोबर २६ देखि नोभेम्बर ६ सम्म तर नोभेम्बर ६ मा निर्णायक धक्का दिने काम भएको थियो) सत्ता कब्जा गरेका थियो ७ नोभेम्बर १९१७ मा । यद्यपि, त्यसको अगाडि कयौं महिनासम्म मजदूर आन्दोलन, बन्द, हड्ताल भएको थियो ।

पछिल्लो समयमा भएको बंगलादेशमा पनि शेख हसिनाले देश छाड्ने अवस्थाको अन्तिम धक्का दिनेभन्दा अघि कयौं दिनसम्म ढाका विश्वविद्यालयका विद्यार्थीले आन्दोलन चलाएका थिए । अन्तिम दिनको टेरर, धक्का वा विद्रोहले हसिनालाई देश छाड्न बाध्य पार्‍यो । र, परिवर्तन भयो ।

दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम नखसालेको भए जापानले आत्मसमर्पण गर्थ्यो होला र ? त्यसपछि पनि जापानले आत्मसमर्पण गर्न एक हप्ता समय लगाएकाे थियो ।

सोभियत फौजले बर्लिनलाई पूर्ण रूपमा घेरा नहालेको भए, हिटलरले बंकरभित्रै आत्महत्या गर्थ्यो होला त ?

पृथ्वीनारायण शाह २० वर्षमा राजा बनेको देशमा केटाकेटी भनेर खिसी गर्नुस्, डिस्कर्ड, रेडिट र च्याटजीपिटी पुस्ता भनेर होच्याउनुस्, तर तिनीहरूले हल्लाएको हो, अहिले नेपाली भ्रष्ट सत्ताको जरा र तन्तु । त्याे पनि अत्यत्र कहीँ नभएकाे मात्र दुई दिनमा । त्यसैले याे अभूतपूर्व घटना हाे ।

यसो हेर्दा नेपालमा यसअघि हामीले कहिल्यै नदेखेको आन्दोलन देख्याैं । उठान शान्तिपूर्ण रूपमा भएकाे, तर वैठान ठूलाे शहरी विद्रोहकाे रूपमा भएको । त्यसले सिर्जना गरेको टेररले नै अहिले परिवर्तन हुन लागेको हो । प्याराडाइम सिफ्ट हुन लागेकाे हाे । सरकार, संसद, संविधान सबैतिर यसकाे असर देखिइसक्याे अब विस्तारै दलतिर देखिदैंछ । अरू थप देखिंदै जालान् ।

अधिकांश नेपालीको दिमागमा एक दिन जनताले बदला लिन्छन्, जनता साह्रै रिसाएका छन्, नेतालाई सबक सिकाउँछन् भन्ने थियो । मैले चौंरी खर्कमा भेडा चराउनेदेखि सिंहदरबारको कुर्सीमा विराजमानहरूको मुखबाट त्यो कुरा सुन्थें । नागरिक अगुवाहरू त्यही भन्थे । सडकमा उनीहरू छिटपुट रूपमा त्यही आवाज लिएर पुगेका पनि हुन्थे । मिडियाले त्यही कुरा उठाएकाे हुन्थ्याे ।

यहाँसम्म कि शीर्ष नेताकाे मुखबाट समेत त्यही सुनिन्थ्याे । त्यो जनतालाई पनि थाहा थियो, सिंहदरबारमा बस्नेलाई पनि । जब कुनै कुरा सबैलाई लाग्छ र सबैले सबैलाई त्याे कुरा थाहा भएझैं लाग्छ, त्यो कमन नलेज बन्दछ र त्याे भइछाड्छ । जसरी हामी भुकम्पकाे जाेखिम भनेर भन्छाैं तर भुकम्प आउने दिन थाहा पाउँदैनाैं । अहिलेकाे आन्दाेलन त्यसरी नै आयाे । तर यसरी आयो, हामीले त्यसको मेसो समेत पाएनौं ।

तमाम जासुसी संयन्त्र, जनताकाे दैनन्दिन निगरानी गरेकाे बसेकाे राज्यले त भेउ पाएन । हामी सामान्य मान्छेलाई त्याे अनुमान हुने कुरै भएन । परिवर्तनकाे माग राखेर शुरू भएकाे आन्दाेलनमा घुसपैठिया, बदला लिने भाव भएका, लुटपाटकर्ता, आवारा तालका सबै खाले मान्छे पनि मिसिए । जुन अक्सर यस्ताे बेला हुने गर्छ । हामीले अन्यत्र पनि देखेका छाैं ।

त्यो स्तरको टेरर नहुँदो हो त यत्रो देशभर पार्टी संरचना भएका दलले कायम गरेको दुई तिहाइको सरकार तासको महलझैँ ढल्थ्यो होला, त्यो पनि औपचारिक संगठनविना रहेको ‘लुज नेटवर्क’को अगुवाइमा भएको आन्दोलनबाट। यो विरासत सायद केवल फेसबुक पोष्ट र नेताहरूमाथि गालीगलोज जस्ता अभिव्यक्तिहरूमा सीमित भएर हराउनेथ्यो।

बंगलादेशमा हसिनाकाे महलबाट सामान ओसारेका मान्छे । अमेरिकी संसदबाट सामान लग्दै गरेका मान्छे । मान्छेकाे चरित्रमा हिंसा र निष्ठा दुवै सँगै हुन्छ । एकैछिनमा अपरिचित मान्छेलाई आफ्नो ज्यानकाे बाजी लगाएर जाेगाउन गएकाे दयालु मान्छे, कुनै अर्काे परिस्थितिमा हिंस्रक बनेकाे हुन्छ ।

मान्छे जन्मँदै शान्त र अशान्त दुवै हुन्छ । दूध खान पाएन भने बच्चा अशान्त हुन्छ । पाएपछि आरामसँग सुत्छ । मान्छे पूर्ण शान्त पनि हाेइन, पूरै हिंस्रक पनि हाेइन । शान्ति र अशान्तिको, हिंसा र अहिंसाकाे त्यो प्याराडक्स हाम्रो जन्मजात गुण हो । त्याे हाम्राे अनुवंश मै छ । यहाँ पनि त्यही देखियाे । तर यहाँ कयौं निर्दोषहरू निसानामा परे, जुन दुर्भाग्यपूर्ण छ ।

तर, यस विद्राेहमा याे स्तरको टेरर नभएको भए, त्यत्रो देशभर पार्टी संरचना भएका पार्टीको दुई तिहाइको सरकार तासको महल जस्तै ढल्थ्यो होला ? त्यो पनि औपचारिक संगठन नभएको लुज नेटवर्क तप्काको अगुवाइमा भएको आन्दोलनले ?

यत्रो टेरर नभएको भए हामीले फेसबुकमा वा अन्यत्र लेखेर, नेतालाई सरापेर, गाली गरेर मात्रै ढल्थ्यो होला त यो विरासत ? त्यसपछिको अवस्थामा उनीहरूले जेन-जीले भनेकै मान्छौं भनेर अहिले जसरी भनिरहेका छन्, त्यो हुन सम्भव थियो होला त ?

लुज नेटवर्कको तागत फेरि अचम्मको हुन्छ । अमेरिकी नागरिक आन्दोलन (सिभिल राइट मुभमेन्ट) अघि बढ्नुमा अधिकारकर्मी रोजा पार्कको लुज नेटवर्क राम्राे हुनलाई पनि एउटा कारक मान्दछन् । सायद बालेनकाे अप्रत्याशित जीतकाे पछि पनि उनकाे लुज नेटवर्क नै थियाे हाेला । अबका आन्दाेलन हाेस् या चुनाव निर्णायक टुल्सहरू भनेकै साेसल मिडिया त हुन् । जससँग अभ्यस्त भएर हुर्केका जुन जेन-जी पुस्ताले पनि भरपूर प्रयाेग गरे यसमा । हामी हेरेकाे हेर्‍यै भयाैं ।

सेनाको भूमिकाबारे पनि प्रश्न उठाइएको वा उठेकाे देखिन्छ । नेपाली सेनाले ज्ञानेन्द्र शाहको शाहीकालमा उनीप्रति बफादारिता देखाए पनि पछिल्लो समयमा प्रोफेसनल नै काम गरेको जस्तो लाग्छ, माओवादीले सेनापति फेरेर असफल कू गर्न लाग्दा होस् वा अहिलेको अवस्थामा । दलीयकरण नभएको संस्था बाँकी भएको भनेको सेना रहेछ । त्यसैले त्यत्रो टेररपछिको अवस्थालाई विस्तारै ट्र्याकमा ल्याउँदैछ । त्यसैले अलि सुझबुझपूर्ण काम गरेकोले थप क्षति भएन र परिवर्तन पनि हुन लाग्यो । सेनाले लिएको पहलकदमीलाई अहिलेसम्म शंकाको सुविधा दिन्छु । सेना भनेको कुनै असंवैधानिक निकाय होइन ।

राज्यकै महत्वपूर्ण संयन्त्र हाे । जसरी संसद्, अन्य कर्मचारीहरू नियुक्त हुन्छन्, सेनाका मान्छे र पदाधिकारी पनि त्यसरी नै वर्तमान नियम र कानुनी परिधिभित्र रहेर नियुक्त भएका हुन्छन् । उक्त संस्था पनि हामीले तिरेको करबाट चल्ने संस्था हो । अहिले त्यहाँ भइरहेकाे गतिविधीलाइ सहजीकरण र विधिकै रूपमा बुझ्दा हुन्छ ।

जसरी निर्वाचनको बेला चुनाव जितेको प्रमाणपत्र लिन भोलि हुने राष्ट्रपति, प्रधानमन्त्री बन्ने मान्छे एउटा अधिकृतकहाँ जान्छ । तर त्यतिबेला एउटा अधिकृतकहाँ भावी प्रधानमन्त्री लाइन लाग्न गयो भनिन्छ र ? त्यो विधि हो । अहिलेकाे तरल र संवेदनशील अवस्थामा एउटा मात्रै क्रियाशील संस्था भनेको सेना बाँकी छ । याे नै कमजाेर र अरू जस्तै हुने हाे भने त थप कुरा बिग्रन्छ ।

राष्ट्रपति यही संस्थाका परमाधिपति हुन् । सेनाले थालेकाे प्रयास राष्ट्रपतिलाई नै सहजताकाे लागि हाेला जस्ताे लाग्छ । सायद युद्धजस्तो अवस्थामा कर्मचारी, सल्लाहकार नदेखिंदा जाे अगाडि छ, त्यही देखिएकाे हाे जस्ताे लाग्छ ।

सेनाको हेडक्वार्टर भनेको कुनै तिलम्सी मुकाम होइन, हाम्रै देशको ठाउँ हो, हामीले कर तिरेर बनाएका हाैं । युद्धहरूमा काम हुने त्यस्तै ठाँउबाट त हाे । त्यसैले सेनाले गरिरहेकाे सहजीकरणलाई आवश्यकताले गरिएको हुनसक्छ ।

केही दिनको लागि शंकाको सुविधा दिनुपर्छ । तर सेनाले यसलाई सकेसम्म चाँडै टुङ्ग्याउनु पर्छ र शान्ति सुरक्षातिर फर्कनु पर्छ । याे उपक्रम जति लम्बियाे त्यति नै विवादित हुन्छ र समस्या बल्झन्छ । सकेसम्म भएको वार्ताबाट समाधान निस्कियोस् ।

धेरैलाई लागेको छ, सेनाले सिंहदरबार लगायतका संरचना किन जोगाएन ? त्यो सत्य हो जोगाउनुपर्थ्यो तर अर्को सत्य के पनि हो भने त्यो गर्न सेना तम्सिएको भए र भटाभट गोली ठोक्न थालेको भए, अहिले हुन लागेको यो परिवर्तन यति चाँडै आँउथ्यो होला ? आन्दोलन बढ्दै जाँदा कति रक्तपात र कति थप क्षति हुन्थ्यो होला ? वा वैदेशिक हस्तक्षेपको खतरा पनि त हुन्थ्यो होला ।

२०४६ सालपछि कर्मचारी, प्रहरी, जासुसी संयन्त्र, न्यायालय, अख्तियार सबैमा दलका मान्छे घुसे । र ती संयन्त्रहरू प्राेफेसनल हुनकाे साटाे पङ्गु हुँदै गयाे । हामीले खिचेको फोटो राख्ने त दुई/तीन वटा ब्याकअप हुन्छ । यत्रो जनताको संवेदनशील तथ्याङ्क राख्ने प्रणालीको थुप्रै ब्याकअप गर्ने प्रणाली त होला नि ? हुनुपर्छ कि पर्दैन ?

राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् । केही दिनको लागि शंकाको सुविधा दिनुपर्छ । तर सेनाले यसलाई सकेसम्म चाँडै टुङ्ग्याउनु पर्छ र शान्ति सुरक्षातिर फर्कनु पर्छ । राष्ट्रपतिले प्रयास थाल्ने पनि यसरी नै हो, कर्मचारी, सल्लाहकार, सेनाहरू नै हो । सायद युद्धजस्तो अवस्थामा अरूहरू निष्क्रिय रहेको अवस्थामा नजिक भएको सेनाबाट उनले सहजीकरणको बाटो खोलेको जस्तो देखियो ।

बाह्य युद्ध वा आन्तरिक दङ्गा हुँदा निसाना हुने त्यस्तै संवेदनशील ठाउँ त हाे नि ! यसरी हेर्दा दलीयकरणले गर्दा हाम्रो संस्थानहरू सबै निकम्मा बनेका रहेछन् । त्यसैले तिनीहरूले एकदमै नराम्रो अवस्थामा आएमा के गर्ने ? कसरी काम गर्ने भनेर सोचेका नै रहेनछन्, हाम्रा संस्था हाँक्नेहरूले । त्यहाँ चेन अफ कमान्ड, क्राइसिस म्यानेजमेन्ट प्लानमा खासै काम गरिएकाे वा बनाइएको रहेनछ जस्ताे लाग्याे अवस्था हेर्दा ।

सिंहदरबारमा सयौं गाडीको ताँती हुँदा त्यहीँ हुनपर्ने होइन दमकल लगायतका थुप्रै क्राइसिस म्यानेजमेन्टका टुल र प्रणाली ? एउटाले काम नगरे अर्को हुनुपर्ने होइन ? कुनै प्रयास नै नभएकाे जस्ताे देखियाे । जस्ताे, केही युवाले प्रयास गरे, राष्ट्रिय अभिलेखालय जोगियो । प्रयास गरेर मान्छेहरूले पिटिंदै गरेका देउवा दम्पत्तिलाई जाेगाए । कसले गर्‍यो निभाउने र जोगाउने प्रयास सिंहदरबारमा ?

दुःखको कुरा, कवाडी र फोहोर पनि राम्रोसँग ठेगान लगाउन जानेको छैन हाम्रो सिंहदरबारले । सिहंदरबारमा कति कबाडी गाडीहरू थुप्रिएका छन्, त्यहाँ पुग्ने सबैलाई थाहै छ ।

अब यो अप्रिय लाग्ने कुरा पनि नभुलौं, हामीले घुस खाने भएर नै, हामीले भ्रष्ट्राचारको अखडा बनाएकोले नै, हामीले जनताको करबाट तलब खाने र उनीहरूलाई नै भनेजस्तो सेवा नदिएकैले निसानामा परेको हो हाम्रा कार्यालयहरू ।

हामीले समाजमा हुने र नहुने बीचमा ठूलो खाडल बनाएर नै र हुनेखानेले नहुनेहरूप्रति अलिकति पनि दयाभाव राख्न नजानेकोले नै यो वितण्डामा घ्यु थपेको हो । अदृश्य कारण (अन्डरलाइङ कज) त यही हाे । तर गल्ती हामीले गर्‍यौं, निसानामा परे ती भौतिक संरचनाहरू ।

सीसीटीभी र अन्य फुटेज हेरेर आगजनी र लुटपाटमा संलग्नहरूलाई कारबाही गर्नुपर्छ । तर सदाको लागि यो बितन्डा रोक्ने उपाय भनेको, घुस खान रोक्ने, भ्रष्टाचार रोक्ने, जनमैत्री हुने र समाजमा राज्यले अवसरको वितरणमा कुनै भेदभाव नगर्ने खालको प्रणालीको विकास गर्ने नै हो । सायद जेन-जी पुस्ताले देख्न खोजेको समाज र राज्य त्यस्तै खालको होला ।

संसारको कुनै पनि परिवर्तन शान्ति मत्रोउच्चारण र पुराना प्रणाली बनाउँदाको नियम समातेर आउँदैन ।
जेन-जी पुस्ताले नेपालको राजनीतिमा रगतले कोरेको यो बाटोमा हामी हिंड्न सबैले आत्माशुद्धि त गर्नैपर्छ । तपाईंले, मैले, सबैले । हाेइन भने फेरि अहिले जन्मेकाे अल्फा पुस्ताको रगतमा यसरी नै हिंड्न हामी आजैदेखि तयार रहनुपर्छ ।

लेखक
डा. उत्तमबाबु श्रेष्ठ

वातावरण विज्ञानमा अमेरिकाबाट विद्यावारिधि गरेका श्रेष्ठ समसामयिक विषयका साथै विषेश गरी विज्ञान-प्रविधि, नीति, वातावरण र मानवसम्बन्धको अध्ययन अनुसन्धानमा रुची राख्छन् । फोटोग्राफीका शौखिन श्रेष्ठमा फोटोहरुले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?